• बैशाख २७ २०८३, आईतवार

कपिलवस्तु प्रहरी एक्सनमाः ३६५ दिनमा हुन नसकेको काम ४ दिनमै

श्रावण ३० २०७८, शनिबार

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलस्तुले सक्रिय रूपमा विभिन्न प्रकृतिका अपराध गरी फरार अपराधीहरू धमाधम पक्राउ गर्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी उपरिक्षक (एसपि) दान बहादुर कार्किको नेतृत्वमा पछिल्लो ४ दिनमै २०७ फरार प्रतिवादीहरु पक्राउ गर्न कपिलवस्तु प्रहरी सफल भएको हो । पछिल्लो ४ दिनमा पक्राउ परेका प्रतिवादीहरुको संख्या एक वर्षमा पक्राउ पर्ने भन्दा डेढ गुणा बढी रहेको जनाइएको छ ।

कपिलवस्तु प्रहरीले सक्रिय  रुपमा फरार पक्राउ कार्यक्रमलाई सुरुवात गरेको ४ दिन भित्रै २०७ जना फरार प्रतिवादिहरु पक्राउ गरेको हो ।

गत आ.ब ०७७/७८ भरिमा जम्मा १४१ जना फरार प्रतिवादी पक्रिएकोमा त्यसको डेढ गुणा बढि फरार बितेको ४ दिनमै पक्रन सफल भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

कपिलवस्तु प्रहरीले यहि साउन २६ गते मंगलबार मात्र ८१ जना, २७ गते बुधबार–७४ जना, २८ गते बिहिबार–२२ जना र २९ गते शुक्रबार ३० जना गरि २०७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एस.पि दान बहादुर कार्किले जानाकारी दिए ।

लुटपाट र जालसाजि मुद्दामा २०५९/०२/१६ गते र २०५९/०३/३१ गतेको फैसलाले दोषि ठहरिएका २ जनालाई फैसलाको १९ बर्षपछि पक्राउ गरि सजाय भुक्तानको लागि कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराएको डि एस पि धर्मराज भण्डारीले बताए  । बिहिबार सवारी ज्यान मुद्धाका–३ जना, लुटपिट–२ जना, जालसाजि–२ जना, बनपैदवार, अंश, कुटपिट आदि गरि २२ जना पक्राउ गरिएको बताइएको छ ।

त्यस्तै बिहिबार नै १० बर्षदेखि सवारी ज्यान मुद्दामा फरार रही १ बर्ष ८ महिना १८ दिन कैद बाँकि रहेका बाणगंगा २ का सुरज बेल्बासे पनि पक्राउ परेका हुन् । यसैगरी वन सम्बन्धी कसुर गरि जनहि १ वर्ष कैद र २४ हजार ७०७ जरिबाना फैसला भएर बर्षौँदेखि फरार बाणगंगा१ र २ का जितराम थारु र कृष्ण थारुलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । साथै बिहिबार नै ३ वर्ष १० महिना १९ दिन कैद भुक्तान र १ लाख ९ हजार ३ सय ६५ रुपैयाँ जरिवाना असुलउपर पनि गरिएको छ ।

यसैगरी शुक्रबार ३० जना फरार प्रतिबादी पक्राउ गरि सजायँ भुक्तानको लागि उपस्थित गराइएको छ । जालसाजी–२ जना , सवारी ज्यान–१ जना, लागू औषध–१ जना, कुटपिट –१३ जना आदि गरी विभिन्न मुद्धामा फरार रहेका ३० जना प्रतिवादी लाई पक्राउ गरिएको हो ।

शुक्रबार सबैभन्दा बढी पक्राउ पर्नेमा वडा प्रहरी कार्यालय चन्द्रौटा, ईलाका प्रहरी कार्यालय गोरुसिङगे, कृष्णनगर, पिपरा, गणेशपुर र पकडीका रहेका छन् ।

जिल्लामा काम गर्ने उत्प्रेरणायुक्त प्रतिस्पर्धात्मक वातावरण सृजना भएपछि फरार अभियुक्त पक्राउमा सकृयता आएको प्रहरी निरिक्षक शंकर आचार्यले जानाकारी दिनुभयो । गत आ.ब २०७७/७८ को तुलनामा डेढ गुणा बढि फरार प्रतिबादी ४ दिनमै पक्रिन सफल भएको भन्दै एस पि दान बहादुर कार्किले “प्रहरीको मुख्य काम नै ऐनमा उल्लेख भएअनुसारको शान्ति सुरक्षा कायम गर्नु भएकाले प्रहरीले खास प्रहरी कार्य गर्दा यस्तो सफलता देखिएको बताए  ।

साथै अपराध गरेर समाजलाई दुषित पारेर त्यहिँ समाजमा नै लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर नबस्ने भन्दै अपराध गर्नेलाई ढिलो छिटो प्रहरीले कानुनको दायरामा ल्याएर छाड्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तिब्रता दिएको उनले बताए  ।