✍️- निशा तामाङ
भर्जिनियाको मनासस पार्कमा श्रीमान् र सानी छोरीसँग बस्दै आएकी र नर्सका रूपमा कार्यरत थिइन् ममता काफ्ले । २८ वर्षीया ममता सन् २०२४ जुलाईको अन्त्यतिरदेखि सम्पर्कविहीन भएकी थिइन्। काममा उपस्थित नभएपछि उनका सहकर्मी तथा आफन्तले खोजी सुरु गरेका थिए। पछि नरेशले नै उनी हराएको जानकारी प्रहरीलाई दिएका थिए।
आफ्नै श्रीमान् नरेश भट्टबाट हत्या भएको अभियोगमा चलेको मुद्दामा २०२६ नोभेम्बर १० मा प्रिन्स विलियम काउन्टीको जुरीले ३९ वर्षीय नरेश भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव अपवित्र बनाएको तीनवटै अभियोगमा दोषी ठहर गरेको छ। अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्लेको हत्या प्रकरणमा करिब छ हप्ता चलेको सुनुवाइपछि आएको यो फैसलाले नेपालदेखि अमेरिकासम्मका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।
व्यापक खोजी र अनुसन्धान भए पनि ममताको शव अहिलेसम्म फेला परेको छैन। यस मुद्दामा सबैभन्दा चुनौतीपूर्ण पक्ष ममताको शव नभेटिनु थियो। शव नभेटिएको अवस्थामा हत्या प्रमाणित गर्न अभियोजन पक्षले वैज्ञानिक, डिजिटल र परिस्थितिजन्य प्रमाणको बलियो श्रृङ्खला अदालतसमक्ष प्रस्तुत गर्नुपर्ने थियो। यही चुनौतीपूर्ण परिस्थितिमा सरकारी पक्षकी वरिष्ठ सहायक अभियोजक सारा सामी (Sarah Sami) ले गर्नुभएको बहस र कानुनी पैरवी विशेष चर्चाको विषय बनेको छ।
सारा सामीको प्रभावकारी बहस: अभियुक्तको दाबीमाथि तथ्य र प्रमाणको प्रहार
अदालतमा बयान दिने क्रममा नरेश भट्टले ममता घरको शयनकक्षमा अचेत अवस्थामा भेटिएको, उनले आत्महत्या गरेको हुन सक्ने र आफूले बचाउन नसकेपछि डरका कारण शव टुक्रा पारी विभिन्न फोहोरका झोलामा राखेर फालेको दाबी गरेका थिए। उनले शव टुक्रा पारेको र फालेको स्वीकार गरे पनि ममताको हत्या आफूले नगरेको जिकिर गरेका थिए।
तर सरकारी पक्षकी वकिल सारा सामीले अन्तिम बहसमा उनको आत्महत्यासम्बन्धी दाबीलाई अस्वीकार गर्न जुरीसमक्ष आग्रह गरिन्। उनले अभियुक्तले अनुसन्धानका क्रममा दिएका फरक–फरक बयान, घटनापछिका गतिविधि र अदालतमा प्रस्तुत गरेको कथनबीचका विरोधाभासलाई औँल्याइन्।
सामीले ममता बेपत्ता हुनुभन्दा १६२ दिनअघि नरेशले उनलाई पठाएको सन्देश पनि बहसमा उठाइन्। उक्त सन्देशमा ‘तिमीले धेरै पछुताउनुपर्ने दिन आउँदै छन्’ भन्ने आशयको धम्कीपूर्ण भाषा प्रयोग भएको थियो। सामीले उक्त सन्देशलाई घटनाको पृष्ठभूमिसँग जोड्दै अभियुक्तको नियत र वैवाहिक सम्बन्धमा रहेको तनावबारे जुरीको ध्यानाकर्षण गराइन्।
वैज्ञानिक प्रमाणलाई जोडेर सत्य स्थापित गर्ने प्रयास
अभियोजन पक्षले अदालतमा आरामा भेटिएको डीएनए, शयनकक्षको कार्पेटमा भेटिएको रगत तथा जैविक नमुना, निगरानी क्यामेराका दृश्य, मोबाइल फोन र गाडीको गतिविधि, सरसफाइका सामग्री तथा फोहोरका झोलासम्बन्धी प्रमाण प्रस्तुत गरेको थियो।
आरामा भेटिएको नमुनाको डीएनए ममताको डीएनएसँग मेल खाएको वैज्ञानिक परीक्षणले देखाएको थियो। शयनकक्षको कार्पेटमा भेटिएको रगतको नमुनामा पनि ममता र उनकी छोरीको डीएनएसँग बलियो मेल देखिएको अभियोजन पक्षले प्रस्तुत गरेको थियो। त्यस्तै, नरेशले फोहोरका झोला तथा सरसफाइका सामग्री किनेको र विभिन्न फोहोर विसर्जनस्थलमा गएको देखिने निगरानी दृश्य तथा फोन र गाडीको गतिविधिलाई पनि मुद्दासँग जोडिएको थियो।
प्रतिरक्षा पक्षले यी प्रमाणले हत्या भएको कुरा शंकाभन्दा पर प्रमाणित नगर्ने तर्क गरेको थियो। तर अभियोजन पक्षले सबै प्रमाणलाई एकआपसमा जोडेर घटनाको क्रम, अभियुक्तको व्यवहार र उनको बयानमा रहेका विरोधाभास स्पष्ट पार्ने प्रयास गर्यो। अन्ततः जुरीले अभियोजन पक्षको तर्क स्वीकार गर्दै नरेशलाई तीनवटै अभियोगमा दोषी ठहर गर्यो।
ममताको परिवारको पीडालाई अदालतसम्म पुर्याउने भावुक पैरवी
सारा सामीको अन्तिम बहसको सबैभन्दा भावुक पक्ष ममताको शव नभेटिएको कारण परिवारले भोग्नुपरेको पीडाको चित्रण थियो। उहाँले अभियुक्तले ममताको शव टुक्रा पारी फोहोरमा फालेको अभियोजन पक्षको दाबी उठाउँदै परिवारले अन्तिम संस्कार गर्नसमेत नपाउने अवस्थाप्रति जुरीको ध्यानाकर्षण गराउनुभयो।
उहाँले ममता अब जीवित नरहे पनि परिवारका लागि अझै बेपत्ता व्यक्तिकै अवस्थामा रहनुपर्ने पीडादायी यथार्थलाई प्रस्तुत गर्नुभयो। ममताको परिवारले उनको शव भेटेर अन्तिम बिदाइ गर्नसमेत नपाउने अवस्थालाई उहाँले अत्यन्त मार्मिक ढङ्गले अदालतसमक्ष राख्नुभयो।
ममताको शव लुरे, भर्जिनियास्थित फोहोर विसर्जनस्थलमा पुगेको अभियोजन पक्षको दाबी प्रस्तुत गर्दै उहाँले परिवारले जीवनभर बोकेर हिँड्नुपर्ने पीडालाई जुरीसमक्ष सम्झाउनुभयो। उहाँको बहसको मूल सन्देश ममता केवल एउटा मुद्दाको नाम नभई एउटी छोरी, आमा, श्रीमती र परिवारकी प्रिय सदस्य थिइन् भन्ने थियो।
सारा सामीको व्यावसायिक दक्षता, साहस र दृढताको प्रशंसा
कुनै पनि सरकारी वकिलको जिम्मेवारी भावनात्मक भाषण गर्नु मात्र होइन; प्रमाण, तथ्य र कानुनका आधारमा न्यायालयलाई निष्कर्षमा पुग्न सहयोग गर्नु हो। ममताको शव नभेटिएको र अभियुक्तले आत्महत्याको दाबी गरेको अवस्थामा हत्या प्रमाणित गर्नु अभियोजन पक्षका लागि निकै चुनौतीपूर्ण थियो।
यस्तो जटिल मुद्दामा सारा सामीले अभियुक्तको बयानमा देखिएका विरोधाभास, धम्कीपूर्ण सन्देश, वैज्ञानिक प्रमाण र परिवारको पीडालाई एउटै न्यायिक बहसमा जोडेर प्रस्तुत गर्नुभएको शैली प्रशंसनीय छ। उहाँले कानुनी तर्कसँगै मानवीय संवेदनालाई पनि उचित स्थान दिनुभयो। पीडितको आवाजलाई अदालतसम्म पुर्याउने, ममताको जीवन र परिवारको पीडालाई न्यायिक प्रक्रियामा महत्व दिने तथा जुरीलाई प्रमाणको समग्र अर्थ बुझाउने उहाँको प्रयासले उहाँको व्यावसायिक तयारी, साहस र जिम्मेवारीबोध देखाउँछ।
यस मुद्दामा अनुसन्धानकर्ता, वैज्ञानिक विशेषज्ञ, अन्य अभियोजनकर्मी र साक्षीहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण थियो। त्यसैले फैसलालाई एक व्यक्तिको मात्र उपलब्धि भन्न मिल्दैन। तर अन्तिम बहसमा सारा सामीले देखाउनुभएको स्पष्टता, आत्मविश्वास र प्रभावकारिता विशेष प्रशंसाको विषय बनेको छ। महिलाविरुद्धको हिंसासम्बन्धी गम्भीर मुद्दामा पीडितको पक्षमा तथ्य र प्रमाणका आधारमा दृढतापूर्वक उभिनु उहाँको उल्लेखनीय व्यावसायिक भूमिका हो।
फैसलापछि परिवार र समुदायमा राहत, तर सजाय भने बाँकी फैसला सुनिएपछि ममताका साथीहरू, परिवारका सदस्य र नेपाली समुदायका व्यक्तिहरूले अदालतबाहिर एकअर्कालाई अँगालो हालेर भावुक प्रतिक्रिया दिएका थिए। ममताकी साथी होली वर्थले सत्यको पक्षमा फैसला आएको भन्दै ममताकी सानी छोरीलाई आमाको अभावबीच राम्रो भविष्य दिन आफूहरूले सक्दो प्रयास गर्ने बताएकी थिइन्।
प्रिन्स विलियम काउन्टीकी कमनवेल्थ्स अटर्नी एमी एशवर्थले पनि फैसलालाई ममताको जीवन र उनको परिवारले भोगेको लामो पीडाका लागि महत्वपूर्ण न्यायिक उपलब्धि बताएकी छन्। उनले कुनै फैसलाले ममतालाई फर्काउन नसक्ने भए पनि परिवारलाई केही हदसम्म न्यायको अनुभूति गराउन सक्ने आशा व्यक्त गरेकी छन्।
अब धेरैको चासो नरेश भट्टलाई कस्तो सजाय हुन्छ भन्नेमा छ। भर्जिनिया राज्यमा मृत्युदण्डको व्यवस्था सन् २०२१ मै खारेज भइसकेको छ। प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ। शव लुकाएको र शव अपवित्र बनाएको दुई अभियोगमा प्रत्येकमा थप पाँच वर्षसम्म सजाय हुन सक्ने व्यवस्था छ। उनको अन्तिम सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ मा सुनुवाइ तय गरिएको छ।
ममता काफ्ले हत्या प्रकरणले दिएको गम्भीर सन्देश
ममता काफ्ले हत्या प्रकरण कुनै एक परिवारको दुःखमा मात्र सीमित छैन। यसले घरेलु हिंसा, वैवाहिक सम्बन्धभित्रको नियन्त्रण, महिलाको सुरक्षा र हिंसाका संकेतलाई समयमै गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता सम्झाएको छ।
श्रीमान् र श्रीमतीबीच विचार नमिल्न सक्छ, रुचि फरक हुन सक्छ, सामाजिक सञ्जालको प्रयोगबारे असहमति हुन सक्छ। कसैलाई सार्वजनिक जीवन मन पर्छ भने कसैलाई निजी जीवन। कसैलाई टिकटकमा नाच्न र भिडियो बनाउन मन पर्छ भने कसैलाई शान्त पारिवारिक जीवन मन पर्छ। तर यस्ता फरक रुचि र विचारका कारण अपमान, धम्की, नियन्त्रण वा हिंसा गर्ने अधिकार कसैलाई छैन।
वैवाहिक सम्बन्धमा मन मिल्नु राम्रो हो, तर मन नमिल्दा पनि एकअर्काको मन बुझ्नु अझ महत्वपूर्ण हुन्छ। श्रीमान् र श्रीमती एकअर्काका प्रतिस्पर्धी होइनन्, जीवनका सहयात्री हुन्। सम्बन्ध जोगाउने नाममा हिंसा सहनु पनि हुँदैन र असहमतिका नाममा हिंसा गर्नु पनि हुँदैन। सम्बन्ध सुरक्षित र सम्मानजनक बनाउन नसकिने अवस्था आएमा समयमै सहयोग खोज्नु र आवश्यक परे सुरक्षित रूपमा अलग हुनु उचित हुन्छ।
ममता काफ्ले अब आफ्नो परिवारमा फर्केर आउन सक्ने अवस्थामा छैनन्। उनकी छोरीले आमाको माया गुमाएकी छिन् र परिवारले उनको अन्तिम संस्कारसमेत गर्न नपाएको पीडा बोकेको छ। त्यसैले यो घटनालाई सनसनीपूर्ण समाचारका रूपमा मात्र होइन, घरेलु हिंसाविरुद्ध सचेत हुने गम्भीर सन्देशका रूपमा लिनुपर्छ।
सारा सामीको प्रभावकारी पैरवी र अदालतको फैसलाले ममताको आवाजलाई न्यायिक प्रक्रियामा स्थान दिलाएको छ। उहाँको कानुनी दक्षता, दृढता र पीडित परिवारको पक्षमा गरिएको संवेदनशील प्रस्तुतिप्रति सम्मान व्यक्त गर्नुपर्छ। ममताले भोगेको अन्याय फर्काउन नसकिए पनि उनको जीवन र कथालाई न्यायिक प्रक्रियामा बेवास्ता हुन दिइएन।