काठमाडौँ। कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति पत्र बुझेका छन् । घिसिङले बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति बुझेका हुन्। उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।
घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको सुविधासहित सरुवा गरिएको छ।
गत भदौमा कार्यकाल सकिएपछि नागरिकस्तरबाट घिसिङको पुनः नियुक्तिका लागि आग्रह गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले घिसिङलाई अवकाश दिएको थियो । तर, हाल ओली बिपक्षी गठबन्धनको सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणमा ल्याउने तयारी थाल्न उर्जामन्त्री भुसाललाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री भुसालले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेकी थिइन्।