दुर्गम पहाडका गाउँहरुमा स्वछन्द रुपले मनमा रत्तिभर डर नलिई विद्यालय जाने आउने गथ्र्यौं । मेलापात, पानीघट्ट, जात्रामा एक्लै जाने गथ्यौं । चाडपर्वमा राती अबेरसम्म घरबाट टाढाटाढा देउडा, हुड्केउली जस्ता अनेक स्थानीय लोकप्रिय नाच हेरेर रमाउँथ्यौं । अबेर राती सल्लाको काठको राँको वा टर्चलाइट बालेर एक्लै आफ्नो घर फर्किन्थ्यौं । कति आनन्दको माहोल हुन्थ्यो, गाउँ समाजमा । तर अचेल गाउँ, समाज र देशको अवस्था पूरै बदलिएको छ ।
त्यतिखेर मात्र जङ्गली जनावरको डर हुन्थ्यो, तर अचेल गाउँ वा सहर जतासुकै मान्छे कै भयानक कर्तुतले सपना र विपना दुवैमा तर्साइरहेको छ । समयसँगै राजनीतिक परिवर्तन, सञ्चारमाध्यम, सामाजिक सञ्जाल आदिको विकासले मानिसका व्यवहार पनि बिस्तारै मानवीय समवेदनालाई कुल्चिंदै दानवीय प्रवृत्तितिर ढल्कदै छन् । जसले गर्दा हरेक पल डरैडरमा जीवन जीउन बाध्य हुनुपरेको छ । साथै, प्रकृतिले पनि घरिघरि तर्साइरहन्छ । कहिले बाढी र पहिरो, कहिले हुरी, चट्याङ या भूकम्प आदिले अत्याइरहन्छ । २०७२ सालको भुइँचालो गएको महिनौसम्म मनमा यस्तै डर भइरह्यो । त्यो डर बिस्तारै हराउँदै थियो । फेरि अर्को डरले आजभोलि नराम्रोसँग मनमा बास गरेको छ ।
बिहान काममा गएकी छोरी, बहिनी बेलुकी सकुशल घर आइपुग्छे कि पुग्दिन भनेर डर लागिरहन्छ । आफ्नै सहपाठी, चिनेजानेका, आफन्तबाट समेत कयौं किशोरीमाथि अनैतिक कार्य हुने गरेको समाचार सुन्दा झन् अत्यास लाग्न थालेको छ । यस्तो अकल्पनीय विकृति हाम्रो आफ्नै वरिपरि मौंलाउँदै गएको देखेर मलाई मात्र होइन, छोरी हुने कैयन अभिभावकको मुहारमा डर देख्न सकिन्छ ।
आजभोलि मलाई डर लागिरहने अरु थुप्रै कारण छन् । आफू काम विशेषले बाहिर निस्कनु पर्दा घरमा रहेकी छोरीलाई कसैले फकाइफुल्याई वा जबरजस्ती लगेर बलात्कार वा हत्या पो गर्छ वा न्याय माग्न जाँदा वर्षौसम्म न्याय नपाएर उल्टै अन्यायमा पो परिने हो कि, सुरक्षा माग्न जाँदा आफै असुरक्षित पो भइने हो कि ǃ महिला भएकै नाताले काठमाडौं सितापाइलामा बस्ने युवती गत वर्ष मात्रै एसिडको सिकार हुनुपरेको घटनाले यो डरलाई थप मलजल गरेको छ ।
त्यस्तै डर लाग्छ मलाई काठमाडौंमा छ्यापछ्याप्ती देखिने चिया, नास्ता पसलभित्र अनुमतिविना राखिएका रक्सीका बोतल, जसको सेवनले मान्छे दैत्य बन्छ । जुनसुकै कर्तुत गर्न पनि पछि पर्दैन । डर लाग्छ बाटोमा हिँड्दै गर्दा कानमा लगाएको एकआना सुन लुछिने हो कि भनेर । त्यस्तैगरी डरलाग्छ बैंकमा पैसा राख्न र झिक्न जाँदा, बजारमा किनमेल गर्नजाँदा दश गुणा बढि मूल्य तिर्नु परेर ठगिने । काठमाडौंको हिलो तथा धुलोले लाग्ने खोकी तथा खोक्दाखेरि प्रसुति हँुदा सल्यक्रिया गरेको घाउ दुख्दा, काठमाडौंका सडकमा भएका खाल्टाखुल्टीमा स्कुटर चलाउँदाको र त्यतिखेरै पर्ने जामको डर ।
पौष्टिक तत्वको ठाउँमा विषादिले भरपुर खाद्य पदार्थको, जसको सेवनले गर्दा हुने क्यान्सरजस्ता विभिन्न घातक रोगको डर । बेलाबेलामा सडक तथा घरमै थुप्रिरहने फोहोरबाट भान्छासम्म पुग्ने गन्धको डर । वर्षेनी डर लाग्छ मलाई दशैंको बेला घर जाँदा छतमा र गाडीभित्र चाहिनेभन्दा दोब्बर यात्री बोक्ने गाडी र सुरक्षादिने सुरक्षाकर्मी लाचार भएर हेरिरहँदाको । त्योसँगै डर लाग्छ मलाई दुर्गमका सडकको अवस्था र लापरवाहीले गाडी चलाएको देख्दा । त्यहि सडकको नाजुक अवस्थाका कारण पहिरोमा परी आफन्त गुमाउनुको पीडा झनै डरलाग्दो हुन्छ ।
डर लाग्छ मलाई मेरै सरकारसँग जसले भ्रष्टाचारलाई बढावा दिन पप्पु कन्स्ट्रक्सन, ओम्नीजस्ता कयौं ठेकेदार कम्पनीलाई कारवाही नगरेर फेरि पनि पुरस्कृत गरिरहँदा । अति डर लाग्छ मलाई न्यायका लागि अनसन बसेर ज्यान गुमाउँदा पनि सुनुवाइ नगर्ने सरकारी प्रवृत्तिको । सबैभन्दा बढि डर लाग्छ मलाई दिनरात ज्यानको बाजी थापेर हरदम जनतालाई सुसूचित र जागरुक बनाउने पत्रकार तथा सञ्चारमाध्मलाई अंकुश लगाउन खोज्ने ऐन, कानुनको । सुरक्षाको उच्चतम पदमा बसेका नै हत्यामा संलग्न हुँदा र सजाय पूरा नगरी छुटदा झनै डर लाग्छ ।
अचेल पूर्व मेचीदेखि पश्चिम महाकाली, विश्वका प्रत्येक मान्छेको मनमा कोरोना भाइरसँगै अन्य केहि न केहि कारणले डर उन्पन्न गरेको छ । कतै बाढी, पहिरोको डर, कतै जागीर छुट्ने डर, कतै आफ्ना बालबालिकाले लामो समयसम्म पढ्न नपाउँदा त्यसबाट पर्ने नकारात्मक असरको डर, कतै सरकार नै बिथोलिने डर, कतै भारत रिसाउने डर, कतै पद नपाउने डर, कतै पद खोसिने डर । सबैलाई आफ्नो स्वार्थ पूरा नहुँदाको चिन्ता र डर छ ।
भारत, चीन लगायत देशमा हेर्ने हो भने हाम्रो पूरै देशभन्दा ठूला उनीहरुका प्रदेश छन् । तर सबै कुरामा उनीहरु हामीभन्दा समृद्ध छन् । यो सानो देशलाई अझै सातवटा प्रदेशमा विभाजित गरेको लामो समय हुँदा पनि स्वास्थ्य, यातायात, सुरक्षालगायत अति आवश्यक सुविधा दिन नसक्नु विडम्बना हो । महङ्गी आकासिंदो छ । बलात्कारका घटनामा बृद्धि भइरहेका छन् । जताततै बिचौलिया बढेका छन् । विकासका काम ठप्प छन् । उता सातै प्रदेशका मुख्यमन्त्रीहरु काम नपाएर भैंसी, कुकुरमा पनि कर लगाउँदै उठेको राजस्वबाट महङ्गा गाडीमा सयर गर्न, भत्ता खान मात्र ब्यस्त छन् ।
के सामान्य जनताले देख्ने यत्ति धेरै समस्यालाई देशका ठूला भनिने ब्यक्तिले पटक्कै देख्दैनन् ? डरमा बाँच्न बाध्य जनताको जीवनशैली चिल्ला गाडीमा हिंड्नेले किन देख्दैनन् ? जनताकै भोटले दुइतिहाई सरकारले समेत केहि गर्न सकेन । दुई ठूला दल मिलेर बनेको सरकारबाट जनताले झन धेरै पीडा र निरासा मात्र पाएको छ । देशको सर्वोच्च पदमा बस्ने नै टुटफुटमा व्यस्त भएपछि कसले गर्ने देश विकास ? कसले लगाउने जनताको पीडामा मलम ? कुनै पनि विकासका काम गर्न र त्यसको प्रतिफल प्राप्त गर्न समय लाग्छ । रातारात जादुको छडीजस्तै काम गर्न नसकिएला तर आजभोलि जेजस्ता डरलाग्दा आपराधिक, भ्रष्टाचारका घटना घटिराखेका छन् यस्तो हुनुहुँदैनथ्यो ।
त्यसैगरी, विकासका लागि छुट्याएको अरबौंको बजेट वर्षेनी फ्रिज भइरहन्छ र सुुरु गरिएका विकासका कामहरु पनि वर्षौसम्म अलपत्र रहन्छन् । सरकारको ढलमले पारा र कोरोना भाइरसको असर देख्दा यसपाली पनि त्यसै हुने छाँट देखिन्छ । जनताको अपेक्षा यस्तो थिएन । यो दुइतिहाईको सरकारले चाह्यो भने गर्न नसक्ने केहि पनि थिएन । तर सरकारले राम्रा काम गरेको आभाष हुन सकेको छैन । सरकार चलाउने नै शक्ति प्रदर्शन तथा झैझगडामा व्यस्त भएका छन् ।
कोरोना सर्छ भन्दै हप्ता दिनसम्म हिंडेर घरजाने आफ्ना जनताका लागि गाडीको व्यवस्था गर्न नसक्ने सरकारले कोरोना कहरकै बीच मासु खुवाउँदै पैसा बाँडदै गाउँगाउँबाट जनतालाई आफ्नो शक्ति प्रदर्शन भन्दै भीडमा धकेलिरहेको छ । जसले जे बोले पनि जे गरे पनि हुने भएको छ । कोराना कहरसँगै राजनीतिक खिचातानीका कारण जनताले शान्तिको सास फेर्न पाएका छैनन् । अब के हुने होला भन्ने त्रास बढेको छ । पद र पैसाको लागि मात्रै राजनीति गर्नेहरुले जनताका पीडा पनि बुझिदिए कति जाति हुन्थ्यो ।