• कार्तिक ८ २०८१, बिहीबार

बृहद संयुक्त मोर्चाबारे थप कुरा

असार २३ २०७८, बुधबार

कदाचित शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्न सकेन भने पनि जनस्तरबाट बृहद संयुक्त मोर्चाको संयन्त्र बनाई सत्ता र पार्टीका खराब शक्ति, व्यक्ति र प्रवृत्ति विरुद्ध खबरदारी, हस्तक्षेप र निषेधसम्म गर्ने खालको अभियान संचालनमा लाग्नुपर्ने अवस्था आउन सक्छ । यस विषयमा मैले आज भन्दा दुई वर्ष अघि नै यो कुराको टड्कारो आवश्यकता महसुस गरेर नै प्रचण्डसँग सहमती मागेको थिएँ । तर अर्का अध्यक्ष ओलीसँग सल्लाह गरेर जवाफ दिन्छु भनेका प्रचण्डले सहमती दिने र पाउने कुरै भएन किनकी सायद त्यसको पहिलो, प्रत्यक्ष र प्रमुख मार उनैहरुमाथी पर्ने खतरा प्रचण्ड र ओलीले देखेहोलान् ।

तथापी राष्ट्रियता, जनतन्त्र र जनजीविका जस्ता अहम आधारभूत मुद्धाहरुलाई लिएर खबरदारी गर्नको लागि स्वनाम साथी, अमिक शेरचन जस्ता स्वच्छ र अनुभवी व्यक्तित्वहरुको नेतृत्वमा सच्चा देसभक्त, जनवादी र क्रान्तिकारीहरुको नागरिक र जनस्तरबाट समेत प्रतिनिधित्व गराई एउटा बृह संयुक्त मोर्चा बनाएर सत्ता, पार्टी र नेताहरुबाट हुने देशविरोधी, जनता र जनतन्त्रविरोधी एवं क्रान्तिविरोधी कृयाकलापहरुलाई ठोक्न र रोक्नको लागि सुझाव, दवाव, निगरानी, नियन्त्रण र हस्तक्षेपहुँदै निषेधसम्मको अभियान चलाउने प्रयास गरिएको हो ।

यसै दौरानमा सीमा बचाऔं अभियान, एमसीसी खारेज अभियान, नागरिक आवाज जस्ता संस्थाहरु पनि बने र ती अझै थोरैधेरै कृयाशील नै छन् । तर विडम्बना, हाम्रो एउटा खम्बा प्रचण्डको जालमा र्याल काढेर गण्डकीतिर लाग्नु भो भने त्यसका अर्का धरोहर कालको चालमा पर्नु भो र यो अहिले स्थापित नेतृत्वको खोजीमा छ । यो खोजी गर्ने क्रममा लीलामणि पोख्रेल, लोककृष्ण भट्टराई, साध्यबहादुर भण्डारी, अच्युतराज ज्ञवाली, श्याम श्रेष्ठ, युवराज संग्रौला आदिसम्म पुगिएको वा पुगिंदैछ । हेरौं कोबाट कस्तो खालको कुरा आउँछ ? त्यसै अनुसार अघि बढेर जनस्तरको खबरदारीलाई संगठित र मुखरित गरी परिणाम निकाल्ने भन्ने सोंच र प्रयत्न जारी छ ।

आशा गरौं यसबारे इच्छित र सबन्धित स्वच्छ, स्वाभिमानी र सचेत सज्जनहरुबाट सक्दो सुझाव, साथ र सहयोग अवश्यै प्राप्त हुने छ । किनकि यस्तो प्रकारको निर्णायक प्रहार गर्न सक्ने शक्तिशाली संयन्त्र बिना जुनसुकै पार्टी, सरकार, व्यवस्था र अवस्थाबाट भएका र हुने भ्रष्टाचार, दुराचार, पापाचार लगायतका जनविरोधी, देशविरोधी क्रान्तिविरोधी गतिविधि र गद्धारीलाई नियन्त्रण र निषेध गर्न अहिलेलाई असम्भव नै देखिएको छ ।

अतः सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकता भएको वा नभएको अवस्थामा अहिले नेपालमा कम्तिमा एउटा शक्तिशाली बृहत संयुक्त मोर्चाको निर्माण त अनिवार्य आवश्यकता भएको छ । केही महिना अघि किरण, विप्लव, ऋषि कट्टेल र आहुतीहरुको चार दलीय मोर्चाको निर्माण र परिचालनका सन्दर्भमा आम जनता र कार्यकर्ताहरुमा देखिएको हौसला र आन्दोलनमा भएको सहभागिता नै त्यसको प्रत्यक्ष प्रमाण हो ।

तर पार्टीका नेताहरुका व्यक्तिगत र गुटगत आदि संकीर्ण स्वार्थका कारण उक्त संयुक्त मोर्चा निस्कृय त भएकै छ र अब पुनः सकृय हुने सम्भावना कमै छ । तसर्थ यो अवस्थामा पार्टी र मुख्य नेताहरुको प्रत्यक्ष पहल, सहभागिता र नेतृत्वमा भन्दा पनि अलि स्वतन्त्र, स्वाभिमानी, स्वच्छ र साझा व्यक्तित्वको नेतृत्वमा विभिन्न देशभक्त र जनवादी पार्टीहरुका अतिरिक्त विभिन्न संघ, संस्था, संगठन, मञ्च, मोर्चा, अभियान, प्रतिष्ठान र नागरिक समाज आदिबाट संस्थागत रुपमा र नागरिक, सामाजिक र राष्ट्रिय जीवनका लब्धप्रतिष्ठित स्वतन्त्र व्यक्ति र व्यक्तित्वहरुको समेत सहभागितामा एउटा बृहत संयुक्त मोर्चा बनाएर सशक्त र निर्णायक नागरिक खबरदारी र हस्तक्षेप गर्नु आज अत्यन्त जरुरी छ ।

हेरौं देशका विभिन्न क्रान्तिकारी र वामपन्थी राजनीतिक शक्ति र व्यक्ति अनि नेतृत्व र व्यक्तित्वहरु आदिमध्ये कोकोबाट केकस्तो कुरा आउँछ ? त्यसैअनुसार अघि बढेर यो जनस्तरको खबरदारीलाई संगठित र मुखरित गरी परिणाम निकालल्ने भन्ने सोंच र प्रयत्न जारी छ । आशा गरौं यसबारे इच्छित र सबन्धित स्वच्छ, स्वाभिमानी र सचेत सज्जनहरुबाट सक्दो सुझाव, साथ, सहयोग, सहभागिता र नेतृत्व अवश्यै प्राप्त हुने छ ।

किनकि यस्तो प्रकारको निर्णायक प्रहार गर्न सक्ने शक्तिशाली संयन्त्र बिना जुनसुकै पार्टी, सरकार, व्यवस्था र अवस्थाबाट भएका र हुने भ्रष्टाचार, दुराचार, पापाचार लगायतका जनविरोधी, देशविरोधी र क्रान्ति विरोधी गतिविधि र गद्धारीलाई नियन्त्रण र निषेध गर्न अहिलेलाई असम्भव नै देखिएको छ । त्यसैले सबै माओवादी भनिनेहरु बिचको पार्टी एकता असंभवप्रायः देखिएको र सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट शक्ति र व्यक्तिहरुको एकता वा संयुक्त मोर्चाले तत्काल मूर्तरुप लिने र कार्यान्वयनमा जाने सम्भावना पनि कमै रहेको आजको यो ठोस अवस्थामा तत्कालै यस्तो संयुक्त मोर्चा निर्माण गरी अघि बढ्न अपरिहार्य भएको छ ।