गोरखा। रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका सहिद लखन गाउँपालिकाका सात जनाका परिवारलाई एक लाख ५० हजार ७१० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
सहिद लखन गाउँपालिका–७, बुंकोटस्थित सुसारे गाउँ निवासी मिनबहादुर थापा मगरका छोरा लबबहादुर थापा मगर (हाल क्यालिफोर्निया, अमेरिका) ले उक्त रकम सहयोग गरेका हुन् ।
गत २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार २१ हजार ५३० रुपैयाँका दरले सहयोग रकम वितरण गरिएको हो।
सहिद लखन गाउँपालिकाको कार्यालयस्थित लखन थापा हलमा २०८३ कात्तिक १२ गते आयोजित कार्यक्रममा उक्त सहयोग रकम सम्बन्धित परिवारका सदस्यलाई हस्तान्तरण गरिएको थियो।
सहयोग प्राप्त गर्ने परिवारमा पुकार थापा मगर, राजेन्द्र श्रेष्ठ, कृष्ण थापा मगर, सुजन आले मगर, राजकुमार परियार, प्रदीप खड्का र चेतप्रसाद भट्टका परिवार रहेका छन्।
बाढीका कारण आफन्त बेपत्ता भएपछि पीडामा रहेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको हो।
विपद्को दुःखद् घडीमा पीडित परिवारप्रति मानवीय संवेदना देखाउँदै सहयोग उपलब्ध गराउनुभएका मिनबहादुर थापा मगर र उहाँका छोरा लबबहादुर थापा मगरप्रति गाउँपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।
