• मंसिर १७ २०८१, सोमबार

जंगबहादुरको शासन ढाल्ने तयारीमा रहेका लखन थापा कसरी मारिए ?

माघ १६ २०७७, शुक्रबार

विश्वभरि नै कुनैबेला सामन्त राजाले शासन गर्थे । जतिबेला सूचना प्रविधिको विकास भएको थिएन । मानि अन्धकार युगमा बाँचिरहेका थिए । युरोप, अमेरिका लगायतका मुलुकमा पूँजीवादको विकास सुरु हुन लाग्दा पनि नेपालमा भने राजाले नै एकतन्त्रीय र जहानियाँ शैलीमा शासन गरिरहेका थिए । नेपालमा त राजा पनि २ खाले थिए- श्री ५ र श्री ३ । परम्परागत ठकुरी राजा श्री ५ थिए भने पछि आएर आफुलाई राजा घोषणा गरेका राणाखलक श्री ३ राजा थिए । किसिम किसिमका राजाका शासनबाट प्रताडित नेपाली जनता बेलाबेला विद्रोह गर्थे । तर ती विद्रोहलाई दबाइन्थ्यो । प्रथम विश्वयुद्ध (१९१४-१९१८) भन्दा अघि राणा शासनविरुद्ध ठूलो विद्रोह भएको थिएन ।

गलत शासनविरुद्ध बिद्रोह हुन नसक्नुमा अशिक्षा र दयनीय आर्थिक अवस्था र राजनीतिक चेतना नै प्रमुख कारण थिए । त्यसैगरी राणा शासकले आफ्नो शासन बचाउनका लागि भारतीय भूमि प्रयोग गरेर आफ्ना निरङ्कुश शासनविरुद्ध कुनै गतिविधि हुन नदिन अंग्रेज सरकारलाई मनाएका थिए । तर यस्तो अवस्था धेरै टिकेन । पहिलो विश्वयुद्धका कारण विश्वभरि नै आर्थिक, राजनीतिक अवस्थामा परिवर्तन देखा परेको थियो । यही कुरा बुझेर गोरखा भर्तीमा जागीर खान भारत गएका गोर्खाका लखन थापा मगर र उनका साथी जयसिंह चुमीमगर तीन महिनाको लागि घर बिदामा आए । यसैबीच उनीले तत्कालीन अवस्थाको राजनीतिक, सामाजिक, धार्मिक परिस्थितिको अध्ययन गरे । त्यसपछि लखन थापाले जंगबहादुरको शासन ढाल्ने योजना बनाए ।

सो योजनाअनुसार लखन थापाले जयसिंह चुमीमगर, शुकदेव गुरुङ, सुपति गुरुङ, ज्ञान दिलदास ब्राह्मण र कानु लम्सालको सहयोगमा स्थानीय युवाको विद्रोही फौज खडा गरे । लड्नका लागि उनीहरुले बलियो किल्ला बनाए । उनीहरुले ढुंगैढुङ्गाले घेरिएको बलियो किल्ला तयार पारे । शक्ति आर्जन गर्नका लागि उनीहरुले देवीलाई सम्झिए । फलस्वरुप उनीहरुले लडाइँको किल्ला परिसरभित्र मनकामना देवीको मूर्ति स्थापना गरे । लखन थापाहरुले आफ्नो फौजलाई फौजी कवाज खेल्ने, तारो हान्ने, विभिन्न तालिम सञ्चालन गर्ने र खाने, बस्ने आदि बन्दोबस्त पनि मिलाए । किल्लाभित्र ढुङ्गेधारा र पोखरीसमेत बनाइयो ।

लड्नका लागि फौजलाई आवश्यक पर्ने ६० नालभन्दा बढी बन्दुक जम्मा पारियो । साथै ठूलो संख्यामा तरवार, खुकुरी, भाला, डण्डी, धनुषकाँड, खुँडा र कटारीजस्ता हातहतियार जम्मा गरे । राणा शासनविरुद्ध लड्ने विद्रोही सेनालाई आवश्यक पर्ने रसदपानीको पनि व्यवस्था मिलाइयो ।

त्यो लडाइँको तयारी एक किसिमको जनविद्रोहको तयारी नै थियो । यी सबै कुरा तयार गर्न तयारी गर्न कम्तिमा ६ महिनाभन्दा बढी समय लागेको थियो । लखन थापाले गोरखाको बुङ्कोटमा स्थानीय विद्रोही सेना परेड खेल्ने मैदानको पनि स्थापना गरेका थिए । लखन थापाले रणनीतिक ढङ्गले जंगबहादुरको निरंकुश जहानियाँ शासनलाई हटाएर देशलाई स्वतन्त्र बनाउन चाहन्थे । तर जङ्गबहादुरको तानाशाही शासनलाई ध्वस्त पार्न लागि सैनिक विद्रोह मात्र पर्याप्त थिएन । त्यसको आवश्यकता पूर्ति गर्न एउटा सशक्त राजनीतिक सङ्गठन पनि आवश्यक छ भन्ने महसुस उनलाई भइसकेको थियो । त्यसका लागि उनले तयतिबेलाको जोसमनी धर्मको आडमा नेपाली जनतामा राजनीतिक जागरुकता ल्याउने प्रयास गरे । उनी लगायत उनका सहयोगी, समर्थक गोर्खाको गाउँघर र बस्तीबस्ती डुलेर अंग्रेजको दलाल बन्न पुगेका जंगबहादुरविरुद्ध उनका काला कर्तुतको भण्डाफोर गर्दै हिंडे ।

लखन थापाले जनतालाई भेला गराई ठाउँठाउँमा भाषण, प्रवचन दिंदै एक प्रकारले प्रशिक्षण दिँदै हिंडे । प्रजातान्त्रिक व्यवस्था ल्याउनका लागि लखनले राजनीतिक चेतना प्रवाह गरेको इतिहास पाइन्छ । यसरी गोर्खाको बुङ्कोटमा विद्रोहको जनलहर फैलिन पुग्यो र विद्रोहीले जनसमर्थन र जनसहभागिता पनि जुटाउँदै गए । हरेक राजनीतिक आन्दोलन र युद्ध जित्नका लागि नेताले केही न केही नारा दिएका हुन्छन् । जंगबहादुर राणाको शासन ढाल्नका लागि जनता जगाउन लखन थापाले “जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेछ, जातिपाति, छुवाछूत झन चर्काएको छ, जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ, नेपालमा सत्य युग फिराऊ भनेर मनकामना माईले मलाई वरदान दिएकी छिन्, लौ भाइ हो तयार होऊ” भन्दै उनीहरुले जनतालाई संगठित पार्न थाले ।

प्रशिक्षणका क्रममा उनले यस्ता खाले कुरामा निकै नै जोड दिन्थे । जालझेल र व्यक्तिहत्याबाट सत्तामा पुगेका जङ्गबहादुर विदेशी (साम्राज्यवादी अंग्रेज) शक्ति समक्ष लम्पसार परेका थिए । सो कुरा लखनले नेपाली जनता समक्ष प्रष्टरूपले राख्न थाले । जङ्गबहादुरले जनतालाई त्राहीत्राही पार्यो अर्थात् तानाशाही, क्रुर एवं हुकुमी शासन स्थापित ग‍र्यो भन्ने कुरा उनले जनतालाई बुझाउन थाले । नेपालमा सत्य युग फिराउनु पर्छ अर्थात् प्रजातान्त्रिक व्यवस्था ल्याउनु पर्छ भनेर उनले जनतालाई विद्रोहका निम्ति आह्वान गरे । त्यसबेलाका स्थानीय जनतामा मनकामना माईप्रति गहिरो आस्था र धार्मिक विश्वास थियो । देवीबाट आफूलाई वरदान मिलेको र जङ्गेलाई हटाउन तयार हुनु प‍र्यो भनेर उनले अपील गरेका थिए । सन् १८५४ को मुलुकी ऐनमा जारी भएको प्रावधानले आदिवासी जनजातिको सामाजिकस्तर अझ तल झर्न गएकाले उनीहरू जङ्गबहादुरको हुकुमी शासनबाट अत्यन्त रुष्ट थिए ।

त्यसै समयमा लखन थापाले उद्घोष गरे- “म लखन थापा (प्रथम)को अवतार हूँ र मलाई भगवती मनकामना माईले जङ्गबहादुरलाई मार्नु र नेपालको शासनसत्ता आफ्नो हातमा लिनु भनी आर्शिवाद दिएकी छिन् ।”

स्थानीय जनतामा यस्तो आह्वानले निकै प्रभाव पर्न गयो र लडाइँमा जनताको स्वतःस्फूर्तरुपमा सहभागिता बढ्दै गयो । यसरी जङ्गबहादुरविरुद्ध पहिलो पटक संगठितरूपमा लखन थापाको नेतृत्वमा जनआन्दोलन वा जनविद्रोहको प्रारम्भ भयो । वि.सं १९२८ सालमा स्थानीय जनताले प्रभावशाली नेता लखन थापालाई आफ्नो राजा सरह मान्न थाले । निरंकुश राणा शासनको सुत्राधार जंगबहादुरको राज्यसत्ता विरुद्ध वि. सं १९३२ मा चेतनाको दियालो बालेर लखन थापाको नेतृत्वमा जनस्तरबाट उठेको विद्रोह नै नेपालको पहिलो राजनीतिक आन्दोलन थियो । त्यतिबेला सामाजिक तथा राजनीतिक सङ्गठन खोल्न प्रतिबन्ध थियो । त्यस्तो अवस्थामा गर्न लागिएको सो विद्रोहको तयारी भइरहेको जानकारी कसैले जंगबहादुरकोमा पुर्याइदिएको रहेछ । परिणामस्वरूप रातारात गोरखा पुगेको जंगबहादुरको फौजले लखन थापा, जयसिंह चुमी (राना), अच्छामी मगर र अन्य चारजनालाई पक्राउ गरी वि.सं १९३३ फागुन २ गते हत्या गर्यो ।

उनीहरुलाई पक्राउ गरी हत्या गर्न जंगबहादुर कै आदेशमा काठमाडौंबाट उसको ठूलो फौज गएको थियो । सो फौजले लखन थापा र उनका साथीहरुलाई पक्राउ गरी जंगबहादुरको आदेशमा निर्ममतापूर्वक झुण्ड्याइएर मारेका थिए । यसरी उनीहरुलाई झुण्ड्याएर मारिएपछि जंगबहादुरको निरंकुश शासनविरुद्ध उठेको विद्रोह केहि समय सेलायो । नेपालको इतिहासमा पहिलो जनविद्रोह मानिएको यो असफल विद्रोहलाई दमन गर्ने सिलसिलामा झुण्ड्याइएका सातजना व्यक्तिमध्ये लखन थापामगर सबैभन्दा पहिलो पटक डोरीमा झुण्ड्याइएकाले नै उनलाई नेपालको पहिलो शहीद मानिएको हो । उनको हत्याबारे राणा लेखक तथा अन्य इतिहासकारले पनि उजागर गरेका छन् ।

“लखन थापाले नेतृत्व गरेको जनविद्रोहको लक्ष्य र रणनीति केवल जङ्गबहादुरको हत्या गर्ने कुरामा मात्र सीमित थिएन । राणाको एकतन्त्रीय शासन ढालेर राजनीतिक परिवर्तन ल्याउने अभिप्रायबाट जनविद्रोहको शुभारम्भ भएको थियो । जनविद्रोहको तयारी अत्यन्त बृहत् र योजनावद्ध थियो । त्यसैले जनताले लखन थापालाई एक शक्तिशाली व्यक्ति, अत्यन्त पराक्रमी अर्थात् राजा वा सो सरह मानेका थिए । नेपालको इतिहासमा पहिलो पटक तत्कालीन नेपालको सम्पूर्ण जनसंख्याको तुलनामा दुईहजार युवाहरूको जनमिलिसिया तयार गर्नु सामान्य कुरा थिएन । तथापि उनको विद्रोही योजनाले पूर्ण सफलता प्राप्त गर्न नसके पनि उनलाई प्रथम शहीदको सम्मान दिन सकिने प्रशस्त आधार छन् । उनले राणा शासनको वा जंगबहादुरको व्यक्तिगतरूपमा विरोध गर्नुभन्दा पनि स्पष्ट लक्ष्य राखेर स्थानीय जनतालाई उत्साहित पारी सङ्गठनको निर्माण गर्न र योजनाबद्धरूपले सत्ययुग फर्काउन सशस्त्र युद्धका लागि तयार रहँदा आठ-आठ जना विद्रोहीले प्राण गुमाउन पुगेकाले त्यस्ता ऐतिहासिक घटनाका नायक लखन थापा नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने पहिला व्यक्ति हुन् ।

जङ्गबहादुरको तानाशाही शासनको विरोध गर्ने कुरा त्यसबेला कसैले सपनामा पनि चिताउँदैन थिए । त्यस्तो स्थितिमा जनसहभागिता र जनसक्रियतामा देशको राजनीतिक, सामाजिक परिवर्तनका लागि वि.सं १९२७ सालमा लखन थापाको नेतृत्वमा उठेको यो जनविद्रोह पहिलो नै थियो ।

नेपालको इतिहासमा राणाहरूको अत्याचारी शासनको विरोधमा संगठित, योजनावद्ध साथै स्पष्ट लक्ष्यकासाथ लखन थापाको नेतृत्वमा सुनौलो नेपालको प्राप्तिका लागि सञ्चालन भएको यो पहिलो जनयुद्ध थियो । सामान्य ज्ञानदेखि इतिहासकारले सर्वमान्यरूपमा नेपालका प्रथम शहीद लखन थापामगर हुन् जसले राणा शासनको पहिलो चोटी जनस्तरबाट विद्रोह गरी निरंकुश जहानियाँ राणा शासनका प्रवर्तक जंगबहादुर राणाविरुद्ध प्रजन्तान्त्रिक आन्दोलन लडी देश र जनताको निमित्त मृत्युवरण गरेका थिए । जङ्गबहादुरको सैनिक शासनविरुद्ध लखन थापाको सक्रियतामा विद्रोही सेना खडा हुनु, बुङ्कोट काहुले भङ्गारमा विशाल किल्लाको निर्माण हुनु, लामो समयसम्म छापामार सैनिक तालिम सञ्चालन हुनु नेपालको सैनिक इतिहासमा पहिलो ऐतिहासिक घटना हो । पछिल्लोचरणमा प्रजातन्त्र प्राप्तिका लागि भएका जनआन्दोलन तथा माओवादी जनयुद्धमा पनि हजारौं जनता शहीद भएका छन् । आज शहीद दिवस भएका कारण पनि यी शहीदलाई सम्झिने र उनीहरुले देखाएको बाटो अनुसरण गर्नु आजको पुस्ताका लागि अनिवार्य हुन गएको छ ।