काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय राज्य दिन्छु भनेर जनतालाई झुक्याउनेहरुले आफ्नो स्वार्थका लागि जनतालाई सिढी बनाएको आरोप लगाउनु भएको छ ।
नेकपा निकट आदिबासी जनजाति महासंघ, नेपालको भेलालाई बुधबार यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशमा साम्प्रादायिकता ल्याएर देश विखण्डन गर्न खोज्नेहरुको सपना विफल भएको बताउनुभएको छ ।
नेपाल विविध जाति र समुदायले भरिएको विविधतायुक्त राज्य भएकाले त्यसलाई त्यहीरुपमा सम्मान गर्न आवश्यक रहेको बताउनुभयो । जातीय राज्य दिन्छु भन्नेहरुको झेली कुरा ढिलोचाँडो जनताले बुझेकाले उनीहरुको अभियान असफल बनेको उहाँले चर्चा गर्नुभयो ।
छिमेकी मुलुक भारत र चीन दुवैसित नेपालको सम्बन्ध राम्रो भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीसँग सम्बन्ध सुधार्नु राष्ट्रवाद हो, विगार्नु राष्ट्रवाद होइन ।” चुच्चे नक्सा सरकारले छाप्दा नाटकको संज्ञा दिनेहरुलाई उहाँले सोध्नुभयो, “तपाईहरुले आफ्नो कार्यकालमा किन छाप्न सक्नुभएन ?, हामी हाम्रो भूभाग फिर्ता ल्याइछाड्छौं ।” वार्तामार्फत नै भूभाग फिर्ता लिने उहाँले प्रष्ट पार्नुभयो । ५९ वर्षअघि भारतले हाम्रो भूभाग आफ्नो हो भनेर दावी गरेको थियो, यत्तिका वर्षसम्म धेरै सरकार बन्यो नेपालमा तर कसैले किन कुरा उठाएन ? जिज्ञासा गर्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “हाम्रो भूभाग हो भन्ने के अरु सरकारलाई थाहा थिएन, चीनसँग पारवाहन सम्झौता गर्न किन ध्यान गएन ?” हामीले देशको पक्षमा काम गर्दा नाटक देख्नेको दृष्टिदोष भएको उहाँले बताउनुभयो ।
जातीय रुपमा देश टुक्र्याउने दुस्प्रयास गर्नेहरुसँग सचेत रहन प्रधानमन्त्रीले आग्रह गर्नुहुँदै जातीयताले देशमा विखण्डन आउने बताउनुभयो । “रुवाण्डाको दुई जाति हुतु र तुत्सीबीच लडाई हुँदा सँगै बसेका जनताबीच फुट आएर तीन महिनामा दस लाख मानिस मारिए” उहाँले चर्चा गर्नुभयो । यस्तो अवस्था नेपालमा आउन दिन नहुने उहाँले बताउनुभयो ।