१४ माघ, काठमाडौं । पुष ५ गतेपछिको विकसित राजनीतिक घटनाक्रम र त्यसले निम्त्याएको गम्भीर परिस्थितिका कारण यतिबेला देश आन्दोलनमा रुपान्तरण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद ‘कू’ गरेसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । ‘केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूह ।’
नेकपा अध्यक्षद्वय दुई समूहमा विभाजित भएसँगै प्रचण्ड–नेपाल समूहले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । उक्त समूहले सोमबार प्रेस विज्ञप्ति जारी गरेर थप देशव्यापी आन्दोलनको घोषणा गरेको छ । उसले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै सरकार, केपी शर्मा ओली र उनको कदमविरुद्ध सबैलाई एकजुट भएर आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरेको छ ।
यसअघि उसले पहिलो चरणको आन्दोलनमा आफ्ना हजारौँ नेता तथा कार्यकर्ता जम्मा पारेर रत्नपार्कमा विरोध ¥याली गरिसकेको छ । त्यस्तै दोस्रो चरणको आन्दोलनको सुरुवात मंगलबारदेखि सुरु गरिएको छ । मंगलबार राजधानींमा आफ्ना सयौँ नेता तथा कार्यकर्ता बटुलेर सिठ्ठी जुलुसद्धारा विरोध सभाको सुरुवात गरेको छ ।
दोस्रो चरणको आन्दोलन माघ २८ गते अन्त्य गर्ने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताएका छन् । आन्दोलनको समापनमा देशैभरबाट आफ्ना लाखौँ नेता तथा कार्यकर्ता राजधानीमा उतारेर विरोध प्रदर्शन र सभा गर्ने श्रेष्ठले जानकारी दिए ।
त्यस्तै विघटित संसदविरुद्ध नेपाली काँग्रेस र जनता समाजवादी पार्टीलगायत अन्य साना दलहरूले पनि आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले अब चरणबद्ध आन्दोलन तथा विरोध सभा, ¥याली गर्ने भन्दै कार्यक्रमको तालिका समेत सार्वजनिक गरिसकेका छन् ।
प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीलगायतका साना दलहरूले देशव्यापी आन्दोलनको घोषणा गरेसँगै ओली रन्थनिएका छन् । उनलाई यतिबेला आफ्नो समूहले आयोजना गरेका कार्यक्रममा जान भ्याइनभ्याइ छ ।
ओली यतिबेला सरकारको कामकारबाही गर्नुभन्दा पनि आफ्नो समूहका कार्यक्रममा मनमौजी भाषण गर्नमा व्यस्त छन् । उनी आफ्नो समूहको सदस्यता कसरी बढाउने भन्नेमा तल्लिन छन् । बरु उनलाई सरकारी कामकाजको कुनै प्रवाह नै छैन ।
उनी सरकारी कामकारबाही छोडेर आफ्नो समूह कसरी बिस्तार गर्ने मनसायमा देखिन्छन् । दुई तिहाइ बहुमतको सरकार, उक्त सरकारको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै हातबाट देशलाई अस्थिरतातर्फ धकेल्न तत्पर देखिएका छन् ।
जनताले दिएको पाँच वर्षे म्यान्डेटलाई ओलीले लत्याइ दिएका छन् । उनीले पार्टीभित्रको आन्तरिक कलह मिलाउन नसकेर रिसको झोकमा पुष ५ गते संसद विघटन गरिदिएका हुन् । संसद विघटन गरेसँगै प्रचण्ड–नेपाल ओलीबाट चिडिएका छन् ।
प्रचण्ड–नेपाल नराम्ररी चिडिएपछि ओली अल्पमतमा परेका छन् भने उनीविरुद्ध देशव्यापी आन्दोलन भैरहेको छ । उनको विचलन कार्यशैली र हर्कतका कारण सडकमा विभिन्न राजनीतिकर्मी, अधिकारकर्मी, नागरिक समाज आन्दोलित भएका छन् ।
सडक तातेको र आफ्नो समूह एउटा झुण्डमा परिणत हुँदै केही दिनअघि पूर्वजनमुक्ति सेनाको केही समूहलाई आफ्नो समूहमा समाहित गरेका छन् । योसँगै ओलीले प्रतिबन्धित नेकपा ‘विप्लव’लाईसमेत फकाउन थालेको प्रचण्ड–नेपाल समूह स्रोतको दाबी छ ।
स्रोतका अनुसार ओलीले विप्लवलाई आफ्नो समूहमा समाहित हुन भन्दै पत्राचार गरेका छन् । तथापि विप्लवले उक्त पत्रको जवाफ हालसम्म नदिएको बताइएको छ ।
विप्लवलाई पठाएको पत्रको जवाफ नआए ओलीले आफ्ना दुत पठाएरै भए पनि उनीसँग पार्टी एकता गर्ने मनसाय बनाएका छन् । यदि विप्लव आफ्नो पार्टीमा समाहित हुने भए तत्काल प्रतिबन्ध फुकुवा गर्नेसमेत उनले पत्रमा उल्लेख गरेको स्रोतले बताएको छ ।
यता विप्लवले हालसम्म विघटित संसदपक्ष वा विपक्षमा कुनै आधिकारीक धारणा भने सार्वजनिक गरेको छैनन् ।