एजेन्सी ।
नेपालीमा उखान छ- ‘लाटो खान्छ एक बल्ड्याङ् बाठो खान्छ दश बल्ड्याङ्’ । यो उखान विश्वका अति धनाढ्य व्यक्तिहरुमा पनि लागू हुन गएको छ ।
एकै दिनमा शेयर र कमाइमा तल र माथि हुनुका कारण विश्वका अति धनाढ्यहरु पनि फोब्र्स पत्रिकाका रंगीन पानाहरुमा अघि र पछि पर्न गएका छन् ।
पछिल्लो परिणाम अनुसार फ्रान्सेली धनाढ्य बर्नार्ड अर्नल्ट विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न पुगेका छने । फोब्र्सको रियल टाइम अर्बपतिको सूचीमा लक्जरी गुड्स कम्पनी (एलभीएमएच) का सीईओ अर्नल्टले विश्वकै नम्बर एक अर्बपति हुने अबसर पाएका छन् ।
यसअघि अमेजनका सीईओ जेफ बेजोस पहिलो नम्बरमा रहँदै आएका थिए । जेफ बेजोस र एलन मस्क बीच निकै लुकामारी चल्दै आए पनि यस पाला भने (एलभीएम्एच्) का सीईओ अर्नल्टले दुवैलाई उछिनेर नम्बर एक हुन पुगेका छन् ।
बिहीबारसम्मको बजारअनुसार अर्नल्टको सम्पत्ति एक खर्ब ९९ अर्ब डलर पुगेको छ । बेजोसको सम्पत्ति भने एक खर्ब ९३ अर्ब डलरमा आइपुगेको छ । बिहीबार एकैदिन बेजोसको सम्पत्ति १३ अर्ब डलरले घटेको थियो । टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति भने एक खर्ब ८४ अर्ब डलर रहेको छ ।