काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउन पर्नुका कारणसहित लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञाप्रतिष्ठान लगायतका निकायका नाममा बुधबार लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।
अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त लिखित जवाफ माग गरेको हो ।
प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ तर पुरातात्विक एवम ऐतिहासिक महत्व बोकेको घर नभत्काइ संरक्षण गरेर राख्नुपर्ने साहित्यकार तथा संरक्षण विज्ञको भनाइ छ ।