काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मुल्यांकन हुने बताएका छन् ।
सिंहदरबारमा आयोजित नयाँ गृहसचिव टेकनारायण पाण्डेको स्वागत तथा यसअघिका गृहसचिव महेश्वर न्यौपानेको बिदाइ समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जनतालाई सेवा पुर्याउने गृह मन्त्रालयमा क्षमता भएका सरकारी अधिकारीले उचित जिम्मेवारी पाउनेमा आश्वस्त पारे ।
“जिम्मेवारी लिने क्रममा सिफारिस भयो भने माइनस नतिजा आउँछ”, मन्त्री खाँणले भने, “कहिलेकाही नसोचेको जिम्मेवारी पनि थाहै नपाइ आउन सक्छ ।”
उनले सबै मिलेर नागरिकको सुरक्षा गर्नु नै प्रमुख दायित्व भएको बताए । राष्ट्रिय सुरक्षामा भने कुनै सम्झौना नहुने भन्दै मन्त्री खाँणले राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए ।
क्यालेन्डर हेरेर कार्यकाल बिताउने पुरानो मान्यताले जिम्मेवारी थेग्न नसक्ने हुँदा नयाँ शैली, पद्धति, प्रक्रिया र जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीसँग आग्रह गरे ।
मन्त्री खाँणले कोभिड–१९को महामारी कायमै रहेको र तेस्रो लहर आउने सम्भावना जिवितै रहेकोतर्फ कर्मचारी तथा सुरक्षा अधिकारीको ध्यानाकर्षण गराए ।