• बैशाख १० २०८२, बुधबार

सप्तकोशीमा आकस्मिक सेवा शुरु

माघ ७ २०७७, बुधबार

सप्तरीको सप्तकोशी नगरपालिकामा २४ घण्टे आकस्मिक सेवा शुरु भएको छ । स्वास्थ्यचौकीमा एमबिबिएस चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने र प्रयोगशालालगायतका सेवासमेत रहने बताइएको छ ।

सप्तकोशी नगरपालिकास्थित स्वास्थ्यचौकी फत्तेपुरमा २४ घण्टे आकस्मिक सेवा शुरु गरिएको नगरपालिकाका प्रमुख उत्तम शर्माले बताए। यसअघि पाँच श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको स्वास्थ्यचौकीमा २४ घण्टे आकस्मिक सेवा शुरु भएपछि सप्तकोशी नगरपालिकाको ११ वटै वडा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी गढी र बेलका नगरपालिकाका बासिन्दालाई समेत सुविधा पुग्ने स्वास्थ्यचौकी प्रमुख राजकुमार दासले जानकारी दिए ।

नगर प्रमुख शर्माले चाँडै नै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याइने बताए । नगरपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइरहेको र फागुनभित्र शिलान्यास गरिने नगर प्रमुख शर्माले प्रतिबद्धता जनाए । शर्माले भने, “अस्पतालका लागि चाहिने आवश्यक उपकरण स्वास्थ्य सेवा विभागले उपलब्ध गराउने आश्वासन दिएको छ ।” कुनै पनि व्यक्ति पैसा र सवारी साधनको अभावमा आकस्मिक सेवा लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले २४ घण्टे आकस्मिक सेवा कार्यक्रम शुरु गरिएको नगरपालिकाकी उपप्रमुख आशा चौधरीले बताए ।