काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाइँदैछ। तिथि घटबढका कारण यस वर्ष दुवै पर्व एकैदिन परेको हो।
तिहारको तेस्रो दिन आज बिहान घरघरमा कुकुरको पूजा गरी फूलमाला लगाइदिने, टीका लगाउने तथा मीठामीठा खानेकुरा खान दिएर सम्मान गर्ने परम्परा छ। मानिसको विश्वासिलो साथी, घरको सुरक्षा गर्ने र आज्ञापालक जनावरका रूपमा कुकुरलाई विशेष महत्त्व दिँदै कुकुर तिहार मनाउने गरिन्छ।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिएमा यमराजको ढोकामा द्वारपालका रूपमा रहने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ। त्यस्तै, महाभारतमा धर्मराज युधिष्ठिरको स्वर्ग यात्रामा समेत कुकुरले साथ दिएको प्रसङ्गका आधारमा कुकुरको धार्मिक महत्त्व रहेको मानिन्छ।
आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ। घरआँगन सफा गरी दीपावली गर्ने, बत्ती तथा दियो बाल्ने र घरमा लक्ष्मीको आगमन हुने विश्वासका साथ पूजा गर्ने परम्परा छ।
यसैगरी आज नरक चतुर्दशी पनि मनाइँदैछ। धार्मिक मान्यताअनुसार बिहान अरुणोदयकालमा नदी, तलाउ तथा तीर्थस्थलमा स्नान र तर्पण गरी यमदीप दक्षिणतर्फ फर्काएर बालेर बगाउने चलन छ। यसरी बत्ती बालेर बगाउँदा मृत्युपछि नरकको दर्शन गर्नुनपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन्। उक्त विधिलाई ‘नरके बगाउने’ भनिन्छ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने परम्परा पनि रहेको छ। यसले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने आयुर्वेदिक मान्यता छ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको तिहारले मानिस र जनावरबीचको आत्मीय सम्बन्ध, आपसी सम्मान र सद्भावको सन्देशसमेत प्रवाह गर्दै आएको छ।