• बैशाख ११ २०८२, बिहीबार

मान्छे तान्न फरारहरुलाई धमाधम फूलमाला लगाउँदै ओली

माघ १६ २०७७, शुक्रबार

प्रधानमन्त्री केपी ओलीले गत पुस १५ गते सुदूपश्चिका कार्यकर्ता भेलामा पूर्वजनमुक्ति सेनाका कमान्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका थिए ।

खाम पूर्वमाओवादी लडाकुमात्रै हुन्थे भने ओलीले उनलाई सम्झिनु विशुद्ध राजनीतिक विषय हुन सक्थ्यो । तर माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ वैशाखामा काठमाडौँ कोटेश्वरका रामहरि श्रेष्ठ हत्यामा अदालतले दोषी किटान गरेका व्यक्त हुन् खाम । अहिले नेकपा विभाजित भएपछि १२ वर्षदेखि प्रहरीको ‘फरार’ सूचीमा रहेका खामको बालुवाटार आउजाउ बाक्लिएको छ ।

रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपूजजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेर उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार दिएका थिए । निर्वाचन आयोगले रातो पासपोर्ट कान्डमा दोषी रहेको भन्दै अन्तिम समयमा उम्मेदवारी रद्ध गरिदिएपछि उनी उठ्न पाएनन् ।

उनै राय अहिले ओली नेतृत्वको नेकपमा प्रवेश गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मञ्चबाटै रायमाथि लागेको मुद्धा खारेज गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विस्फोटक पदार्थसम्बन्धी मुद्धामा अदालतले कैद सजाय सुनाएपछि फरार रहेका अभियुक्त रामनारायण यादवलाई उपप्रधानमन्त्री पोखेरलले फूलमाला लगाएर स्वागत गरे ।

गौरहत्याकान्डमा दोषी किटान भएका र नेपाल र भारतमा समेत दर्जनौँ मुद्दा खेपिरहेका बबन सिंह ओली नेतृत्वको नेकपामा प्रवेश गरिसकेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।