काठमाडौं । चिनियाँ अन्तरीक्ष यान तियानवेन–१ ले मंगल ग्रहको कक्षमा प्रवेश गरेदेखि नै मंगल ग्रहको विभिन्न तस्वीरहरु पठाइरहेको छ । पछिल्लो समयमा यसले पठाएका तस्वीरहरु बढी विस्तृत रहेका छन् । यसले मंगलको अध्ययनमा थप टेवा दिनुका साथै मंगल सतहमा रोभरको अवतरणलाई निकै सहज बनाउने चिनियाँ वैज्ञानिकहरुको दाबी छ ।
आउँदो मे अथवा जुन महिनासम्म चिनियाँ अन्तरीक्ष यानबाट रोभर मंगलको सतहमा अवतरण भएपछि यसले हालसम्म गरिएको अध्ययनभन्दा विशिष्ट तरिकाले मंगल ग्रहमा जीव तथा वनस्पतिको अवशेषको खोजी गर्ने भएको छ । यस्तोखाले नयाँ अनुसन्धानका लागि मंगलको सतहमा ओर्लने रोभरको सफल आवातरणका लागि धूलो नभएको वा कम भएको, वातारण स्वच्छ भएको र फ्लाइट अवरुद्ध नहुने दिशाको खोजी भैरहेको चिनियाँ वैज्ञानिकले बताएका छन् ।
चिनियाँ राष्ट्रिय अन्तरीक्ष प्रशासनका अनुसार हाल पठाइएको तस्वीरमा ससाना क्रेटर, साना पहाड तथा दुनहरु स्पष्ट रुपमा देखा परेका छन् । हाल पठाइएको तस्वीरमा मंगल ग्रहको उत्तरी ध्रुवको तस्वीर रहेको छ ।