• बैशाख २७ २०८३, आईतवार

गाइजात्रा औपचारिकतामा सिमित गर्न आग्रह

श्रावण ३० २०७८, शनिबार

काठमाडौं । नेवार समुदायको महत्वपूर्ण गाईजात्रा पर्वलाई यो वर्ष औपचारिकतामा मात्रै सीमित गर्न भक्तपुर नगरपालिकाले आग्रह गरेको छ ।

कोभिड सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र साँस्कृतिक प्रदर्शनीहरू नगर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

नगर प्रमुुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडा वडाका साँस्कृतिक गुरु एवम् साँस्कृतिक प्रतिनिधिहरू र जनप्रतिनिधिहरू सहितको बैठक बसेको थियो ।

सो बैठकमा सापारु (गाईजात्रा)को दिन ताहा साँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको थियो । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोभिड सङ्क्रमितहरूको लागि सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको सेवा प्रभावकारी भएको बताए ।

विगतमा गाईजात्रामा साँस्कृतिक प्रतियोगिता गर्दै आएकोमा भक्तपुर नगरपालिकाले कोभिड सङ्क्रमण जोखिमका कारण यस पटक पनि औपचारिकतामा सीमित गर्न नगरबासीहरूलाई अनुरोध गरेका छौँ, नगरप्रमुख प्रजापतिले भने ।