• मंसिर १७ २०८१, सोमबार

वनराजालाई गरिब बनाउने विकास

माघ १५ २०७७, बिहीबार

सुदूरगाउँको परंपरागत तथा लघु अर्थनिर्माता राउटेको हुल एकदिन बडेमानका जाबीभित्र काठका कोसी (कुसी) र सन्दुक बोकेर हाम्रो स्कूलको आगनमा देखा परे । हामी डरले थुरुरु भयौँ । आगनमा खेल्दाखेल्दै हुरुरु क्लासमा छिर्यौं । ढोकाको कापबाट भयानक राउटेको हूल उता चौरको छेउँ पार नहुञ्जेल चियाइरह्यौं किनकि केटाकेटीमा हामीलाई अनुशासनमा ल्याउने नाम थियो, राउटे ।

२०४० को दशकसम्म हाम्रो गाउँतिर राउटेहरु खुब आउने गर्थे । उनीहरुको कुसी र सन्दुक अनि अन्य काठका सामग्रीको विनिमय बजार थियो, हाम्रो गाउँ । त्यहि बेला किनेका कुसी र सन्दुकहरु आज पनि कतिपयको घरमा सुरक्षित छन् । राउटेले बनाएका घरायशी कुसी तथा सन्दुक बज्यैले अन्नसँग साट्नु हुन्थ्यो । मध्य र सदुर पहाडी गाउँहरु राउटेका स्थायी विनिमय बजार थिए । उनीहरुको सामानको मोल आकारले निर्धारण गथ्र्यो । जति ठूलो सामान, त्योभरी अन्न । बनराजा लगायत थुप्रै मानव समुदायसँग अन्तरनिर्भर हाम्रो लघुअर्थतन्त्र वस्तु विनिमयको स्वरुपमा चल्थ्यो ।

को हुन् राउटे ?

कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडको जंगलमा घुमन्ते जीवन बिताउने आदिवासी जनजाति हो, राउटे । यसलाई राज्यले लोपोन्मुख जातिमा राखेको छ । आफ्नै भाषा, इतिहास तथा संस्कृति भएको यो जाति मानव सभ्यताको उद्विकासको हिसाबले हेर्ने हो भने उसले १२ हजार वर्ष अघिको मानव जीवन बाँचिरहेको छ । यो जातिले आदिम साम्यवादका थुप्रै विशेषतासहित प्राकृतिक र सरल जीवन जिइरहेको छ । २०६८ को जनगणनाअनुसार नेपालमा ६१८ राउटेहरु रहेको तथ्यांकमा उल्लेख छ ।

राउटेको अर्थतन्त्र:

ढेडुगुना र बाँदरको शिकार गर्नु, जंगलमा पाइने फलफूल तथा कन्दमूल संकलन गर्नु, किसानको गाउँमा पुगी काठका सामग्री अन्नसँग विनिमय गर्नुजस्ता कार्य राउटेका प्रमुख आर्थिक गतिविधि हुन् । अल्लोको प्रशोधन गरी आफ्नो लुगा आफै बनाउनु, रुखका हाँगा र स्याउलाले अल्पकालीन छाप्रो बनाउनुजस्ता आर्थिक क्रियाकलापबाट राउटेको स्वाधीन अर्थतन्त्र चल्छ । पूर्ण रुपमा जंगलमा आश्रित यो मानव समुदाय एक स्थानबाट अर्को स्थान सरिरहन्छ । कञ्चन पानीको श्रोत तथा आफ्नो सामानको विनिमय बजारको खोजीमा एक स्थानमा बढीमा ५ महिना रोकिन्छ ।

राउटेको हालको अवस्था:

जंगलमा स्वच्छन्द प्राकृतिक जीवन बिताउने बनराजा आज मौलिक विशेषता गुमाउँदै गएका छन् । साथै, आदिम मानव समुदायको जीवन्त प्रतिविम्व दिने अनुपम र दुर्लभ सभ्यतालाई राज्यले पनि गुमाउँदै गएको छ । लोपोन्मुख जातिमा वर्गीकृत यो मानव समुदायको संरक्षणको विधिले राउटेलाई मगन्ते बनाइरहेको छ । संविधानमार्फत् सम्बोधन भएको समावेशी राज्यलाई कानुनले संस्थागत गरिरहँदा लोपोन्मुखलाई संरक्षण गर्ने रणनीति राउटेलाई फिट नहुने गरी कार्यान्वयन भैरहेको छ । हामी उसलाई संरक्षणको लालशा देखाएर जबर्जस्ती नागरिकताको खोष्टो भिराएका छौं । हाम्रो विद्यमान व्यवस्थामा व्यक्तिमा निहित राजनीतिक सार्वभौमिकताको उपयोगबाट शासक छनौट गर्ने अधिकार घुमन्तेलाई छैन । ‘कस्टमरी ल’को माध्यमबाट आफ्नो सरल कविला शासन व्यवस्था चलाउने राउटेलाई लोकतन्त्रका मूल्यहरुले अझ विकृत बनाउँदैछ । कर्णाली र सुदुर पहाडका जंगलमा युगौँदेखि बिहार गर्ने एउटा प्राचीन राष्ट्रियता विकासको प्रलयमा विलय हुँदैछ ।

के राउटे गरिब हो ?

राउटे विल्कुल गरिब होइन, तर विकासे आतङ्कले राउटेलाई गरिब देख्छ । हामीले बनाएको गरिबी नाप्ने औजारले राउटेलाई गरिब बनाएका छौं । स्वाधीन र आत्मनिर्भर एउटा दुर्लभ मानवलाई सामाजिक सुरक्षाको नाममा भिखारी बनाएका छौँ । उसको जंगल हामीले खोस्यौँ । उसको पूर्वजले चर्चेको अपार कर्णाली र सुदुर पर्वतका जंगलहरुमा हामी आफ्नो नाम लेखायौँ । साँध बाँधेर सामुदायिक बन बनायौँ । कति त कबुल गरेर कबुलियती बनायौँ । राउटेको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनीतिक सम्प्रभुताको लुटपाट गर्यौं । कहिले राज्यधिकारीको भाउँतो देखाई आवास तथा संरक्षण भत्ता बाड्यौँ । कहिले एनजीओको खोल ओढेर समाजसेवाको नाटक रच्यौँ अनि खसी र चामल बाँड्यौँ । कहिले राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया बजारमा राउटे बेच्न लाज पचायौँ । हिमालको कुनामा थुप्रै एसियन सभ्यताको संगम नेपाल संयोगले बनेको होइन । यहाँ थुप्रै सभ्यताको संगम मात्र होइन, रचना पनि भएको छ । आजको आधुनिक मानव जातिले पार गरेको आदिम मानव जीवन हेर्न एमेजनको घना जंगल जानु पर्दैन । हामीसँग छ । विश्व समुदायको अघि उभिएर त्यो जीवन्त आदिम मानव संस्कृति हेर्न नेपाल आऊ ।

हामी दुरुस्त जोगाएर राखेका छौँ भन्ने दाबी नेपालले बडो गौरबका साथ भन्न सक्थ्यो । आज करिब करिब गुम्ने अवस्थामा पुगेको छ । यो मुलुकले चुकाउनेवाला ठूलो क्षति हो ।

पृथ्वीमा अस्तित्वमा रहेका मानव जाति एकै पटक आजको एआई (आर्टिफिसियल इन्टेलीजेन्स) युगमा पुगेका होइनन् । हामी पनि एआई युगमा पुग्न अझै समय कुर्नु पर्छ । दुनियाँको केही समाज त्यहाँ पुगेको छ । पृथ्वीका केही मानव बाँचेको युगका हिसाबले केही हामीभन्दा अघि छन् । त्यही भएर नै हामी अति कम विकसित भएका हौँ । हामी भन्दा पनि पछाडि थुप्रै मानव समुदाय छन् । केही अझै पनि कविला युगमा छन् । कोही भर्खरै खोरीया खेती र पशुपालनमा आउँदैछन् । यो समय क्रममा बिस्तारै हुने कुरा हो । उद्विकासको सिद्धान्तले त्यही भन्छ ।
नेपालकै कुशुन्डा स्वस्फुर्त रुपमा ग्राजुयट भएको छ । हामी बाँचिरहेको युगमा प्रवेश गरेको छ । राउटेलाई हामी जवर्जस्ती स्थापित गर्न खोज्यौँ तर त्यो प्रभावकारी भएको छैन । उसको स्वाधीनता र स्वतन्त्रता खोसेर माग्ने र दीनहीन बनाउने कोशिस गर्दैछौँ ।

कहिले सभ्यताको धक्कु देखाउन उसलाई सहर बोलाउँछौँ । अनि उसलाई कन्फ्युज बनाउँछौँ । कहिले नवप्रवर्तनको दुरुपयोग गर्दै जंगलको ज्यालादारी चौकिदार नियुक्त गर्छौं । जंगलमा जन्मेर त्यहीँ हुर्केको र हज्जारौँ पुस्तादेखि जंगलको बारेमा अथाह ज्ञान बटुलेको जंगलको राजालाई हामी चौकिदारभन्दा ठूलो ठान्दैनौ । जंगलको जीवनचक्रसँग पुस्तौँपुस्ता बिताएको छ उसले । उसको आदिवासी ज्ञान आजको वातावरणीय पारिस्थितिक प्रणाली संरक्षणमा विश्वलाई चाहिएको छ । हामी उसले निर्माण गरेको आदिवासी ज्ञानलाई नेपालको पेटेन्ट बनाउन सक्छौँ । नेपालको माटोमा रचना भएको ज्ञान विश्व बजारमा निर्यात गर्न सक्छौँ । हुन त हामी निर्यातभन्दा आयात गर्ने संस्कृति विकास गर्ने नै पर्यौं, उसको अनुपम ज्ञानलाई बेकार ठान्छौँ ।

राउटेले भोगेका समस्या:

राउटेलाई कतिपय सामुदायिक वनहरुले ससाना रुखका हाँगा काटेर छाप्रो बनाउने अनुमति दिएका छन् । त्यै पनि कतिपय ठाउँमा विवाद हुने र उनीहरुमाथि आक्रमण हुने गरेका छन् । उसको कुसी, सन्दुक तथा अन्य सामग्री बनाउन चाहिने काठ काट्न प्रतिबन्ध गरिएको छ । यसले उसको विनिमयको साधन बन्द भएको छ । जंगलमा ढेंडुगुना र बाँदर सिकार गर्न प्रतिबन्ध गरिएको छ । यसले उसको नैसर्गिक खाद्य अधिकारमाथि प्रतिबन्ध लागेको छ । जंगलका फलफूल तथा कन्दमूल टिप्न रोकिएको छ । यसले राउटेको स्वाधीन अर्थतन्त्रलाई नाकाबन्दी गरेको छ ।

राउटे संरक्षणका लागि अब के गर्न सकिन्छ ?

राउटेलाई जंगल हेर्ने चौकिदारको पद चाहिएको होइन । राउटेलाई भत्ता पनि चाहिएको होइन । राउटेलाई राहत पनि चाहिएको होइन । राउटेलाई आवास पनि चाहिएको होइन । राउटे निरीह मानव समुदाय होइन । उसलाई जंगलमा सहज पहुँच चाहिएको छ । बाँदरको सिकार गर्ने अवसर चाहिएको छ । उसलाई कन्दमूल खुला रुपमा खोज गर्ने स्वतन्त्रता चाहिएको छ । कुसी र सन्दुक तयार पारी विनिमय बजारमा पुर्याउन सिमल लगायतका रुख चाहिएको छ । कञ्चन पानीको मुहान चाहिएको छ । आफ्ना पूर्वजले चर्चेका अपार जंगल चाहिएको छ । आफ्नो पूर्वजले सिकाएको कला र ज्ञानको स्वच्छन्द अभ्यास गर्ने स्वतन्त्रता चाहिएको छ ।

के हामी नेपालको अन्तिम शिकारी तथा घुमन्ते मानवको संरक्षण गर्न उसको प्राकृतिक वासस्थान फिर्ता दिन तयार छौँ ? के हामी १२ हजार वर्ष अघि हामीले बिताएको जीवन्त जीवन हेर्न जीवित संग्राहलय हाम्रै देशमा बचाइराख्न तयार छौँ ? के हामी लोपोन्मुख मानव समुदायको संरक्षण गर्न रैथाने विधिको अभ्यास गर्न तयार छौँ ? छैनौँ भने नेपालको संविधानको धारा ३७ मा प्रत्याभुत गरिएको आवासको हक तथा २०६५ साल भदौ २९ गतेदेखि लागू भएको आइएलओ १६९ अभिसन्धिलाई दोहोर्याएर पढ्ने कि ? राउटेलाई जवर्जस्त मगन्ते र गरिब बनाएर होइन, सुखी शान्ति र सभ्य समाजको निर्माण गरी उसलाई स्वस्फूर्त हाम्रो युगमा प्रवेश गर्न हार्दिक आह्वान गरौँ । ऊ तयार नहोउञ्जेल उसलाई उसका पूर्वजले चर्चेको अपार प्राकृतिक बासस्थान स्वच्छन्द रुपमा उपभोग गर्न दिऊँ । एउटा भिन्न मानव उद्विकासको चरणमा बाँचिरहेको मानव समुदायलाई कथित आधुनिकता र विकसित नामको दम्भले अपमान नगरौँ, यसले हामीलाई शोभा दिदैन ।