काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अहिलेको अवस्थाबाट पार लगाउन आन्दोलनको विकल्प नभएको बताएका छन् । उनले अहिले देशले स्वतन्त्रता उपयोग गर्न नपाएको र स्वाधीनता खण्डित भएको दाबी गरे ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई शपथ ग्रहण गराउँदै ओलीले देशलाई कम्तीमा स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने अवस्थामा पुर्याउन आन्दोलनको तयारी गर्नुपर्ने बताए ।
‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कम्तीमा स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’ ओलीले भने ।
उनले देशमा कोही पनि बोल्न नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको, गुण्डाराज चलिरहेको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए । यस्तो अवस्थालाई थप बिग्रन नदिन आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो ।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै ओलीले देशलाई अहिलेको संकटपूर्ण अवस्थाबाट पार लगाउने अभिभारा पनि पार्टीको काँधमा आएको बताए ।