काठमाडौं । माघ १५ गतेदेखि शालीनदी मेला लाग्दैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा यस वर्ष भने सहभागी हुने माधवनारायण व्रतालुलाई कोरोनाको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।
कोरोना संक्रमणको जोखिम बढिरहेको बेला व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने श्री माधवनारायण व्रत तथा शालीनदी समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ । समितिले निमोनियाको लक्षण छ कि छैन भनी एक्स–रे रिपोर्टसमेत साथमा हुनु अनिवार्य गरिएको जानकारी दिएको छ ।
यस वर्ष माधवनारायण व्रत गर्न चाहनेलाई माघ १० गतेदेखि १२ गतेसम्म नाम दर्ता गर्न पनि समितिले आह्वान गरेको छ । विश्वस्वास्थ्य सङ्गठनले सिफारिस गरेका विभिन्न रोगका बिरामीलाई व्रतमा सहभागी नगराइने समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए। १२ गतेसम्म नाम लेखाएकालाई १३ गते कोरोना परीक्षण गरेपछि मात्र व्रतमा सहभागी गराइने अध्यक्ष श्रेष्ठले बताए ।