• मंसिर १२ २०८१, बुधबार

उस्तै परे संसद बैठक बसेर ओलीलाई कारबाही गरिन्छः दाहाल

माघ १७ २०७७, शनिबार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री केपी ओलीलाई जरुरी परेमा प्रतिनिधिसभाको बैठक बसेर कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार विराटनगरमा नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानअनुसार प्रतिनिधिसभा जीवितै रहेकोले आवश्यक परेमा बैठक बसेर ओलीलाई कारबाही गर्न बाध्य हुने चेतावनी दिए ।

प्रचण्डले आक्रोशित मुद्रामा भने, ‘हामीलाई प्रतिनिधिसभाको बैठक बस्ने अधिकार छ, तर केपी ओलीलाई छैन, उनीसँग केही पनि छैन, सर्वोच्चको सम्मानका लागि मात्र हामी चुप बसेका हौँ, आवश्यक परे बैठक बसेर कारबाही गरेरै छाड्नेछौँ ।’ प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्नेमा आफूहरू पूर्ण रूपमा विश्वस्त रहेको बताए ।

प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने केपी ओली भष्मासुर प्रवृत्तिको प्रतिक्रियावादी रहेको दाबी गरे । संघीय गणतन्त्र नेपालको संविधानको हुर्मत लिने दुस्प्रयास ओलीले गरेको भन्दै प्रचण्डले बादशाहलाई घोडाबाट खसालेझैँ नेपाली जनताले फेरि श्री ३ बन्न खोज्नेहरूलाई खसालेर लोकतन्त्रलाई सही बाटोमा ल्याउने बताए ।

अर्का अध्यक्ष माधवकुमार नेपालले सबै वर्ग, समुदाय र राजनीतिक पार्टी आन्दोलनमा उत्रिसकेकोले अब केपी ओली एक्लो भएकाले धारेहात लगाएर गालीगलौजमा उत्रिएको बताए । नेपालले केपी समूहलाई तमासेको संज्ञा दिँदै सूर्य चिह्न र मूल नेकपा आफूहरूकै भइसकेको दाबी गरे ।

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई शकुनीको संज्ञा दिँदै उनीबाट लोकतन्त्रवादी नेपाली जनतालाई होसियार हुन आग्रह गरे । उनले झापा आन्दोनलका नेता भनिएका ओली शकुनीजस्तै जाली र फटाहाका नाइके भएको बताए ।