• फाल्गुन २७ २०८२, बुधबार

शीतल निवासमा ‘पार्टी विवाद मिलन केन्द्र’ खोल्न डा. लोहनीको सुझाव

श्रावण २५ २०७८, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शितल निवासभित्र ‘पार्टी विवाद मिलन केन्द्र’ खोल्न सुझाव दिएका छन् । संवैधानिक भूमिका मिचेको भनेर पटक पटक विवादमा आइरहने राष्ट्रपति भण्डारीको पछिल्लो चरणमा लोहनी कडा आलोचकका रुपमा देखा परेका छन् ।

यस अघि पूर्व प्रधानमन्त्री भट्टराईको राष्ट्रपति प्रतिको कडा आलोचनालाई लिएर तात्कालीन सत्ताधारी एमाले निकै तातेको थियो । एमालेको विवाद नसकिने र जहिले पनि राष्ट्रपति भण्डारीले विवाद समाधानका सहजीकरण गरिरहनु पर्ने देखिएपछि राजनीतिक पार्टीहरु र तिनका नेताहरुले बेलाबबेलामा राष्ट्रपतिको आलोचना गर्ने गरिरहेका छन् ।

एमाले नेता आन्तरिक विवादका कारण तात्न पुगेपछि शितल निवासमा छिर्ने गरेका छन् । यसपछि पार्टी आन्तरिक विवाद समाधानका लागि राष्ट्रपतिले समय दिने गरेको देखिएको छ । राष्ट्रको संवैधानिक भूमिकामा रहेका राष्ट्रपतिको काम र कर्तव्य पार्टी विवाद मिलाउनु नभई तटस्थ रहनु हो ।

यसै विषयलाई लिएर राप्रपा अध्यक्ष लोहनीको प्रश्न छ– ‘संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य दलहरुबीचको अन्तरिक झगडा मिलाउनु हो भने…जसपाभित्र पनि झगडा छ…नेपाली कांग्रेसको झगडाले त सत्ताधारी दलकै वैधानिकतामा संकट आउला जस्तो छ, त्यो राष्ट्रपति महोदयले अब कैले मिलाइदिने ?’

सामाजिक सञ्जालमा आएको लोहनीको यो भनाइले राष्ट्रपतिको भूमिका संवैधानिक दायराभन्दा बाहिर जान खोजेको त होइन भनेर सतर्क गराएको छ ।