काठमाडौं । नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।
टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छिन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् । यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमध्ये शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन् ।
गौरिकाको प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे रहेको छ । गौरिकासँगै ओलम्पिक उद्घाटनमा नेपालको झण्डा बोकेका अर्का पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गरिसकेका छन् ।
गौरिकाको लक्ष्य पनि १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान सुधार गर्नु नै रहेको छ । एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक सुरु हुनुअघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।
एलेक्सले कीर्तिमान सुधार गरिसकेको र गौरिकाले पनि राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने विश्वास रहेको प्रशिक्षक शंकर कार्कीले बताए । गौरिकाको ओलम्पिक इन्ट्री टाइमिङ १ मिनेट ००.६२ रहेको छ । गौरिकाले सन् २०१९ मा चीनमा भएको फिना वरल्ड च्याम्पियनसिपमा यो समय निकालेकी थिइन् ।
यस्तै नेपालमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले २५ मिटरको पुलमा ५९.६० सेकेण्डको टाइमिङ निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३औं सागमा गौरिकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।
गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछिन् । यसअघि सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन् ।