• बैशाख २७ २०८३, आईतवार

एमसीसी संशोधन गरेर पास गर्नुपर्छ : केपी ओली

श्रावण २५ २०७८, सोमबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अमेरिकन एमसीसी सम्झौता संशोधन गरेर पास गर्नुपर्ने बताएका छन् । केहीदिन अघि मात्रै ओलीले एमसीसी कुनैपनि हालतमा पास गर्न नहुने अभिव्यक्ति दिएका थिए भने सरकारमा रहँदा उनले एमसीसी पास गराउन ज्यान फालेर लागेका थिए तर आफ्नै पार्टीका धेरैले पास गर्न नहुने अडान लिएका कारण उनी पछि हटेका थिए ।

आज भने उनले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे मौन बसेकोमा समेत प्रश्न उठाएका छन् । ‘तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छ, पास गर्नु नि ।’

सोमबार केन्द्रीय कमिटीको बैठकमा ओलीले भनेका छन्, ‘हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव, बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावका आधारमा जनताको भावना अनुसार संशोधनसहित पास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

एमसीसी सम्झौता संसदमा विचाराधीन छ । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एमसीसी सम्झौता यथास्थितिमै अनुमोदन गर्ने कि परिमार्जन सहित भन्ने विवाद भएको थियो । २०७४ फागुनदेखि ४१ महिना प्रधानमन्त्री भएका ओलीले एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्नेमा जोड दिएका थिए ।

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरुले विरोध गरेपछि नेकपाले पूर्वप्रधामन्त्री झलनाथ खनालको नेतृत्वमा कार्यदल नै बनाएको थियो । त्यो कार्यदलले एमसीसी सम्झौता परिमार्जन गरेर मात्र अनुमोदन गर्न सकिने राय दिएको थियो । तर तत्कालीन नेकपामा अध्यक्ष समेत रहेका ओली सम्झौता परिमार्जनका लागि पहल नगरेको नेताहरुको गुनासो थियो ।
तर सोमबार केन्द्रीय कमिटीको बैठकमा ओली स्वयमले परिमार्जन गरेर मात्र अनुमोदन हुनुपर्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।