• जेष्ठ २७ २०८२, सोमबार

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारबाहीमा

माघ १० २०७७, शनिबार

धनगढी । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, छ हजार ५४ ट्र्याक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी साधन कारवाहीमा परेका छन् ।

छ महिनाको अवधिमा सबैभन्दा बढी मङ्सिर महिनामा आठ हजार ३४० र कम भदौमा तीन हजार ५५६ सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट रु दुई करोड २८ लाख ६७ हजार ५०० राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउदले जानकारी दिए ।

“अघिल्लो आवको छ महिनामा ३५ हजार ९६१ सवारी साधन कारवाहीमा पर्दा रु दुई करोड ११ लाख ७१ हजार ५०० राजस्व सङ्कलन भएको थियो”, प्रहरी निरीक्षक साउदले भने, “अघिल्लो आवको तुलनामा यस वर्षको छ महिनामा तीन हजार ४३२ सवारी साधन बढी कारवाहीमा परेका छन् । जसमा गत वर्षभन्दा रु १६ लाख ९६ हजार राजस्व वढी सङ्कलन भएको देखिन्छ ।”