‘धर्म जनताको लागि ‘अफिम’ हो’-कार्ल मार्क्स
‘धर्म ‘फलहीन फूल’ हो’-भी.आई.लेनिन
धर्म के हो ? धर्मको कहिले र कसरी भयो ? धर्म केमा आधारित रहेको छ ? आदिबारे यस लेखमा मार्क्सवादी विश्वदृष्टिकोणका आधारमा विश्लेषण गर्ने प्रयत्न गरिनेछ ।
धर्म भनेको के हो ?
धर्म भनेको मानवीय चेतनाको त्यो एउटा रुप हो, जसको विशिष्ट लक्षण मनमा हावी भएको बाह्य शक्तिको भ्रमपूर्ण रुप हो, जसमा पार्थिव शरीरले अलौकिक रुप ग्रहण गर्दछ । धर्म मानिसको दिमागमा परेको भ्रमपूर्ण छाप हो । धर्म मानिसको समाज र प्रकृतिप्रतिको भ्रान्त धारणा हो । धर्म भनेको अलौकिक शक्तिमाथि विश्वास गर्नु हो । धर्मकोबारेमा फ्रेडरिक एंगेल्स भन्नू हुन्छ,- ‘हरेक प्रकारको धर्म मानिसको दिमागमा ती बाह्य शक्तिशरुको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन, जसले तिनको दैनिक जीवनलाई शासन गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शरीरहरुले अलौकिक शक्तिहरुक रुप धारणा गरेका हुन्छन् । (मार्क्स-एंगेल्स, धर्म के बारे में, राहुल फाउन्डेसन, लखनउ, पृष्ठ १५०, ई.२००८ । ) धर्मका बारेमा एंगेल्सले भनेको कुरा साँचो हो ।
धर्मको उत्पत्ति कहिले भएको हो ?
धर्मको उत्पत्ति आदिम समाजमा भएको हो । अर्थात् धर्मको उत्पत्ति आदिम साम्यवादी समाजमा भएको हो, जुन बेला मानिस जंगली अवस्थामा थियो, त्यतिबेला मानिसको चेतना स्तर कलिलो थियो । त्यसबेला प्रकृति तथा बाह्य संसारकाबारेमा जान्नका लागि उसको ज्ञानको स्तर छिपछिपे थियो । उसले प्रकृतिमा घट्ने घटनाहरुलाई जान्न बुझ्ने क्षमता राख्दैन्थ्यो ।
आदिम साम्यवादी समाजमा उत्पादक शक्तिको विकासको निम्नस्तरको कारण प्राकृतिक शक्तिका अगाडि मान्छे अबुझ भएको हुनाले धर्मको उत्पति हुने वातावरण बनेको थियो । त्यसैबखत मानव समाजमा मानिसहरुको चेतनामा व्याप्त अज्ञानताको उपजका कारण धर्मको उत्पति भएको हो । यहाँनीर एउटा के कुरा जान्न जरुरी हुन्छ भने धर्म एक्कासी आफै जन्मिएको वा उत्पत्ति भएको होइन, यो मानिसद्वारा जन्माइएको हो ।
धर्मको विकास कसरी भयो ?
धर्मको विकासको इतिहास ज्यादै लामो छ । आदिम समाजमा उत्पन्न भएको धर्म प्रारम्भमा गणसमाजमा गणचिन्हवाद, जीवात्मवाद तथा देवताहरु मान्ने चलन चलाए पश्चात बहुलदेवतावाद (३३ कोटी देवता भनेर स्थापित गरिएको पाइन्छ) का रुपमा र त्यसपछि एकेश्वरवादका रुपमा विकास भएको पाइन्छ ।
जब दाससमाज सामन्ती समाजमा विकासित भयो त्यसपछि धर्म धेरै विकसित हुदै गएको पाइन्छ । दास समाजको विकाससँगै वर्गीय समाजको विकास भयो । वर्गीय समाजमा धर्मले हुर्कने र विकसित हुने मौका कसरी पायो भने त्यहाँ वर्गीय उत्पीडन, अन्यायपूर्ण सामाजिक सम्बन्ध, गरीबी जनता अधिकारबाट बञ्चित भएको अवस्था सृजना भयो अवस्था थियो, त्यसले गर्दा सर्वसाधारण जनतामा निरासा बढ्यो र उनीहरूका आसाहरु अलौकिक शक्ति, ईश्वरमा केन्द्रित हुन पुग्यो ।
विश्वमा र कुनै खासखास देशका सन्दर्भमा पनि स्थानीय रुपमा अनेकौं धर्महरु देखिने गरेको पाइन्छ । तर संसारमा धेरै किसिमका धर्महरु देखा पर्दै आएको भए पनि विश्व धर्मकारुपमा तीन किसिमका धर्म विकसित भएका छन् ।
(१) बौद्ध धर्म
(२) ईसाई धर्म
(३) इस्लाम धर्म ।
बौद्ध धर्म :
बौद्ध विश्वमा पहिलो धर्मका रुपमा विकसित भएको हो । बौद्ध धर्मको जननी नेपाल हो । नेपालका गौतम बुद्ध बौद्ध धर्मका प्रवर्तक हुन् । बौद्ध धर्मको जन्म आजभन्दा २६०० वर्षअघि भएको मानिन्छ । दर्शन शास्त्रको मौलिक प्रश्नमा बुद्ध तटस्थतावादी थिए । बौद्ध धर्म अर्थात् बौद्ध दर्शन तटस्थतावादमा आधारित रहेको छ । बौद्ध धर्म आज अन्तर्राष्ट्रिय धर्मका रुपमा विकसित भइसकेको छ ।
ईसाई धर्म :
ईसाई धर्मको जन्म ईसा मसिहको नामबाट इसाई सम्वतको प्रारम्भमा भएको पाइन्छ । यो रोमन (हालको इटली) साम्राज्यको पूर्वीक्षेत्र मध्यपूर्व (हालको इजरायल) मा भएको थियोे ।
ईसाई धर्मका संस्थापक ईसामसिह हुन् । यस धर्मको मूल धर्म ग्रन्थ बाइबल हो ।
इस्लाम धर्म :
इस्लाम धर्मको जन्म सातौं शताब्दीमा मध्यपश्चिम एशियामा भएको थियो । स्लाम धर्मका संस्थापक पैगम्बर मुहम्मद (ई. ५७०) हुन् । इस्लाम धर्म एकेश्वरवादमा आधारित छ । यो धर्ममा अल्लाह अर्थात् ईश्वरलाई न्यायदाता, संरक्षक, सर्वशक्तिमान, ज्ञानमय र पूज्य मानिन्छ । इस्लामको अर्थ हो- अल्लाहप्रति आत्मसमर्पण । यस धर्ममा अनगिन्ती शाखा–उपशाखाहरु छन् । जसमा शुन्नी, शिया र सूफी संप्रदाय प्रमुख रहेका छन् । इस्लामको पहिलो धर्म ग्रन्थ कुरान र त्यस पछिको शुन्ना हो । शुन्नीहरु यी दुबैलाई मान्दछन् ।
यस अतिरिक्त दक्षिणी एशिया क्षेत्र विशेष गरि भारत, नेपाल लगायतका देशहरूमा विभिन्न धर्मका मिलनका रुपमा हिन्दु धर्मको विकास भएको छ । वेद, पुराण, उपनिषद हिन्दु धर्मका मूल ग्रन्थ हुन् ।
लोक, प्रलोक, स्वर्ग, नर्क, जन्म, पुनर्जन्म, भाग्य, कर्म, काल्पनिक ईश्वर, देवी, देवता, मठमन्दिर, पूजापाठ, कोरा कल्पना, अलौकिक प्रति विश्वास, अन्धभक्तता, पूण्य, अन्धविश्वास आदि हिन्दु धर्मका आधार हुन् ।
दार्शनिक रुपले हिन्दु धर्म आदर्शवादी (अध्यात्मवादी) दर्शनमा आधारित छ । आदर्शवादी दर्शनले सामन्तवर्ग, शोषक र शासकवर्ग तथा प्रतिक्रियावादी वर्गको सेवा गर्दछ ।
धार्मिक आस्थाको प्रश्न :
धार्मिक विचार, धार्मिक आस्था र पूजापाठ गरी हरेक धर्ममा मूख्यतः तीन तत्व हुन्छन् । यहाँनीर ध्यान दिनु पर्ने मुख्य कुरा के हो भने धार्मिक विचार सम्बन्धित धर्मको एक निश्चित प्रणाली हो, जुन कुनै अलौकिक शक्ति वा ईश्वरमा आधारित निश्चित विचार, आस्था, आचार र आदर्शमा आधारित हुन्छ ।
अतः धार्मिक आस्था भनेको कुनै अलौकिक शक्ति वा काल्पनिक ईश्वरमा विश्वास गर्नु हो । साथै धार्मिक पूजापाठ भन्नाले सम्बन्धित धर्मका कर्मकाण्ड, विधिविधान आदिलाई लिने गरिन्छ ।
सामन्तवादी युगमा उक्त सबै धर्महरुले राजा महाराजा, गुरुपुरोहित, साहुमहाजन, जमिनदार, ठूलाठालु, फटाहा, जालीझेली, सिल्ली, ठग आदि सहितको सिंगो सामन्तवादको सेवा, चाकडी गरे र यी साँस्कृतिक उत्पीडनका समेत बलिया साधन बन्दै आएका छन् ।
राज्यहरुले विश्वका विभिन्न देशहरूमा यी मध्ये कुनै एक धर्मलाई आश्रय दिने गरेकोले धर्मसापेक्ष राज्यहरुको निर्माण हुन गएका हुन् । सामन्तवादका मठाधिशहरुले नेपाललाई वर्षौंसम्म हिन्दु अधिराज्य घोषणा गर्दै आएका थिए ।
धर्म आदर्शवादमा आधारित भएकोले भौतिकवादी विश्वदृष्टिकोण र विज्ञानको हमेसा विरोधी रहिआएको छ । धर्मका पठ्ठा ठेकेदारहरुबाट तर्कको पक्षपोषण गर्ने, दार्शनिक तथा वैज्ञानिकहरुलाई दण्ड दिने, हत्या समेत गर्ने र उनीहरूका रचनाहरु जलाउने वा ध्वस्त पार्ने जस्ता घृणित तथा पाशविक कार्य हुँदै आएका दृष्टान्तहरु छन् ।
तर समाज विकासका क्रममा मानव समाज आइपुग्दा पुँजीवादी समाजमा वर्गसंघर्ष, विज्ञान र भौतिकवादी विश्वदृष्टिकोणको, माक्र्सवादको प्रतिपादनका कारण धर्म कम्जोर बन्दै गएको छ ।
धर्म के हो भन्ने विषयमा कार्ल माक्र्स भन्नु हुन्छ,-‘धर्म जनताको लागि अफिम हो ।’
धर्म जनताका लागि वास्तविक अर्थमा अफिम नै हो । धर्म एक प्रकारको नसा मात्र हो । यसले मानिसलाई दुःख वा उत्पीडनबाट मुक्ति प्रदान गर्न सक्तैन ।
धर्मका बारेमा विश्वदृष्टिकोणको प्रश्न :
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद धर्मको विरोधी रहेको छ । यसले कुनै काल्पनिक ईश्वर वा अलौकिक शक्तिमा विश्वास गर्दैन । तर यसले धर्मको विरोध यान्त्रिक रुपमा होइन द्वन्द्वात्मक भौतिकवादी तरिकाद्वारा गर्दछ ।
धर्मकाबारेमा मार्क्सवादी दृष्टिकोण:
धर्मबारे मार्क्सवादी दृष्टिकोण के हो ? भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण प्रश्न हो । मार्क्सवाद एक वैज्ञानिक सिध्दान्त हो र विश्व सर्वहाराको क्रान्तिको विज्ञान हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । माक्र्सवादको सिद्धान्त भौतिकवाद हो र यस दर्शनको पध्दति द्वन्द्ववाद हो ।
माक्र्सवाद धर्मसापेक्ष होइन, धर्मनिरपेक्षताको पक्षमा छ । धर्म निरपेक्षताको खासअर्थ सबै धर्मलाई समान हैसियत प्रदान गर्नु वा धर्महरुको बीचमा समन्वय कायम गर्नु भन्ने होइन । बरु धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपबाट मुक्त हुनु हो ।
मार्क्सवाद धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपको विरोधी मात्र होइन, अन्ततः धर्मकै विरोधी रहेको छ ।
मार्क्सवादले आज लेनिनवाद-माओवादमा विकास गरिसकेको छ । मार्क्सवाद-लेनिनवाद-माओवाद विश्वसर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त बनेको छ ।
आज मालेमावादको आलोकमा विश्व सर्वहारावर्गले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण अनुरुप ठोस परिस्थितिको ठोस विश्लेषण गरि वर्गसंघर्षलाई आधार बनाउँदै धर्मको विरोध गर्नुपर्ने दायित्व विश्व सर्वहारावर्गको ऐतिहासिक दायित्व बन्न पुगेको छ । वर्गसंघर्ष र क्रान्तिका बीचबाट जनसमुदायलाई शिक्षित तुल्याएर नै खास अर्थमा धर्मको विरोध गर्न आवश्यक छ ।
कम्युनिस्ट क्रान्तिकारीहरुले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणद्वारा जनसमुदायलाई वैचारिक रुपमा समृद्ध बनाउदै गएपछि नै धर्म जस्तो भ्रान्त कल्पनाको अन्त्य हुदै जानेछ ।
हिन्दुधर्म :
यहाँनेर थोरै भए पनि हिन्दुधर्मका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ :
हिन्दुधर्मलाई आर्य धर्म संस्कृतिबाट विकसित भएको मानिन्छ । यो विश्वका विभिन्न देशमा मानिने धर्ममध्ये एक हो । यो धर्म विभिन्न मत मतान्तरमा बाँडिएर रहेकोले हिन्दुधर्मलाई अन्य धर्म जस्तो प्रतिपादन गरेको धर्म नभएर संस्कृति, परम्परा र सनातनका आधारमा कर्मकाण्ड र संस्कृतिक रुपमा अपनाइएको धर्म हो ।
नेपाललाई लामो समयसम्म एक मात्र विश्वको हिन्दु राष्ट्र मानिन्थ्यो । हिन्दुधर्म बहुदेववादी धर्म हो र यसमा वैष्णव, बौद्ध, शैव, जैन लगायतका धर्म रहेको पाइन्छ । र यसको जरो वैदिक धर्ममा रहेको पाइन्छ । हिन्दुधर्मले परत्र, परब्रह्म, पूर्वजन्म, स्वर्ग, नर्क र कर्मवाद आदिमा विश्वास गर्ने र पूजापाठ, यज्ञयज्ञादी, व्रत र तीर्थलाई महत्व दिन्छ ।
वर्तमानमा पनि देवीदेवताहरु समेतलाई पूजा उपासना गर्ने प्रचलन बढ्दै गएको छ तर हिन्दुधर्मको कुनै खास सिद्धान्त नभएकोले के कुरा हिन्दुधर्ममा पर्छ वा पर्दैन भनी छुट्याउन नसकिने अवस्था यसमा रहेको पाइन्छ ।
हिन्दुधर्मको आधार वैदिक सभ्यतामा निर्मित मनुस्मृति आदिको वर्णाश्रम व्यवस्थालाई मानिन्छ । हिन्दुधर्मले समाजलाई खण्डिकृत गर्ने र ब्राह्मणलाई उच्च पद र विशेषाधिकार प्रदान गर्ने र क्षेत्रीलाई शासन ,वैश्यलाई व्यवसाय र शुद्रलाई सेवा गर्ने तहमा राखी वर्ण विभाजन गरिएको छ । यस धर्मले अवतारवादलाई पनि मानेको छ र ईश्वरले अवतारको माध्यमबाट संसारको सृष्टि र व्यवस्थापन गर्दछ भन्ने मान्दछ ।
लामो समयदेखि नेपाल हिन्दु धर्मले जगडिएको देश हो । नेपाल बहुधार्मिक मुलुक रहँदै आयो । नेपाल लामो समयसम्म हिन्दु धर्मलाई राज्यको धर्म मान्दै आएको स्थिति रहयो र नेपाललाई लामो समयसम्म हिन्दु अधिराज्य घोषित गर्दै आएको स्थिति हो । अहिले नेपाल धर्मनिरपेक्ष राज्य घोषित भएको छ । तर पुनरुत्थानवादीहरुले अहिलेसम्म पनि हिन्दु राज्यको आवाज उठाउने गरेको पाइन्छ ।
मार्क्सवादी (मालेमावादी) हरुले धर्मबारे कस्तो दृष्टिकोण र नीति अबलम्बन गर्ने भन्ने प्रश्न ज्यादै महत्वको प्रश्न हो । यस प्रश्नमा विशेष ध्यान दिन जरुरी हुन्छ । यस प्रश्नका बारेमा चर्चा गरिरहँदा के कुरा भुल्नु हुँदैन भने मार्क्सवादीहरु अर्थात् क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु विचारमा ठिक ठाउँमा रहेको बेला भौतिकवादी भएको र धर्मको विरोधी रहेको, तर विचारबाट गलिसकेपछि आध्यात्मवादी भएका थुप्रै उदाहरण छन् ।
जस्तो कि नेपाल मै झापा विद्रोहका मुख्य कमान्डर मोहनचन्द्र अधिकारीले गेरु वस्त्र पहिरिएर हिँडेको र दस वर्षे जनयुद्धको मुख्य नेतृत्व गरेका प्रचण्डले भैंसी पूजा गर्दै हिँडेको नेपाली जनताले भुलेका छैनन् ।
यसो हुनुको मुख्य समस्या भनेको विश्वदृष्टिकोणका विषयमा स्पष्ट नहुनु नै हो । माक्र्सवादीहरु, क्रान्तिकारी कम्युनिस्टहरु विश्वदृष्टिकोणमा रुपान्तरण हुनै पर्छ । यदि विश्वदृष्टिकोणमा रुपान्तरण हुन जसकेकाहरु प्रचण्ड जस्तै भैंसी पूजा गर्न पुग्नुलाई नौलो मानिँदैन ।
त्यसैले क्रान्तिकारी मार्क्सवादीहरुले मार्क्स-एंगेल्सबाट पाठ सिक्नुपर्ने हुन्छ । मार्क्सले हेगेलको आदर्शवादी द्वन्द्ववाद, फायरवाखको अधिभूतवादी भौतिकवाद, काण्टको अज्ञेयवादी आदर्शवाद र प्रुँधो-बाकुनिनको अराजकतावादी व्यक्तिवाद विरुद्ध भीषण संघर्षका बीचबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको संश्लेषण गरेर मात्र सन १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्नु भएको थियोे । अर्थात् विश्वदृष्टिकोणमा स्पष्ट भए पछि मात्र माक्र्स–एंगेल्सले सन १८४७ मा कम्युनिस्ट लिगको तर्फबाट कम्युनिस्ट घोषणापत्र लेख्ने जिम्मा लिनुभएको थियो ।
यस भन्दा पहिले नै मार्क्सले आफ्नो विद्यावारिधि नै “एपिक्युरियन र डेमोक्रेटियन दर्शन बीच भिन्नता” लेखेर गर्नु भएको थियोे । त्यस पछि माक्र्सले धर्म र दर्शनबारे बहस चलाउनु भएको थियोे । साथै सन १८४४ मा माक्र्सले “हेगेलको कानुन दर्शनमा आलोचनाको योगदान” शीर्षकको प्रसिद्ध आलेखमा धर्मको आलोचना गर्दै संश्लेषण गर्नु भएको छ “धर्म जनताको लागि अफिम नै हो ।” उक्त आलेखमा मार्क्सले लेख्नुभएको छ,-“ईश्वरले मानिसको सृष्टि गरेको होइन, बरु मानिसले ईश्वरको सृष्टि गरेको हो ।” साथै लेनिनले धर्मलाई “फलहीन फूल” भन्नुभएको छ ।
यसर्थ यहाँ यो भन्न खोजिएको छ कि “धर्मरुपी कालो बादल” आफ्नो मनभित्रबाट हटाउनका निम्ति क्रान्तिकारी कम्युनिस्टहरू ( मार्क्सवादीहरु) पहिले विश्वदृष्टिकोणमा रुपान्तरण भएको हुनु पर्दछ ।
अन्त्यमा धर्म अज्ञानता, अन्धविश्वास र रुढिवादमा अडिएको छ । यसले तर्क, तथ्य, अनुसन्धान र विश्लेषणको कुनै आवश्यकता महसुल नगरी केवल अन्ध परम्परामा चलिरहने हठ गर्दछ आजको वैज्ञानिक युगमा पनि धर्मले तर्क, तथ्य र अनुसन्धानलाई महत्व दिँदैन । धर्मको सारतत्व यही हो ।
(लेखकः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)