• जेष्ठ २८ २०८२, मंगलवार

मनाङमा लागेको आगो निभाउन मुस्किल

माघ १५ २०७७, बिहीबार

मनाङको नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन । आगोले बृहत रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोली आगो निभाउन दिनभर खटेको थियो ।

मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोँचे खतरामुक्त रहेको छ । आगो मानवबस्ती नजिकै आइपुगेकाले निभाउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उनले बताए । उनले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताए ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ । धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी जलेको छ । यो समाचार तयार पार्दासम्म एउटा डाँडो पूरै जलिसकेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । भिरालो भौगोलिक बनावटका कारण आगो निभाउन कठिन भएको उनको भनाइ थियो ।

आगोको लप्का र ढुङ्गा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि १०० जनाको टोली आगो निभाउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनले भने, “अहिले हामी बस्ती जोगाउने प्रयासमा छौँ, बस्तीभन्दा १०० मिटर टाढा मात्रै आगो छ ।” उनले नयाँ दाउरा,घाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने आशङ्का व्यक्त गरे ।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुनसक्ने बताए । उनले ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा निभाउन गाह्रो परेको बताए । गौतमले भने, “अहिले पनि हामी आगोसँग आगो जुधाएर नियन्त्रणमा दिने प्रयास गर्दै छौँ ।” यसैबीच सदरमुकाम चामे नजिकै तलेखुमा लागेको आगो निभाइएको गौतमले जानकारी दिए ।