काठमाडौं । अमेरिकी वैज्ञानिक संस्था नासाले चैत्र २९ गते आइतवार मंगल ग्रहको सतहबाट मंगलकै आकाशमा हेलिकप्टर उडान भर्ने तयारी पूरा गरिसकेको छ । यो प्रयोग सफल भएका मंगल ग्रहमा नासाको अर्को इतिहास रचिनेछ ।
हाल मंगल ग्रहमा अवतरण गरेको रोभरले सफलतापूर्वक काम गरिरहँदा नासाले त्यसैसँग पठाएको हेलिकप्टर उडाउने भएको छ । मंगल ग्रहमा यी सबै तयारी रोभर ल्याण्ड गरेको जेजेरो क्रेटरमा भैरहेको छ । मंगल ग्रहमा १८ फेब्रुअरीमा पुगेको हेलिकप्टर जेजेरो क्रेटरको ‘टेक अफ एण्ड ल्याण्डिङ’ साइटमा उडान भर्ने र अवतरण गर्ने प्रयासमा हुने छ ।
हालसम्म पृथ्वीमा बाहेक अन्य कुनै पनि खगोलीय पिण्डमा हेलिकप्टर उडान नगरिएकाले मंगल ग्रहमा हुन लागेको यो सांकेतिक र नमूना उडानले सबैको ध्यानाकर्षण गरिरहेको छ । यदि यो उडान सफ भएमा पृथ्वीपछि हेलिकप्टर उड्ने दोस्रो ग्रहमा मंगल ग्रहको स्थान हुन जाने छ । नासाले निकै उत्साहित हुँदै उसको ट्वीटमा दिएको जानकारीअनुसार यो उडान अमेरिकी समयअनुसार बिहान ३ बजेर ३० मिनेट जाँदा हुनेछ । त्यो समय एशियामा १२ बजेर ३० मिनेट दिउँसो हुन आउनेछ ।
नासाले यसको लाइभ उपलब्ध गराउने छ । यसको प्रत्यक्ष प्रसारण नासाको वेबसाइट, नासा एप र टीभीमार्फत् गरिने छ । यसका साथै नासाको यूट्यूब च्यानल र जेट प्रोपल्शन लेबोरेटरीको फेसबुक पेजबाट पनि यसको प्रत्यक्ष प्रसारण गरिने छ ।
हाल यसका लागि नासाले उडानसम्बन्धी प्रारम्भिक अभ्यास गरिरहेको छ । नासाले पठाएको हेलीकप्टर इन्जेन्युइटीको परीक्षणका क्रममा यसको पंखा (हेलीकप्टरको रोटर) लाई घुमाएर गरिएको छ । रोटर सफलतापूर्वक घुम्न थालिसकेको छ ।
(एजेन्सीको सहयोगमा)