काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतको भूमि फिर्ता ल्याउँछु भनेर भन्न सरकार किन डराएको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै ओलीले भने, ‘न्यूनतम साझा कार्यक्रममा कालापानीलगायतको समस्या समाधान गर्ने भनेको छ । यो भन्या के ? के भनेको हो ? समस्या समाधान गर्ने रे,’ उनले भने, ‘हाम्रो भूमि फिर्ता लिन्छौँ । भन्नुपर्छ कि समस्या समाधान भन्ने । यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ।’
उनले थपे, अघिल्लो सरकारले नक्सा बनाउथ्यो छाप्थ्यो । भारतलाई पत्राचार गर्थ्यो । अहिले समस्या हो । समस्या होइन । त्यो हाम्रो भूभाग हो फिर्ता लिनुस्। त्यो छोड्ने अधिकार छैन कसैलाई। सक्नु भएन भने ठीकै छ । डेढ वर्ष पनि हामी छँदैछौँ ।’
छिमेकीसँग सीमा समस्या सहमतिमा टुंग्याइने भनेको प्रति पनि ओलीले आपत्ति जनाए । ‘छिकीहरुसँगको सीमा समस्या सहमतिमा टुंग्याइने छ भनेको छ । कहाँ–कहाँ छ समस्या ? केके छ ? कति छिमेकीसँग् सीमा समस्या छ । कति साह्रो डराएको यो सरकार । डराउनुको पनि हद हुन्छ । जिब्रोमा पनि रगत आइसक्यो हो,’ उनले भने, ‘केही पनि बोल्न सक्नुहुन्न । गोलमटोल । एउटा बोल्न खोज्छ अर्कोले हुँदैन भन्छ । त्यस्तै त होला ‘
त्यस्तै उनले सरकारले हालै सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको आलोचना गर्दै एमसीसी सम्झौताबारे स्पष्ट धारणा राख्न नसकेको भन्दै आपत्ति जनाए । ‘प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ? नेपाली जनताले जान्न चाहेको छ,’ ओलीले भने,‘कुन छिमेकीसँग कुन कुन सीमा समस्या भएको हो, असमान सन्धी सम्झौता कहाँ कोसँग भएको हो त्यो पनि स्पष्ट भन्नुहोस् ।’