प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा सामूहिक सोच हराउँदै गएकाले समस्या देखिएको बताएका छन्। उनले पार्टीमा व्यक्तिले आफैं सबैथोक भन्ने गरेकाले अहिले विभाजनको अवस्था देखिएको पनि बताएका छन्।
एमालेमा समानान्तर कमिटी सक्रिय बनाउँदै लाने घोषणा अनुरुप शनिबार आफूपक्षीय जनवर्गीय संगठनले ललितपुरमा गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्।
नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै ‘म नै सबथोक र सर्वज्ञानी’ भन्ने अहंकार पालेकाले पार्टीमा अनेक समस्या देखिएका टिप्पणी गरे। उनले एमालेमा देखिएको समस्या समाधान गर्न आफू एक्लैले मात्रै प्रयास गरेर सम्भव नहुने उल्लेख गरे। नेपालले एमाले मिलाउन अध्यक्ष ओली नै प्रमुख जिम्मेवार हुनुपर्ने पनि संकेत गरे।
‘एमालेमा अनेक अहंकारी प्रवृत्ति देखिए। सामूहिक भावना हराएर व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गए। अरूका ज्ञान र अनुभव बेवास्ता गर्दै एकलौटी गर्न थालियो’, उनले भने, ‘म नै सबैथोक, सर्वज्ञानी भन्ने अहंकार र घमण्ड बढेर जाँदा अहिलेको संकट आयो। हाम्रो पार्टीमा यसैले समस्या जन्माएको हो। त्यही समस्या समाधान गरेर हामी पार्टी एकता बचाउन लागिरहेका छौँ।’
जनवर्गीय संगठनको कार्यक्रमलाई सम्बोधनका क्रममा वरिष्ठ नेता नेपालले पार्टी एकताका नाममा अनेक हर्कत भइरहेको टिप्पणी गरे। ‘अहिले एमाले एकताका नाममा बाँदरे नाच प्रदर्शन गरिएको छ’, उनले भने, ‘एमालेलाई बचाउन आफूभित्र रहेका त्रुटी स्वीकार गरेर अघि बढ्ने आँट गर्नु जरुरी छ।’
उनले त्रुटी र गल्ती नगर्ने मान्छे कोही नहुने टिप्पणी गर्दै तर सच्चिन आँट गर्नुपर्ने पनि बताए। ‘त्रुटी र कमजोरीबिनाको मान्छे कोही हुँदैन। मान्छेले नै त्रुटी गर्न सक्छ। तर सबै सुध्रिनुपर्छ’, उनले भने, ‘देश, जनता र राष्ट्रका लागि समर्पित भएर अघि बढ्नुपर्छ।’
नेता नेपालले ओलीको कार्यशैलीमा लामो समयदेखि प्रश्न गरिरहेका छन्। शुक्रबार मात्रै सकिएको नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले पनि ओलीले सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने निर्णय लिएको छ।
अध्यक्ष ओलीले पछिल्लो समय दिइरहेको भड्किलो अभिव्यक्तिका कारण पार्टी एकता रोकिएको नेपाल पक्षको निष्कर्ष थियो। ओलीकै कार्यशैली र व्यवहारका कारण एमालेमा समस्या झन् झन् बढिरहेको तर्क पनि नेपालले गरेका छन्।