काठमाडौँ। रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दाको आज सुनुवाई हुँदै छ।
आलमको मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी रहेको छ । आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए । २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला,उच्च हुँदै उनको मुद्दा सर्वोच्च आएको हो । आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन रहेको छ।
न्यायाधीश राउत र रेग्मी नेपाली कांग्रेसको कोटामा सर्वोच्चको स्थायी न्यायाधीश सिफारिस भएका हुन् । आलमको निवेदन पहिलो नम्बरमा पेसी रहेको छ।
पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकीर उनको निवेदनमा गरिएको छ। कोभिड-१९ को महामारी रहेको र जेलभित्र समेत संक्रमण ब्यापक भएकाले रिहाई गर्नुपर्ने तर्क आलामको निवेदनमा गरिएको छ।