कर्णाली प्रदेशस्थित कालिकोट जिल्लामा रहेका कालिकोटे जनताको मुख्य पेसा कृषि हो । भूगोलका हिसाबले यो १७४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सन् २०११ को जनणनाअनुसार २३,०१३ घरधुरी र १,३६,९४८ पुरुष र ६८,८३३ महिला ६८११५ रहेका छन् । यहाँको मानिसको आयु सरदर ४० वर्ष रहेको छ । यसो हुनुको कारण गरिबी र सन्तुलित आहाराको अभाव हो ।
जिल्लाको नामाकरण:
वि.सं. २०१८ साल अघि अहिलेको कालिकोट जिल्ला राणाकालीन संवैधानिक कानुन, २००४ अनुसार ३२ जिल्ला अन्तर्गतको जुम्लामा पर्दथ्यो । वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएपछि कर्णाली अञ्चलका ५ जिल्लामध्ये तिब्रिकोटको रूपमा यस जिल्लाको नामाकरण गरियो ।
पछि आएर २०३२ साल मंसीर २६ गते मात्र कालिकोट जिल्लाका रुपमा नामाकरण हुन गएको हो । यो जिल्लाको नामाकरणको सन्दर्भमा विभिन्न भनाइ भए तापनि कालिकोटको मुग्राहा गा.वि.स.को कालिका गाउँमा अवस्थित कालिदेवीको मन्दिर (माडु)बाट नै यस जिल्लाको नाम कालिकोट रहन गएको हो भन्ने जनधारणा रहेको छ ।
यसअघि यस जिल्लालाई तिब्रिकोट भनिन्थ्यो । त्यसैले पनि यस जिल्लालाई नेपालको कान्छो जिल्ला मानिन्छ । विसं २०३४ सालमा जुम्ला जिल्लास्थित तिब्रिकोट गाउँपञ्चायत विस्थापित भई यसको नाम बनेको हो । यस जिल्लालाई विस २०३२ सालमा छुट्टयाउने निर्णय भए तापनि जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालय विधिवत रुपमा २०३४ सालमा स्थापना गरिएकाले यसको कार्यान्वयन ढिला गरेर हुन गएको हो ।
मान्मबाट खाँडाचक्र सारियो सदरमुकाम:
सुरुमा मान्म गाविस-३ मान्म गाउँलाई जिल्ला सदरमुकाम कायम गरिएको थियो भने विस २०४० सालदेखि सोही गाविसको वडा नं ५ स्थित खाँडाचक्र डाँडामा सदरमुकाम सारियो । मल्ल वंशका अन्तिम राजा मलैब्रह्मको दरबार यही खाँडाचक्रमा थियो भन्ने गरिन्छ । यो ठाउँलाई सामरिक हिसाबले महत्वपूर्ण ठानिन्छ ।
सदरमुकाम सारिएको यो ठाउँमा पुरानो दरबारको भग्नावशेष हाल पनि देख्न सकिन्छ । सुरुमा ३३ गाविस रहेको कालिकोट जिल्ला पछि केही साँगुरिन गयो । यो जिल्लाको उत्तर पश्चिममा रहेका साप्पाटा, जुकोट र बाइगाविस वि.सं. २०३८ सालमा बाजुरा जिल्लामा गाभिएपछि यो केही साँगुरो हुन गएको हो ।
स्थानीय सरकार:
तीनवटा गा.वि.स. छिमेकी जिल्लामा गाभिएपछि मात्र ३० वटा गा.वि.स. रहेको यस जिल्लामा ३ नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय सरकार रहेका छन् । यी ९ वटा स्थानीय सरकारभित्र ८३ वटा वडाहरु रहेका छन् । यस जिल्लाको पूर्वमा जुम्ला, पश्चिममा अछाम, उत्तरमा बाजुरा र मुगु तथा दक्षिणमा दैलेख र जाजरकोट पर्दछन् ।
विविधताको जिल्ला:
समुद्री सतहदेखि ७३० मिटर उचाइमा रहेको खुलालुदेखि ४,७९० मिटर उचाइमा रहेको चुलिमालिका लेकसम्मका विभिन्न भू-भाग यसले समेटेको छ । भौगोलिक विविधताको धनी जिल्ला कालिकोट उपोष्ण प्रदेशीय क्षेत्रदेखि शितोष्ण प्रदेशीय क्षेत्रसम्म रहेको छ । भूगोल तथा तथा हावापानीमा रहेको विविधतासँगै यहाँ खेती गरिने बाली र वस्तुहरुको उत्पादनमा पनि विविधता पाइन्छ ।
यहाँको भौगोलिक विशिष्टता तथा हावापानी अनुकूलताको आधारमा बालीनालीको बीउविजन तथा वस्तुहरुको छनौट गरिनु जरुरी छ । हालसम्म स्थानीय जातका साथै उन्नत जातका बालीनाली पनि प्रयोगमा आइरहेका छन् । स्थानीयभन्दा उन्नत जातका बालीनालीबाट स्थानीय किसान केही बढी लाभान्वित हुने पनि गरेका छन् ।
तथापि उन्नत बीउविजनका साथै बालीनालीबाट गुणात्मक तथा मात्रात्मक फाइदा लिनका लागि उत्पादनमा नयाँ प्रविधिको विकास र प्रयोग गरिन पनि जरुरी हुन गएको छ । यसका लागि प्रचार–प्रसार गरिनु पहिलो आवश्यकता बन्न गएको छ । योसँगै बनेका अरु जिल्लाहरु कृृषि उत्पादनमा केही अघि बढिसकेका छन् । देशका अरु धेरै ठाउँ घुम्दैगर्दा र आफ्नो ठाउँको र अरूको ठाउँको तुलना गर्दा यस्तो अनुभूति हुने गर्दछ ।
उत्पादनमा मौलिकता:
तर अरु जिल्लामा भैरहेका मात्रात्मक उत्पादनमा गुणको ह्रास आउँदै गरेको पनि देखिन्छ । उत्पादनमा गुणस्तर हेर्दा कालिकोटको राम्रो देखिन आएको छ । तर यसको मात्रात्मक अभिवृद्धिका लागि सोचिनु पर्दछ । भौगोलिक विविधता र तदनुरुपको हावापानीअनुसार यो जिल्लामा आँपदेखि स्याउ र ओखरसम्म उत्पादन हुन्छ । तर उत्पादित बस्तुहरुको बजारीकरणको समस्या छ ।
कृषि उत्पादनले व्यवस्थित बजार नपाउँदा किसान उत्साहित देखिदैनन् । यहाँ अहिलेसम्म केही मात्रामा वस्तु विनिमयको चलन पनि रहेको छ । उत्पादित वस्तु कोसेलीका रुपमा लिनेदिने चलन पनि कायमै छ । त्यहाँको स्थानीय उत्पादन फलफूल, तरकारी र जडिबुटीदेखि लिएर सबै कुराको स्वादमा मौलिकता र स्थानीयपन छ । अन्य जिल्लाको भन्दा धेरै नै राम्रो र फरक पनि छ ।
संभावना बोकेको जिल्ला:
कालिकोट भनेर मान्छेले जति होच्याएर बोले पनि कालिकोटमा धेरै कुराको सम्भावना छ । यो कर्णाली प्रदेशको अति नै राम्रो र धेरै सम्भावना बोकेको जिल्ला हो । कर्णाली नदी र तिलानदीमा जलविद्युत उत्पादन गर्न सकिने ठूलो सम्भावना देखिन्छ । तर कालिकोटका नेता र प्रतिनिधिको यसमा चासो तथा पहल हुनु अति जरुरी छ । यो जिल्लाको समग्र विकासका लागि युवामुखी योजना तथा कार्यक्रम बनाउन जरुरी देखिन्छ ।