• फाल्गुन २७ २०८२, बुधबार

महन्थ ठाकुरको अध्यक्ष पद गुम्यो, नयाँ पार्टी खोल्ने विकल्प खुल्ला

श्रावण २५ २०७८, सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिक मान्यता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएसँगै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई पार्टीविहीन अवस्थामा पुर्याइ दियो । पार्टीबिहीन भएपछि जसपा आधिकारिकतालाई लिएर महन्थ पक्ष सर्वोच्च अदालतमा पुग्यो । तर, सर्वोच्चले निर्वाचन आयोगकै निर्णयलाई अघि बढाएपछि महन्थ पक्ष पार्टीबिहीन हुन पुगेको छ ।

गत असार ११ गते निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र पक्षलाई जसपाको आधिकारिकता दिएपछि महन्थ पक्ष दोधारमा परेको थियो । यद्यपि आयोगले पार्टी आधारिकता उपेन्द्र पक्षलाई दिएसँगै महन्थ पक्षले नयाँ पार्टी खोल्ने या जसपाभित्रै रहने विकल्प भने खुल्ला छ । उप्रान्त नयाँ पार्टी खोल्ने वा अध्यक्ष उपेन्द्र पक्षसँगै मिलेर जाने भन्ने सन्दर्भमा छलफल भैरहेको यसअघि महन्थनिकट नेताहरूले बताएका थिए । तर, यसबारे सामान्य छलफल भए पनि आधिकारिक छलफल भने नभएको बताइएको थियो ।

तथापि नयाँ दल दर्ता गरे पनि महन्थको पक्षमा लाग्ने सबै सांसद कानुनी रूपमा पदमुक्त हुने वैधानिक अड्चनका कारण उसले त्यसो गर्न सकिरहेको थिएन । किनकि राजनीतिक दलसम्बन्धी ऐनमा दल त्याग गरेको सूचना दिनासाथ पदमुक्त हुने व्यवस्था गरिएको छ । संविधान तथा कानुनीविदका अनुसार जसपामै रहेको खण्डमा सांसद पद जोगिने व्यवस्था छ । तर, नयाँ दल दर्ता गरि सोही दलमा आवद्ध भए स्वतः पद खारेज हुन्छ । यही बुझेर महन्थ पक्षका सांसद पद जोगाउने तिर नै लागेका थिए । प्रतिनिधि सभा र केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत संख्या पुर्याएमा मात्र महन्थ पक्षले आफ्ना सांसद जोगाउन सक्थे । यद्यपि उसले उक्त संख्या पुर्याउन सकेन ।

आयोगको जसपा आधिकारिकताको निर्णय पश्चात महन्थ पक्षले नयाँ पार्टी खोल्ने या नखोल्ने भन्ने सन्दर्भमा कुनै निर्णय गरेको पनि थिएन । आयोगको निर्णयमाथि सर्वोच्च सो पक्ष अदालतमा पुग्यो । विडम्वना अदालत पुगे पनि जसपा आधिकारिकता भने उसले पाउन सकेन । असार ११ गते साँझ जसपा अध्यक्ष यादवले पार्टीको आधिकारिकता ग्रहण गर्दै भने, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी निर्णयलाई सहयोग गरेकोमा आत्मालोचना गरे महन्थ पक्षलाई पार्टीमा स्थान दिइने छ ।’

यद्यपि महन्थ पक्षले आत्मालोचना गरेर जसपामै रहेमा अध्यक्ष उपेन्द्र यादवको अधिनमा रहनुपथ्र्यो । यदि उपेन्द्रको पक्षमा सामेल भएको भए दोस्रो वरियताको अध्यक्ष भएर बस्नुपर्ने महन्थलाई बाध्यता हुन्थ्यो । किनकि प्रतिनिधि सभा सदस्य र पार्टीको कार्यकारिणी सदस्य संख्या धेरै मात्रामा उनकै पक्षमा छ । र, निर्वाचन आयोगले पार्टी आधिकारिकता पनि उनलाई नै प्रदान गरेको छ । तर, पार्टी विभाजन हुनुमा अध्यक्ष महन्थ ठाकुर–वरिष्ठ नेता राजेन्द्र महतोकै कारण भएको अर्का अध्यक्ष उपेन्द्र यादव–संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको निष्कर्ष छ । पार्टी आधिाकारिता ग्रहण गर्दै उपेन्द्रले तत्कालीन प्रधानमन्त्री ओलीको कदमलाई समर्थन गरेकोमा भुल सुधार गरी आत्मालोचना गरे महन्थ–राजेन्द्र पक्षलाई जसपामै स्वागत गर्ने बताएका थिए ।

उता महन्थ ठाकुर पक्षले तत्काल नयाँ पार्टी खोल्ने तयारी भएको बताएको छ । ‘हामी विगत लामो समयदेखि जसपामै रहँदै आएका थियौँ । तर, जसपाको आधिकारिकता गुमेपछि हामी नयाँ पार्टी खोल्ने कोसिसमा छौँ । यसका लागि हामी सल्लाह गर्दैछौँ । पार्टीको आधिकारिकता उहाँहरूले पाएपछि हामी त्यही पार्टीमा रहनेसक्ने अवस्था छैन । पछिल्लो समय हामी विशेष गरी तराई मधेस केन्द्रित छौँ । सकभर चाँडै हामी नयाँ पार्टी खोल्ने पक्षमा छौँ ।

पार्टीको आधिकारिकता पाएपछि उपेन्द्र पक्ष सरकारमा जाने तयारी गरिरहेको छ भने आधिकारिता गुमाएको महन्थ–राजेन्द्र पक्ष विशेष गरि प्रदेश २ का विभिन्न जिल्लाहरूमा आफू निकट नेता तथा कार्यकर्ताहरूसँग भेटवार्ता र छलफललाई अगाडि बढाएको छ । भेटवार्ता र छलफल पश्चात नयाँ दल दर्ता गरेर अगाडि बढ्ने उसले बताएको छ । किनकि जसपामा रहनसक्ने अवस्था नरहेपछि उसले राजीतिक दलसम्बन्धी ऐन २०७७ को दफा ४४ को (६०) बमोजिम अर्को पक्ष छुट्टै राजनीतिक दल दर्ता गर्नसक्छ । तर, यस सम्बन्धि उसले तत्काल कुनै आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

यदि महन्थ–राजेन्द्र पक्षले नयाँ दल दर्ता गरेको खण्डमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको पद स्वतः खारेज हुने कानुनी प्रभावधान छ भने जसपामै रहेमा पद जोगिन सक्छ । तर, महन्थको पहिलेको जस्तो पहिलो वरियताको अध्यक्ष पद रहनसक्ने सम्भावना भने थिएन । पहिलो वरियताको अध्यक्ष दोस्रो वरियतामा रहनु आफैमा लज्जास्पद हुने भएकाले महन्थ जसपामा फर्किनुभन्दा पनि नयाँ दल दर्ता गर्ने पक्षमा थिए ।

त्यस्तै निर्वाचन आयोगले जसपाको नयाँ कार्यकारिणी समितिको विवरणलाई आज (सोमबार) अद्यावधिक गरेको छ । उपेन्द्र पक्षलाई पार्टी आधिकारिकता प्रदान गरेपछि पठाइएको अभिलेख अद्यावधिक गरेसँगै महन्थ ठाकुरको अध्यक्ष पद गुमेको हो । पार्टी आधिकारिकता पाएको उपेन्द्र पक्षले यसअघि नै कार्यकारिणी समितिको बैठकको निर्णय निर्वाचन आयोगमा पठाइ सकेको थियो । त्यसलाई अभिलेखिकरण गरिसकेको पुष्टि आयोगका प्रमुख तथा निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरेका हुन् ।

आयोगले जसपामा ३५ सदस्यीय नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गरेपछि महन्थ पक्षले नयाँ पार्टी खोल्ने या अर्को विकल्प खोज्ने बाटो खुल्ला भएको छ । यसअघि पार्टी आधिकारिकता पाउँ भन्दै महन्थ पक्ष सर्वोच्चमा पुगेको थियो । तथापि सर्वोच्चले निर्वाचन आयोगकै निर्णयलाई सदर गरिदिएपछि उसको आधिकारिकता गुमेको छ । पार्टी आधिकारिकता गुमेसँगै महन्थको अध्यक्ष पद पनि गुमेको हो । निर्वाचन आयोग र सर्वोच्चको यो निर्णयसँगै महन्थ–राजेन्द्र पक्ष आजदेखि कानुनी रूपमै जसपाबाट बाहिरिएको छ ।

महन्थ–राजेन्द्र पक्षले जसपाबाट कानुनी रूपमै बाहिरिएपछि प्रदेश २ का विभिन्न जिल्ला र स्थानीय तहमा छलफल तथा भेटघाटलाई तीव्रता दिएको बताइएको छ । उसले आफू इतरका नेता तथा कार्यकर्ताहरूलाई भेला गरेर छलफल अगाडि बढाएको छ । स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरूसँग यसअघि पनि उसले भेटवार्ता र छलफल गरिसकेको छ । पार्टी आधिकारिकता गुमाएसँगै उसले थप छलफललाई अगाडि बढाएको छ ।