संसारमा घट्ने अनौठा घटनामध्ये आमा र छोरीको उमेर मात्र पाँच वर्ष फरक भएको घटना अमेरिकाको हो । यो आधुनिक र सत्य घटना पनि हो । यस प्रक्रियामा आधुनिक विज्ञान र प्रविधिले काम गरेको छ ।
विज्ञान र प्रविधिले गर्ने काम कहिलेकाँही अप्राकृतिक पनि देखिन्छन् । तर आमा र छोरीको उमेर मात्र पाँच वर्षको फरक भएको भनिएको चाहिँ प्राकृतिक नै हो । आमाले जन्माएकी छोरी र उनको उमेर पाँच वर्षकै फरक रहेको छ ।
सन् १९९२ मा अमेरिकामा एक जोडीले लामो समयसम्म पनि सन्तान नजन्मिएपछि सन्तानको चाहना राखे । विज्ञान र प्रविधिले उनीहरूको चाहनामा साथ दियो । पुरूष र महिलाले आफ्ना अण्डाणु र शुक्राणुको मिलन गराएर केही समयपछि गर्भमा राख्ने निधो गरे ।
समय मानिसको बसभित्र छैन । समय फेरिइरहन्छ । मानिसलाई यसले बाध्यताको बगरमा दररर पारेर घिसार्छ, पछार्छ र लतार्छ । समय बित्दै गए । उनीहरूको चाहना पूरा हुन सकेन । ती दम्पत्ति अण्डाणु र शुक्राणु मिलन गराई राखेको प्रयोगशालामा कहिल्यै झुल्केनन् ।
उनीहले तयार पारेर राखेको अण्डाणु र शुक्राणुको मिलन माइनस १९६ डिग्री सेल्सियसको तरल नाइट्रोजनमा ‘फ्रिज’ भएर रहिराख्यो । यो मिलनको भ्रुण ३० वर्षको लामो निद्रामा सुतिराख्यो । प्रयोगशालाको एउटा सानो ट्युबभित्र लगातार ३० वर्षसम्म शितकालिन निद्रामा ।
यस बीचमा संसारमा धेरै परिवर्तनहरू आए । तात्कालिन अतिमहाशक्ति सोभियत रूस १५ गणराज्यमा टुक्राटुक्रा भयो । अमेरिकी ट्वीनटावर ध्वस्त भए । युरोपियन युनियन जन्मियो । मंगल ग्रहमा यानहरू पुगे । चीन–अमेरिका शीतयुद्धको सुरूवात भयो ।
प्रविधि एकाएक एआई प्रविधिमा बदलियो । पुस्ताहरू बदलिए । तर त्यो भ्रुण सन् १९९२ कै अवस्थामा सुरक्षित सहिरह्यो । तर दिन पनि जान्छन् रे, आउँछन् रे । कालचक्र रोक्ने विज्ञान अझैं उदाएको छैन । भ्रुणको पनि ३० वर्षपछि समय आयो ।
तर पुराना आमाबाबु कता हराए । बरू नयाँ आमाबाबुको आए । भ्रुण ३० वर्ष पुगेपछि ओरेगन राज्यका एका दम्पत्ति त्यहाँ आइपुगे । ती थिए, फिलिप र रेचल रिजवे । उनीहरू पनि निःसन्तान थिए । उनीहरू सन्तानको सुख पाउने आशामा थिए ।
अब समयचक्रले त्यो दिन जुराइदियो । गर्भमा प्रत्यारोपण गरिदिने शुभ निर्णय गरे । प्रयोग पनि चामत्कारिक हुन गयो । चिकित्सा विज्ञानको मद्दतले उक्त ३० वर्ष पुरानो भ्रुण जीवित हुन पुग्यो । रेचलको गर्भमा प्रत्यारोपण गरिएको त्यो भ्रुण विकसित हुँदै गयो ।
सन् २०२२ को अन्त्यतिर रेचलले स्वस्थ जुम्ल्याहा बच्चाहरू लिडिया र टिमोथीलाई जन्म दिइन् । त्यति बेला जन्म दिने आमाको उमेर मात्र ३५ वर्षको थियो । ३० वर्ष पहिलेको भ्रुण र ३५ वर्ष उमेर पुगेकी आमा रचेलको उमेर अन्तर मात्र ५ वर्षको थियो ।