समाचार टिप्पणी । शुक्रवार दिउँसो धनगढी सभालाई संबोधन गरेपछि रातको पूरै समय सुदुर पश्चिमका सांसदहरुलाई फकाउने कार्यक्रममा ओली पक्षीय नेताहरु व्यस्त रहेको खुल्न आएको छ । पूर्वकार्यक्रमअनुसार केन्द्रीय नेताहरु प्रदेश सांसदहरुसँग अलि बढी नै खुलेर अन्तरंगका कुरासम्म गर्ने र उस्तै परे सांसदहरुका समस्याहरु पनि सामाधान गरिदिने सोचमा रहेका देखिएका छन् ।
आज रातको धनगढी बसाइ दुवै पक्षका लागि ‘यताका उता र उताका यता’ हुने हुन् कि भन्ने दोधार र आशंकाको रात हुने भएको छ । काठमाडौंमा बसेका प्रचण्ड-ओली पक्षीय नेताहरु भौतिक रुपमा काठमाडौंमा रहे पनि मानसिक रुपमा धनगढी पुगेको अवस्था सिर्जना हुन पुगेको देखिन्छ । यति बेला आफ्ना मानिस कहाँ छन् र के गरिरहेका छन् भनेर फोनबाटै भए पनि ‘ग्वाला लाग्नुपर्ने’ थप दायित्व सिर्जना हुन पुगेको छ ।
त्यसो त धनगढी पुगेकै ओली पक्षीय नेताहरु पनि प्रदेश सांसदहरु को कहाँ छन् भनी खोजिनितिमा लागिपरिरहेका छन् । फोन लाग्ने बित्तिकै गार्डसहित सरकारी गाडी पठाएर झिकाई सौहाद्र्रपूर्ण भेटघाट तथा अन्तरंगका कुराकानी गर्ने तयारीमा रहेका छन् । तर खोजी गरेका सांसदहरुको फोन नलाग्दा उनीहरु पनि अमिलो हाँसोका साथ यता र उति गरिरहेका देखिन्छन् ।
कार्यक्रमको विरोधमा दिउँसै सडकमा टायर बालेर ओलीपक्षीय नेताहरुलाई तर्साउन लागिपरेका प्रचण्ड-माधव पक्षीय प्रदेश तथा स्थानीय नेता तथा कार्यकर्ता सांसद कहाँ र कुन बाटोबाट जालान् त भनी नाका कुरेर बसिरहेका भेटिन्छन् ।
ओली पक्षीय प्रदेश सांसदहरुको संख्या कम भएको र प्रचण्ड–माधव पक्षीय सांसदहरु अडिग रहेकाले ‘यताका उता र उताका यता’ हुने संभावना कम रहेको स्थानीयको बुझाइ छ । तर पनि ‘रात गए अग्राख पलाए’ भने झैं दुवै पक्षका बीचमा सांसद तानातान र झटारो हानाहान कायमै छ ।
धनगढी सभाको पूर्वसन्ध्यामा आर्थिक मामलामन्त्री झपट बोहराले प्रदेश सरकारबाट राजीनामा दिएपछि ओली पक्षीय र प्रचण्ड-माधव पक्षीय कित्तामा चर्को वैरभाव सिर्जना हुन पुगेको छ । तथापि कतिपयको भने ‘दूध पोखियो भागैमा’ भन्ने मानसिकता अझैं कायम रहिरहेकाले ‘बर्डर क्रस’ नहोला भन्न सकिने स्थिति छैन ।