काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ ।
बास्तोला पत्नी हिमाद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो ।
‘यसमा के कसो भएको हो ? निवेदकले माग गरेबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।’
आदेशमा बास्तोलामाथि कुनै कसुरमा अनुसन्धान भइरहेको भए त्यसको सक्कल मिसिलसमेत बुझाउन भनिएको छ । बाँसतोलासहित विप्लव समूहका चार नेतालाई प्रहरीले गत २९ पुसमा ललितपुरबाट पक्राउ गरेको थियो ।