• मंसिर १२ २०८३, शुक्रबार

झण्डै १४ लाख रकम ठगेको आरोपमा पूर्वमन्त्री यादवका नाति पक्राउ

मंसिर १२ २०८३, शुक्रबार

काठमाडाैं । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन्। पूर्वमन्त्री यादवकी छोरी सङ्गीता देवी यादवका छोरा करिब २५ वर्षीय सन्तुलनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ निवासी यादवले सोही वडाका अली भन्ने गुलाम गौससँग आमा बिरामी रहेको समस्या देखाउँदै पटक–पटक गरी १३ लाख ७० हजार ७  सय ५० रुपैयाँ ठगी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले पीडितबाट खल्ती एप, बैंक ट्रान्सफर तथा नगदमार्फत उक्त रकम लिएको प्रहरीको भनाइ छ।

पीडितले गुलाम गौले पटक–पटक रकम फिर्ता माग्दा यादवले आज भोलि भन्दै आश्वासन दिँदै आएको तर हालसम्म रकम फिर्ता नगरेको भन्दै प्रहरीमा उजुरी परेको जनाइएको छ।

यादवले पीडित गुलामसँग मात्र नभई अन्य धेरैजनासँग लाखौं रकम ठगी गरेको आरोप लागेको छ।
प्रहरीले गत आइतबार नै उनलाई पक्राउ गरे पनि राजनीतिक दबाबका कारण पक्राउबारे सार्वजनिक गर्न आनाकानी गरेको स्रोतको दाबी छ। यस विषयमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले भने मिर्चैया प्रहरीले पाँच दिनअघि नै यादवलाई पक्राउ गरे पनि आफूलाई पक्राउसम्बन्धी विवरण आज मात्रै प्राप्त भएको बताए।

सूचना अधिकारी पालका अनुसार पक्राउ परेका यादवमाथि एकजना व्यक्तिको मात्रै नभई अन्य धेरै व्यक्तिबाट समेत लाखौं रुपैयाँ ठगी गरेको आरोप छ। प्रहरीले उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच, पूर्वमन्त्री मातृका प्रसाद यादवले आफ्ना नातिलाई छुटाउन राजनीतिक दबाब बढाइरहेको स्रोतको दाबी छ। यद्यपि, यसबारे पूर्वमन्त्री यादवको आधिकारिक प्रतिक्रिया लिन खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् ।