• आश्विन २९ २०८३, बिहीबार

मगर र दशैँ

आश्विन २८ २०८३, बुधबार

– बलबहादुर घर्तीमगर – माया रोकामगर

पृष्ठभूमि

नेपालको राष्ट्रिय चाडको रूपमा स्थापित भएको दशैँ सांस्कृतिक पर्व हो भन्नेमा सबै तयार छैनन् । यो पर्व विशेषगरी आदिवासी समुदायबाट आलोचित छ। दशैँ हिन्दू धर्म र हिन्दू राज्य विस्तारको औजार बनेको आलोचकहरूको आरोप छ । यो सांस्कृतिक पर्व नभएर राजनीतिक हो भन्ने आदिवासी विद्वान्हरूको तर्क छ। प्राचीन कालदेखि दशैँ मनाउँदै आएपनि मगर सुमदायमा पनि दशैँको सम्बन्धमा विभिन्न धारणाहरू छन्।

के दशैँ हिन्दूहरूको पर्व हो ? के दशैँ आदिवासीहरूको पराजयको उत्सव हो ? के दशैँ आदिवासी मगरहरूले मनाउन नहुने हो ? के दशैँ साँच्चै सांस्कृतिक भन्दा पनि धार्मिक हो ? दशैँ र मगरबीचको सम्बन्ध के हो र यो कहिलेदेखिको सम्बन्ध हो ? दशैँ भन्नेवित्तिकै मौला र कोत स्वत आइहाल्छ । यी के हुन् ? यी विषयहरूमा केन्द्रित रहेर विभिन्न तथ्यहरूसहित विश्लेषण गरिने छ।

मगर र मौला

मौला शब्द ‘माउ’ र ‘ला’ दुई अलग शब्द मिलेर बनेको हो । माउ भनेको बितेको मानिस हो र ला भनेको देवता हो । मौला भनेको बितेका मानिसहरूको आत्मा सारिएको काठको स्तम्भ वा प्रतीक हो । मौला खयर, साल, पलाँस तथा बेललगायतका टिकाउ काठबाट निर्माण गरिन्छ । बमकुमारी बुढामगरले ‘मौला ल घोन’ पुस्तकमा मृतकको अन्तिम संस्कार गर्दा मृतकको मुखाकृत मिल्ने आकृति वा बलियो साधारण काठको प्रतीक तयार पारी पोखरी, चौतारी, चौबाटो, दोबाटोमा आत्मा प्रतिष्ठा गरी मृतकको सम्झनामा मौला गाडिन्छ र यसमा मानिसको आत्मा बस्ने गर्छ भनेर चर्चा गरेकी छन् । मगर समुदायमा बितेका पुर्वजहरूलाई देवताको रूपमा पूजा गर्ने गरिन्छ । मगर समुदायमा मूल व्यक्ति बितेमा उसको नामको मौला निर्माण गर्ने प्रचलन छ । पश्चिम नेपालका मगर समुदायमा आज पनि आफ्नो बितेका आफन्तका नाममा चौपारी, पाछा, पोखरीलगायतमा मौला र बिसौना निर्माण गरी उनीहरूको आत्मा प्रतिष्ठा गर्ने गर्छन् । यसरी चौतारीमा बनाइएको ढुङ्गाको चिनोलाई नाह् र काठको आकृति वा स्तम्भलाई मौला भनिन्छ ।

अठार मगरात क्षेत्रमा यस्ता मौलाहरू भएको स्थानलाई आज पनि मौलाकोट, कोटमौला, मौलावन, मौलाबाङ, मौलाबोट लगायतको नामले चिनिन्छ । बाह्र मगरातमा भने यी मौलाहरू मौलाभगवती, मौलाकालिका, मौलामाईको रूपमा व्यापक हिन्दूकरण भएका छन् ।

मगर समुदायमा आफ्ना पुर्वजहरूलाई बलि टक्र्याएर पूजा गर्ने परम्परा छ । बराहलाई साँढ, कुललाई बाह्र मगरातमा सुँगुर र अठार मगरातमा बोका, पितृलाई कुखुराको बलि दिने परम्परा छ । कोतघरको मौला पूजामा राँगाको बलि दिने परम्परा छ । यससँगै बोका, कुखुरा, परेवा, हाँसलगायतका पशुपक्षीको बलि दिने परम्परा पनि छ । धेरैजसो कोतको मौलामा राँगाको बलि दिने प्रचलन छ ।

ई.बी. टेइलरको Gift to the divine झैँ मगर परम्परामा मौलालाई बलि दिई खुसी पारेमा आफ्नो रक्षा एवम् मनोकामना पूरा हुने मगर समुदायमा विश्वास छ । इमाइल दुर्खिमले भनेझैँ मौलालाई दिने बलि सामाजिक एकता र दैवी शक्तिसँगको सम्बन्धको रूपमा मगर समुदायमा विकास भएको छ । हरेक वर्ष समुदाय भेला भएर कोतमा मौला अनुष्ठान गर्नु सामाजिक एकता र देवतासँगको सम्बन्धको विधि मान्न सकिन्छ । यति मात्र होइन, रेने जिरार्डको व्याख्याझैँ समाजभित्र उत्पन्न हुने आन्तरिक हिंसा, प्रतिस्पर्धा र ईर्श्यालाई बलिमा स्थानान्तरण गरी समाजलाई सुरक्षित र शान्त राख्ने कार्य कोतको मौला पूजामा प्रकट भएको बुझ्न सकिन्छ ।

राजेश भण्डारीले रातोपाटीमा हिन्दू पौराणिक साहित्यको सन्दर्भ उल्लेख गर्दै मौला ‘युप’ भएको र यसको अर्थ विजय स्तम्भ तथा बलि दिने ठाउँ भनेर अर्थ लगाएका छन् । भारतीय हिन्दू समुदायमा मौलाको कुनै चर्चा र अस्तित्व नभएकाले नेपालका कोतमा ठडिएका मौलाहरू पौराणिक साहित्य युपसँग कुनै सम्बन्ध रहेको देखिँदैन।

मौला मगरहरूको पुर्वजको स्तम्भ हो । मौलामा मगरको मूल व्यक्तिको आत्मा पारम्परिक रूपमा प्राण प्रतिष्ठा गरिएको हुन्छ । त्यसैले मौला नेपालको आदिवासी रैथाने मगर सभ्यताको अहम् भाग हो भन्न सकिन्छ । मौलालाई हरेक वर्ष पशुबलि चढाएर शुद्धीकरण र जीवन्त बनाउने विधि गरिन्छ । यो विधिलाई नै दशैँ भनिएको हो । पूर्वउत्तर रोल्पा र बाग्लुङतिर मौलालाई दशन भन्ने प्रचलन छ।

मगर र कोत

हामीले चलनचल्तीमा भन्ने गरेको कोटलाई तिब्बतमा जोङ (Dzong) भनिन्छ । जोङ निर्माण गर्ने परम्परा तिब्बतबाट सुरु भएको मानिन्छ । जोङको नेपाली संस्करण कोट हो भन्न सकिन्छ । तिब्बतमा धार्मिक र सरकारी शासकहरूको निमित्त सुरक्षित पहाडका चुचुराहरूमा जोङ बनाउने गरिन्थ्यो । तिब्बतको युम्बुलागाङ पहिलो जोङ मान्ने गरिन्छ । यसको निर्माण इसापूर्व दुई सयमा तिब्बती राजा न्यात्री त्सेन्पोले गरेका थिए भनी क्वीङ चाङले तिब्बतमा जोङहरूको उद्विकासमा चर्चा गरेका छन् । जोङ निर्माण गर्ने संस्कृति हिमाल पार गरेर दक्षिणतर्फ पनि आयो । मगर समुदायमा जोङलाई गर भनियो । पछि यो गढ र गढी भयो । तिब्बती भाषामा खार र नेपाली भाषामा कोटलाई समान अर्थमा बुझ्ने गरिन्छ । जस्तै नेपाली भाषामा ताक्लाकोट र तिब्बतीहरूले त्यसलाई ताख्लाखार भन्ने गर्छन् ।

पश्चिम नेपालमा कोट भनेपछि भुरेटाकुरे राजाहरू बसेको अग्लो स्थान भनेर बुझ्ने गरिन्छ । हतियार भण्डार गर्ने र सामरिक स्थानको रूपमा यसलाई लिने गरिन्छ । अहिले भने कोटहरू दशैँघर र दशैँ मनाउने स्थानको रूपमा परिचित छन् । मगरातमा निर्माण भएका कोटहरूको इतिहास खोज्यो भने उत्तराखण्ड पुगिन्छ । तिब्बती आर्किटेक्टमा आधारित जोङ अवधारणाले कोटको रूपमा उत्तराखण्डमा प्रवेश पायो । यो पछि नेपालसम्म विस्तार भयो ।

कोट निर्माणसम्बन्धमा उत्तराखण्डमा प्रचलित लोककथा यस्तो छ, उत्तराखण्डका कत्युरी वंशका राजा खार्परदेवले इसाको ८७०-८८० को अवधिमा कोट निर्माण कार्यको सुरुवात गरेका थिए । आफ्नो पहाडी इलाकामा प्रशासनिक नियन्त्रण, सुरक्षा र व्यापार मार्ग अनुगमन गर्न कोट निर्माणको उद्देश्य थियो । प्रचलित लोककथा अनुसार ११-१२ औँ शताब्दीमा कत्युरी राजा दुल्लदेवलाई शत्रुले मारेपछि रानी वीरबाहिनी आफैँले सैन्य कमाण्ड लिएर शत्रुलाई पराजित गरिन् । उनको बहादुरीले वीरबाहिनी संस्कृतिको विकास भयो । त्यस समयमा उत्तराखण्डमा कत्युरी सेनालाई चार भागमा विभाजन गरी कोटहरू निर्माण गरी गढपति र कोटपालहरू नियुक्त गरिएको थियो । कत्युरी शासन कमजोरी हुँदै जाँदा मण्डली सामन्तहरूले पनि कोट निर्माण गरी आआफ्नो इलाकाको सामरिक व्यवस्था सुधार गरे । उमाप्रसाद थपलियाका अनुसार गढवालमा ७३ र कुमाउमा ४८ यस्ता गढ र कोटहरू भएको उल्लेख गरेका छन् ।

सामरिक उद्देश्यले निर्माण गरिएका कोटलाई हिन्दी भाषामा दुर्ग भनिन्छ । दुर्ग भनेको राजा, सरदार वा सेना बस्नका लागि ढुङ्गाको पर्खालले घेरिएको सहज रूपमा पुग्न नसकिने स्थान हो । यसलाई कोट, किल्ला, गढी भनिन्छ । यही दुर्गलाई नेपालमा दुर्गा भनेर ईश्वरीय उपमा दिइयो । यस्तै दुर्गाको महिमा चर्चा गरिएको मार्कण्डे पुराण संवत् तीन सयदेखि नौ सय वर्षको अवधिमा लेखिएको थियो । सो अवधिमा भारतीय उपमहाद्वीपमा दुर्ग निर्माण गरी स्थानीय कविला सरदारहरूले सामरिक शक्तिकेन्द्रको रूपमा दुर्गको विकास गर्ने प्रचलन व्यापक बन्दै थियो।

कत्युरी शासनको प्रभाव मगरातमा पनि पर्‍यो । मगरातमा ठकुराई गर्ने टाकुरे राजाहरू बस्ने स्थानको रूपमा कोटको विकास भयो । नेपालमा कोट निर्माण सुरु १३ औँ शताब्दीतिर व्यापक भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । सामरिक रूपमा निर्माण गरिएका कोटहरू कोतमा रूपान्तरण भए । अहिले यी मगरका Castle & Shrine को रूपमा विकास भए । उत्तराखण्डमा कोटपतिको रूपमा कोटपालहरू नियुक्त भएझैँ मगरातमा पनि कोटको सन्देशवाहकको रूपमा कटवालहरू नियुक्त भए । कटवाल परम्परा आजपनि ग्रामीण परम्परागत शासन पद्धतिमा जीवित छ।

विभिन्न ठाउँमा कोत पूजा भने पनि यो मौला पूजा नै हो । कोत भनेको हतियार भण्डारण गर्ने घर हो । पछि यसलाई मौलाकोत, कोतमौला भन्ने गरियो । कतिपय ठाउँमा यसलाई दशैँघर भन्ने चलन पनि छ । दशैँ गर्ने भएकाले यसलाई दशैँघर भनिएको हो । यहाँ मौलाको सैसै, देवताको सैसै र हतियारको सैसै गर्ने हो । त्यसैले यसलाई Magar Castle & Shrine भन्दा बढी उपयुक्त हुन्छ ।

कोट वा दुर्गसँग दशैँको कुनै सम्बन्ध छैन । कोट संस्कृति सुरुवात भएको उत्तराखण्डमा कोटमा बलि दिने प्रथा छैन । न त कोटमा दशैँ मनाउने चलन नै छ । दशैँको सम्बन्ध मौलासँग हो । बलि मौलाका लागि हो । यसको अपव्याख्या हुँदा बलि दिन कोत र दुर्गालाई बलि चाहिने व्याख्या हुन पुग्यो।

पछिल्लो समय कोतका मौलामा काली, भगवती एवम् दुर्गालगायतका मिथकीय हिन्दू देवीहरू आह्वान गरी उनीहरूकै नाममा बलि दिन थालियो । अधिकाङ्श कोतका पुजारी मगर छन् । पुजारीहरूले पनि जान अञ्जानमा विभिन्न नामका काली र भगवती आह्वान गर्ने गरेको पाइन्छ । पुर्वजहरूको आत्मा सारिएको मौलामा गलत रीति र विधिको विकास हुँदै गएको पाइएको छ।

दशैँका बेला कोतमा मौला पूजाका साथै त्यहाँ भण्डारण गरिएका भाला, खुँडा, तरबार, भुजेली, खुकुरी, बन्दुकलगायत हतियारको बलिको रगत दिएर पूजा गर्ने प्रचलन छ । पश्चिम नेपालमा कोत पूजाका दिन पुरुषहरूले कोतका हतियार निकालेर सराय नाच प्रदर्शन गर्ने गर्छन् । कोत र मौला समुदायको साझा ठाउँ बनेको छ । यो सामरिक शक्ति केन्द्र र आध्यात्मिक मौलाको सङ्गम हो । त्यसैले यसलाई Magar Castle and Shrine भन्न सकिन्छ।

दशैँ के हो ?

धेरैलाई लाग्न सक्छ, दशहराको नेपाली रूपान्तरण दशैँ हो । दशहराको सिधा नेपाली रूपान्तरण दशैँ होइन भन्ने विभिन्न तथ्यहरूबाट थाहा हुन्छ । यी दुवै फरक शब्दहरू हुन् । दशहरा संस्कृत शब्द हो । यो ‘दस’ र ‘हरा’ मिलेर बनेको शब्द हो । जसको अर्थ दश सिर वाला रावणको हार भन्ने अर्थ हुन्छ । पछि यो शब्द हिन्दी भाषामा प्रचलनमा आयो । दशहरा आफैँमा पूर्वाग्रही शब्द मात्र होइन, अवधारण पनि हो भन्ने प्रष्ट झल्किन्छ। आर्य पुरुष रामको अनार्य रावणमाथिको विजयोत्सवको रूपमा दशहरा हिन्दू समुदायमा स्थापित हुन पुग्यो। नश्लीय पर्वको रूपमा विकास हुँदै गएको दशहरा समयक्रममा सुधार हुँदै असत्यमाथि सत्यको विजयोत्सवको रूपमा विकास हुँदै गयो।

दशैँ भने मगर भाषाको मौलिक शब्द हो । यो शब्द ‘दो’ र ‘शै’ अलग दुई शब्दको समासबाट बनेको हो । यो मगर भाषाको मौलिक शब्द हो । तनहूँका दानबहादुर आलेका अनुसार बाह्र मगरात मगर भाषामा ‘शैशै’ को अर्थ ‘जय जय’ गर्नु हो । अठार मगरात मगर भाषामा पनि ‘शैशै’ भनेको जयजयकार गर्ने भन्ने शब्दसँग मिल्दोजुल्दो अर्थ दिन्छ । अठार मगरातमा दवरा पर्वमा केटीहरूले घरघरमा शैलारा गाउँदै भैलो खेल्छन् । यस्तै सिम्याभूम्या, देवपितृ र गुरुहरूलाई शैशै गर्दै जयजय गीत गाउँछन् । ‘दो’ भनेको गर्नु भन्ने हो, अर्थात् कार्य सम्पन्न गर्नु हो । यी दुई शब्द ‘दो’ र ‘शै’ मिलेर दशै बनेको हो । भोट-बर्मेली भाषामा एकै अक्षरको पनि अर्थ खुल्ने शब्द बन्छन् । त्यसैले दशै मगर भाषाको दो र शै अलग दुई शब्द मिले जयजय गर्ने भन्ने अर्थमा दशैँ शब्द बनेको हो।

उवा रोल्पाका बोमहादुर घर्तीमगरका अनुसार मौलालाई दशन भन्ने प्रचलन व्यापक छ । दशैँमा मौलाको शैशै गर्ने भएको हुँदा अठार मगरात मगर समुदायमा मौलालाई दशन भन्ने गरिएको हो।

यसबाट के भन्न सकिन्छ भने दशहरा र दशैँ फरक शब्द र अर्थ खुल्ने अवधारणा हुन् । यी दुईबीच कुनै पनि किसिमको सम्बन्ध देखिँदैन । आजभोलि भारतीय हिन्दू समुदायमा प्रचलित दशहरा र नेपालमा प्रचलित दशैँबीच हिन्दू पौराणिक कथाहरूमार्फत् भाका मिलाउन खोजे पनि पटक्कै मिलेको देखिँदैन।

मौला, बलि प्रथा, जमरा, कोत, टीकालगायतले नेपाली दशैँलाई हिन्दूस्तानी दशहराभन्दा अलग हो भन्ने पुष्टि गरेको छ । नेपाली दशैँलाई हिन्दूस्तानी दशहराको सापेक्षमा बुझेका मानिसहरूले नेपालको दशैँको बलि प्रथामाथि बेला बेलामा प्रश्न उठाउने गरेका छन् । तर, हिन्दूहरूको महान् पर्व भनेर ब्राण्डिङ भएको नेपालको दशैँमा भारतको जस्तो रीति विधि किन छैन ? यसमा थोरैले मात्र खोज्ने प्रयास गरेको देखिन्छ।

भारतीय हिन्दू समुदायमा मनाइने ‘दशहरा’ र नेपाली ‘दशैँ’

भारतीय हिन्दू समुदायमा मनाइने दशहरा नेपाली बडा दशैँको पर्यावाचीको रूपमा बुझ्ने गरिएको छ । यसको मुख्य कारक दशहरा र बडा दशैँबीच स्थापित गरिएको साझा हिन्दू पौराणिक कथा हो । ‘असत्यमाथि सत्यको विजय’ यो पर्वको मक्सत भनी व्याख्या गरिएको छ । यो पर्वलाई हिन्दू धार्मिक र पौराणिक रूपमा रामायण र दुर्गा भगवतीसँग जोडिएको छ । दुर्गा र महिषासुरको विषयमा मारकण्डे पुराणमा लेखिएको छ । यो पुराणको पहिलो पाण्डुलिपी सन् तीन सयतिरको र यसले पूर्णता सन् ९०० मा पाएको देखिन्छ । स्थानीय शक्तिशाली सरदारहरूको सामरिक सुरक्षाको आर्किटेक्ट दुर्गको महिमा वर्णन गर्ने क्रममा दुर्गा भगवतीको रचना भएको हुन सक्ने देखिन्छ।

भारतीय हिन्दू समुदायमा मनाइने दशहरा पनि भौगोलिक क्षेत्रअनुसार भिन्न भिन्न विधि र मान्यताअनुसार मनाइन्छ । भारतको हिमाञ्चल प्रदेशको दशहरा कुल्लुमा केन्द्रित छ । मानिसहरू बाजागाजा लिएर घरबाहिर निस्कन्छन् र नगर परिक्रमा गर्छन् । उनीहरूको स्थानीय देवता रघुनाथजीको वन्दनासहित दशहराको बिसर्जन दशौँ दिनमा गर्छन् । त्यहाँको दशहरा रामायणसँग सम्बन्धित छ । पञ्जाबमा नौरथाको नामले नौ दिन उपवास बसेर मनाइन्छ । त्यहाँ पनि रामले रावणमाथि गरेको विजयसँग जोडेर मनाउने प्रचलन छ । त्यहाँ रावणको पुत्ला दहन गरी खुला स्थानहरूमा मेला लगाउने परम्परा रहेको छ । उत्तर भारतका विभिन्न स्थानहरू दिल्ली, वाराणसी, प्रयागराज तथा अयोध्यालगायतमा दशहरा मर्यादा पुरुषोत्तम रामको कथा प्रस्तुत गरी मनाउने प्रचलन छ।

दक्षिण भारतमा लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरी मनाउने प्रचलन छ । यस्तै भारतको मध्य प्रदेशअन्तर्गत बस्तर जिल्लामा दशहरा फरक ढङ्गले मनाउने चलन छ । यो पर्व सन् १४०८ देखि चालुक्य वंशका राजा पुरुषोत्तम देवले सुरु गरेका थिए । त्यहाँ दशहरा ७५ दिन मनाइन्छ । यो पर्वमा स्थानीय दन्तेश्वरी माताको पूजा गर्ने परम्परा छ । पश्चिम बङ्गालमा दुर्गा पूजाको रूपमा यो पर्व मनाइन्छ । यो पर्व पाँच दिन मनाइन्छ । त्यहाँ दुर्गा देवीको बोधन, आमन्त्रण एवम् प्राण प्रतिष्ठा आयोजना गरिन्छ । पुरुषहरू आपसमा अँगालो मार्छन् भने महिलाहरू देवीको शिरमा सिन्दूर चढाउँछन् । महिलाहरू आपसमा सिन्दूर लगाउने र सिन्दूर खेल्छन् । दुर्गाका प्रतिमाहरूलाई भव्य रूपमा विसर्जन गर्छन्।

हिन्दूस्तानका विभिन्न स्थानमा मनाइने दशहराको आआफ्नै विधिहरू भएपनि मूल मान्यता रामको रावणमाथि र दुर्गाको महिषासुरमाथिको विजयोत्सव नै हो । ‘असत्यमाथि सत्यको विजय’ जो अहिले दशैँलाई व्याख्या गर्न नेपालमा पनि आयात गरिएको छ।

भारतीय वरिष्ठ पत्रकार प्रदीप दावसले दशहराको अन्य नाम ‘विजया दशमी’, ‘आयुध पूजा’ र ‘दूर्गा पूजा’ भनी उल्लेख गरेका छन् । भारतीय हिन्दूहरूले विजया दशमी र दूर्गा पूजालाई दशैँ भनेर कहीँ कतै उल्लेख गरेका छैनन् । त्यसैले दशैँ हिन्दू पर्व हो भन्नेमा संशय गर्ने ठाउँ छ ।

विजया दशमी, राम नवमी, नवदुर्गालगायतका भारतीय हिन्दू दशहरा अवधारणाले नेपाली मौलिक आदिवासी दशैँको मूल विधि र मान्यतालाई मेटाएको छ भन्दा अर्घेलो हुँदैन । हिन्दू दशहरामा मौलाको अवधारणा छैन । बलि प्रथा छैन । टीका लगाउने प्रचलन छैन । कोतघर र कोत पूजा हुँदैन । जमरा हुँदैन । तर, नेपालको दशैँमा यी सबथोक हुन्छ । खाली यसमा हिन्दू पौराणिक कथाहरूको रङ भरेर दशैँलाई विकृत बनाइएको छ । मगर सभ्यताले सिर्जना गरेका कोतका प्राचीन मौलाहरू हिन्दू पौराणिक कथामूनी दफन भएका छन् । यतिखेर तथ्य उत्खनन् गर्नुपर्ने बेला हो।

विभिन्न विद्वान्हरूले दशैँ नेपालको मौलिक पर्व हो भनेका छन् । भूपनारायण घर्तीमगरले दशैँ नेपाली आदिवासीहरूको मौलिक चाड हो र यो पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा सदियौँ अघिदेखि मानिँदै आएको हो । विश्वभक्त दुलाल आहूतिले दशैँ आदिवासी जनजातिहरूको बाली भित्र्याउँदा मनाइने उत्सव हो तर पछि हिन्दूकरण गरिएको भनेका छन्।

मगर समुदायमा ‘तीन दिन दशैँ, पाँच दिन दवरा’ भन्ने प्राचीन भनाइ आजपनि छ । दवरा भनेको मगर समुदायमा मनाइने तिहार हो । मगर जातिसँग सम्बन्धित अध्ययन अनुसन्धान गर्ने क्रममा दशैँ र दवरा छुट्यो भने मगरसम्बन्धी अध्ययन अपुरो रहन्छ।

दशैँको उत्पत्ति र विकास

माथि चर्चा गरिएझैँ दशैँ नेपालको मगरात क्षेत्रमा उत्पत्ति, विकास र विस्तार भएको तथ्यहरूले देखाउँछ । यो पर्व हिन्दूस्तानबाट आयात गरेर नेपालको घरघरमा वितरण गरेको होइन । यो पाँच हजार वर्षअघि नै प्रारम्भ भएको पर्व हो । दशैँको विधिविधानमा मगरको इतिहास, संस्कृति र दर्शन प्रतिबिम्बित हुन्छ । मौला, कोतघर, जमरा, बलि, टीका हिन्दूस्तानी दशैँमा कहीँ कतै भेटिँदैन । न त हिन्दू पौराणिक कथाहरूमा भेटिन्छ।

ई. पू. तीन हजार वर्षअघि सिकारीहरूले पहेँलो रङ्गीन जौँ जमरा गुफामा उमारे । यसलाई देवताको चमत्कार माने । उनीहरूले आफ्ना पुर्वज र देवताहरूलाई चढाए । यो संस्कृतिको रूपमा विकास हुँदै गयो । ई. पू. १००० तिर घरलाई बलि दिएर घरको पूजा गरे । ढोकामा जमरा र फूल लगाइदिए। इतिहासकारहरूले गोपाल वंशको शासनकाल ई. पू. नौ सय वर्षअघि फूलपाती भित्र्याउन प्रचलन रहेको बताएका छन् ।  इसाको शुभारम्भतिर विभिन्न औजारहरूलाई पूजा गरे । यो प्रविधिको पूजा थियो । इसाको पाँच सयतिर मौला निर्माण गरी पुर्वजको सैसै गरे । बाजागाजाका सर्जक र गुरुहरूको सैसै गरे । इसाको एक हजारतिर कोत निर्माण हुन थाल्यो । त्यहाँ हतियार भण्डार हुन थाल्यो । हरेक वर्ष कोत र हतियारको पूजा हुन थाल्यो  त्यसै बेला सैसै दशैँको रूपमा विकास हुन थाल्यो।

इसाको १३ सयतिर मगरातमा शक्तिशाली मुखियाहरूको उदय भयो । तिनले टाकुरे शासन सुरु गर्न थाले । शिरतू र तिलक संस्कृतिको सुरु भयो । मगर समुदायमा बेहुला बेहुलीलाई निधारमा दहीचामल लगाएर टीकाटालो गर्ने परम्परा पनि तिलक प्रथाबाट विकास भएको हो । तिलक प्रथा राजनीतिक औजारको रूपमा प्रयोग भयो । कुन राजालाई शिरतू बुझाउने र कुन राजाको तिलक लगाउने भन्नेमा स्थानीय मुखियाहरू राजनीतिक दाउपेचमा चल्नुपर्ने भयो । यो भेगीय राजनीतिको आधार बन्यो । यसैमा ग्रामीण शक्ति सङ्घर्ष चलिरह्यो । मगरातको लिगलिग कोटमा त राजाको छनौट नै दशैँको अवसरमा दौड प्रतियोगिताबाट हुन्थ्यो । शिरतू र तिलक संस्कृति सन् १९६० सम्म सांस्कृतिक राज्य रजौटाबीच पनि चलिरह्यो । राज्य रजौटा उन्मुलन भएपछि तिलक प्रथा क्रमश गाउँस्तरका मुखिया र जिम्वालहरूमा सर्‍यो । त्यसपछि मात्र दशैँमा टीका संस्कृति पारिवारिक तहमा सुरु भएको हो । दशैँको टीका टाकुरे राजा, मुखिया हुँदै घरमुलीसम्म आइपुग्दा व्यापक हिन्दूकरण भैसकेको थियो।

इसाको १६ सयसम्म आउँदा दरबारको दशैँमा हिन्दू पौराणिक कथा घुस्यो । इसाको १९ सयको मध्येतिर घरघरको दशैँमा नवरात्र तथा नवदुर्गा घुस्यो । र, परम्परागत दशैँलाई विजया दशमीले निल्यो । ‘असत्यमाथि सत्यको विजय’ विजया दशमीको मन्त्र बन्यो । दशैँ मगरको दशैँको रूपमा रहेन । यो हिन्दू विजया दशमी बन्यो।

आज दशैँ नेपालको बहुसङ्ख्यक नागरिकले घरघरमा मनाउने पर्व बनेको छ तर फरक कथा, फरक विधि, फरक मान्यता र स्वरूपमा । त्यसैले आज मगरहरू आफ्ना पुर्वजले सिर्जना गरेको दशैँ आफ्नो हो कि हैन भन्ने दुविधामा छन् । दशैँ नमनाऊँ भन्दा उहिल्यै देखि मनाइरहेको, मनाऊँ भने कैफत देखिन्छ।

मगरको पारिवारिक तहमा दशैँ

आधारभूत रूपमा मगर र दशैँबीचको सम्बन्ध आफ्नो घर, औजार र सान्चाहरूलाई शुद्धीकरण गर्ने प्रक्रियासँग सम्बन्धित छ । आफूलाई घामपानीबाट जोगाउने घरलाई राक्सिन नदिन दशैँमा घरको सैसै गर्ने परम्परा निकै पुरानो हो । यस्तै घरमा खुकुरी, हँसिया, बच्चरो, कुटो, कोदालो, हलोलगायतका औजार हुन्छन्, जसले कृषि कर्ममा सघाउ पुग्छ । अन्न उब्जाउन सहयोग गर्छ । ती औजारलाई रगत दिएर सैसै गराउने धेरै पुरानो परम्परा हो । यसो गर्दा वर्षभरि प्रयोग गरिने औजारबाट दुर्घटना टर्ने विश्वास छ । धातुले फलिफाप गर्ने विश्वास छ । यस्तै सान्चाहरूमा कपडा बुन्ने जासिङलाई रगत दिएर पवित्र बनाउने परम्परा छ । यसको माध्यमबाट सान्चाका आविष्कारक र ज्ञानलाई सम्मान र सत्कार हुने विश्वास छ । यस्तै विभिन्न मौसम र उत्सवमा बजाइने बाजाहरू मादल, दमाहा, दौँदी, झ्याली, पैजन, बाँसुरी, डम्फू, ढ्याङ्ग्रोलगायतलाई सैसै गरेर फुकाउने कार्य हुन्छ । साउन भदौमा हिमाल र उच्च लेकबाट टिपेर ल्याइएका जडीबुटीलाई सैसै गर्ने प्रचलन छ।

पारिवारिक तहमा मनाइने दशैँ खेती सभ्यता आरम्भ भएपछि सुरु भएको मान्न सकिन्छ । जौँको आनुवंशिक अध्ययनबाट के थाहा भएको छ भने आजभन्दा ३५ सयदेखि ४५ सय वर्षअघि दक्षिण तिब्बतमा नेपाल, भारत र पाकिस्तानको हिमाली क्षेत्रबाट उच्च हिमाली क्षेत्रमा फल्ने जौँ तिब्बत लगिएको थियो । नेपालमा तीन हजार वर्षदेखि आजसम्म उच्च हिमाली क्षेत्रमा जौँ र फापरको विशिष्ट अर्थव्यवस्था रहेको लि ताङ र उनको टिमले जर्नल अफ एन्थ्रोपोलोजिकल आर्कोलोजीमा प्रकाशन गरेको पेपरमा वर्णन गरिएको छ । उनीहरूले मध्य तिब्बतीय पठारमा उत्खनन् गरेको एक पुरातात्त्विक साइटमा फेला परेको जौँको अवशेषबाट यो कुरा पत्ता लगाएका हुन् । १० हजार वर्षपहिले इजरायलको फर्टाइल क्रिसेन्टमा घरेलुकरण गरिएको जौँ पाँचदेखि छ हजार वर्षअघि नेपाललगायत हिमालय क्षेत्रमा विविधीकरण गरिएको थियो । यस्तो कार्य गर्ने मानिसहरू आजका मगरका पुर्वजहरू थिए । किनभने मगरले आज आफ्ना कुलहरूलाई जौँ चढाउने गर्छ । आफ्ना देवतालाई जमरा र जौँकै नवाङ्गी चढाउनुपर्छ । जौँ नै किन ? अरु अन्न किन जुठो मानियो ? यसको सरल जवाफ हो, मगरको आदिम पूर्खाले चाखेको र खाएको अन्न जौँ थियो । त्यसैले ती पूर्खाले जे खाएका थिए आज त्यही चिज चढाउनुपर्ने भएको हो । र, जौँसँग सम्बन्धित थुप्रै किस्साहरू मगर गाउँमा आज पनि जीवित छन् । दशैँ र दवारामा जौँ छर्नुको अर्थ यसपालिको हिउँदेबाली सप्रिन्छ कि सप्रिन्न भनेर अनुमान गर्नु पनि हो गाउँघरमा दशैँ र दवारामा छरेको जौँ र गहुँको जमरा राम्रो भयो भने यसपालि बाली राम्रै हुन्छ भन्ने विश्वास गर्छन् ।

थबाङ्गी रोकाहरू सिकार खेल्न आउँदा जेलबाङमा जौँको बीउ छरेर छोडे र छ महिनापछि फर्केर आउँदा हलहल भएको देखेपछि जेलबाङमा बस्ती बस्न उपयुक्त ठानेर आफ्ना पूर्खाहरू जेलबाङ बसाइँ सरेको सुकबहादुर रोकामगरले सुनाए ।  प्राचीन कालमा सिकारीहरूले सिकार खेल्न आफूसँग जौँ बोकेर जान्थे । खुला स्थान र बस्न लायक ठाउँ देखेपछि जौँ छरेर छोड्थे । केही समयपछि फर्केर आउँदा जौँ राम्रो फलेको पाइएमा ती ठाउँहरूमा बस्ती बसाल्थे । यसरी नयाँ बसोबासको खोजीमा पनि मगरका पुर्वजहरूले जौँ प्रयोग गरेको इतिहास छ।

जौँको जमरा दशैँको अनिवार्य सामग्री हो । जमरा र दशैँको सम्बन्ध जोड्ने हो भने पाँच हजार वर्षअघि पुग्न सकिन्छ । मगर परम्परामा जौँ खाद्य स्रोत मात्र होइन, शुद्ध कार्यको सामग्री, कुलको चखन, जमराजस्तो सौन्दर्य साधनको रूपमा पनि प्रयोग भएको छ।

यसबाट के भन्न सकिन्छ भने पारिवारिक तहमा पाँच हजार वर्षअघिदेखि कुनै न कुनै रूपमा दशैँ सुरु भएको मान्न सकिन्छ । खेती गरेपछि घर बनाएर स्थायी रूपमा बसोबास गर्नुपर्‍यो । खेती गर्न औजार चाहियो । सिकार गर्न हतियार चाहियो । रमाइलो गर्न बाजागाजा चाहियो । त्यसपछि यी सबै वस्तु र औजारलाई बरदान मानेर पूजा गर्न थालियो।

मगरमा दशैँ मनाउने तिथि र विधि

मगर समुदायमा दशैँ तीन दिनमात्र मनाइन्थ्यो । मगरको दशैँमा नवरात्र, नवदुर्गा, रामनवमीको अवधारणा छैन । यी दशैँको मौलिक मान्यता होइनन् । आश्विन औँसीको भोलिपल्टको उजेली रातको आरम्भसँगै गुफाजस्तो अँध्यारो कुनामा जमरा राखिन्छ । अर्ध चन्द्र (ह्वेपा) अर्थात् सप्तमीको दिन झिमसेप भनिन्छ । यो दिन घर लिपपोत र चोख्याउने परम्परा छ । जमरा र हरियो फूलपाती घरभित्र भित्र्याउने परम्परा छ । यो आफ्ना पुर्वज र कुलहरूलाई सैसै गर्ने विधि हो।

भोलिपल्ट पारिवारिक तहमा घरको मूलढोकामा कुखुराको बलि दिएर कुखुराको रगतद्वारा घरको झ्यालढोका, औजार र सान्चाको पूजा गर्ने प्रचलन छ । त्यसै दिन कोतघरमा सबैजना जम्मा भएर मौला पूजा गर्ने र राँगाको बलि दिने प्रचलन छ । तेस्रो दिन गाउँका मुखिया अर्थात् भाइखलकका जेठो मान्छेकोमा शेरतू लिएर जाने चलन हुन्छ।

भुरेटाकुरे राजाहरूको पालामा राजाहरूकहाँ शिरतू पर्‍याउनुपर्थ्यो । यसको अर्थ शिरतू पुर्‍याउनेले राजा मानेको भन्ने हो । राजाले टीका लगाएर उसको प्रस्तावलाई वैधता गर्थ्यो । राजाको टीका र जमराले टीका थाप्नेलाई जिम्मेवार, प्रतिबद्ध र कर्तव्य उन्मुख बनाउँथ्यो । यो चलन नेपालमा विक्रम संवत् २०१७ सम्म कायम थियो । राज्य रजौटा ऐन, २०१७ लागू भएपछि क्रमश: यो चलन अन्त्य भयो । पछि यो चलन गाउँका मुखिया र जिम्वालहरूले गर्ने गर्थे। दरबारमा राजाले टीकाजमरा लगाइदिने, गाउँमा मुखियाहरूले टीकाजमरा लगाइदिने चलन भयो । आज पनि सरकारी जागिर खानुलाई सरकारको तिलक लगाएको भन्ने चलन छ।

पहिले पारिवारिक तहमा टीकाजमरा लगाउने चलन थिएन । यो टाकुरे राजा, मुखिया जिम्वाल हुँदै परिवारको ज्येष्ठ व्यक्तिसम्म पुगेको हो । पारिवारिक तहमा टीका संस्कृति गैरमगर समुदायबाट भएको देखिन्छ । गैरमगर समुदायको मगरात भूमिमा प्रवेशसँगै मगर संस्कृतिकरणको प्रक्रियामा आफ्नै घरको बडा व्यक्तिबाट टीका लगाउने चलन सुरु भएको हो । यो प्रचलन विजया दशमीसँग जोडेर रीतिको रूपमा रुढीबद्ध भएको हो।

मगर र आदिवासी समुदायबाट दशैँको किन विरोध हुन्छ ?

वि. सं. १६१५ मा लिगलिगकोटे घलेमगरहरूले दशैँका बेला राजा छान्नका लागि राखेको दौड प्रतियोगितामा सहभागी भई घलेमगरहरूलाई गिँडेर द्रव्य शाहले लिगलिगकोटको मगर राज्य कब्जा गरेको भन्ने इतिहासले गर्दा मगर समुदाय दशैँप्रति नकारात्मक हुन पुग्यो । गोर्खा माझकोट, हाल गोर्खा दरबारका मगर राजा मानसिंह खड्कामगरलाई वि. सं. १६१६ भदौ २५ गत्ते मारेर द्रव्य शाहले बाह्र मगरातको अन्तिम मगर राज्य कब्जा गरे। यो समय दशैँ नजिकै परेकाले दशैँ मगर राज्यको पराजय र शाही शासकको विजयोत्वसजस्तो हुन पुग्यो । दिनेशराज पन्तका अनुसार दशैँमा फूलपाती भित्र्याउने प्रचलन खासगरी राजामहाराजाहरूको विजय अभियानसँग सम्बन्धित छ । यी तथ्यहरूले मगर समुदायमाझ दशैँ मगर शासन र सत्ता खोस्ने र सिध्याउने उत्सव हो भन्ने परेको छ । यी तथ्यहरू सत्य हुन् भने गोर्खा दरबारमा फूलपाती बोक्ने मगर जाति नै किन चुनिए? के ती मगरहरू इतिहासमा गोर्खा विजयपश्चात् दशैँदास बनाइएका हुन् ? यसलाई थप खोज गर्न आवश्यक देखिन्छ।

पृथ्वीनारायण शाहले तामाङ राजा रिन्जेन दोर्जेलाई मीत लगाउन बिनाहतियार बोलाई तिमालबेँसीमा निर्ममतापूर्वक हत्या गरेर तामाङहरूलाई दशैँ मान्न बाध्य बनाएको हो ।  पृथ्वीनारायण शाहले किपट खोस्ने धम्की दिएपछि लिम्बूहरूले बाध्य भएर दशैँ मान्न थालेका हुन् । गोर्खाबाट फूलपाती ल्याएर काठमाडौँका नेवारहरूलाई दशैँ मनाउन बाध्य बनाएका हुन् । गोर्खानजिक गाउँका गुरुङहरूलाई दशैँमा अनिवार्य बलि दिन र हत्केलामा रगत लगाएर ढोकामा दायाँ बायाँ छाप लगाउन बाध्य बनाए । राणा शासकहरूले रामलिहाङ अठपहरिया र रिदमा अठपहरियालाई दशैँ नमानेको कारण झुण्ड्याएर हत्या गरेका थिए । आदिवासी जनजातिहरूमाझ आफ्नै पूर्खाको हत्या गरेर रगतको रातो टीका दशैँमा लगाइएको भन्ने भाष्य व्याप्त छ।

गोर्खाका राजा राम शाहले धादिङको सल्यानटार विजयपश्चात् दरबारमा फूलपाती भित्र्याएपछि दशैँमा फूलपाती भित्र्याउने प्रचलन बसेको थियो । दशैँमा अन्न र फूलपाती घरमा भित्र्याउने विधि तथा तरिका आदिवासी तथा किरातहरूको भएपनि समग्रमा दशैँ आर्य हिन्दू दर्शन, विचार तथा राजनीतिमा आधारित छ त्यसैले दशैँ आदिवासी तथा किरातहरूको हो भनेर जिकीर गर्नु मुर्खता मात्र हो । कृष्ण भट्टचनले आदिवासीहरूका लागि दशैँ वनमारा झार हो भनेका छन् । दशैँ आदिवासीमाथि उपनिवेशवादी प्रहार हो भन्ने व्यख्या गरेका छन् । मानवशास्त्री डम्बर चेम्जोङले दशैँलाई राजनीतिक चाडको रूपमा व्याख्या गरेका छन्, जसले गोर्खा राज्य विस्तारका क्रममा विजयोत्सवको रूपमा मनाइयो । आङ्काजी शेर्पाका अनुसार दशैँ नेपालीको होइन, हिन्दूको चाड भनियोस् भनेका छन् । दशैँमा राज्यले सेना, प्रहरी, निजामतीलगायत सरकारी कर्मचारीलाई अतिरिक्त खर्च दिने तथा लामो बिदा दिएर हर्षोल्लास बनाउने तर आदिवासी पर्वहरूलाई अवमूल्यन गर्ने भन्ने आदिवासी अभियान्ताहरूको आरोप छ । यी मतहरूले आदिवासी समुदाय दशैँप्रति क्रुद्ध भएको हो।

दशैँलाई इतिहासदेखिका शासकहरूले हिन्दूहरूको मात्रै चाड बनाउन जोडबल गरेकै हो । राज्यका स्रोत र साधन प्रयोग गरेर शासक वर्गले आफ्नो निहीत सत्ता र शक्तिको स्वार्थका खातिर एकात्मक व्यवस्था टिकाउन र लाद्न दशैँलाई प्रयोग गरेकै हो ।  दशैँ सांस्कृतिकभन्दा पनि बढी राजनीतिक बन्यो। यो शासकले प्रजा कज्याउने र हिन्दू दर्शन विस्तार गर्ने औजारको रूपमा उपयोग हुन पुग्यो । त्यसैले दशैँ मगर गाउँमा जन्मेर हुर्क्यो तर हिन्दू शासकहरूको शासकीय हतियार बन्न पुग्यो।

अब के गर्ने ?

कोतका सबै मौलाहरूमा हिन्दू पौराणिक कथाको ढकन हटाउनुपर्छ र दफन भएको इतिहास देखिने गरी उघार्नपर्छ । पक्कै पनि त्यहाँ मगर महापुरुषहरूको इतिहास छ । वीरगाथा छ । अमूर्त मान्यताहरूको डिक्लोनाइज्ड गर्नुपर्छ । इतिहासको यथार्थ विवरण सङ्कलन गर्नुपर्छ।

हिन्दूहरूले आफ्नै पौराणिक मान्यताअनुसार दशैँ माने पनि मगरले आफ्नो पारम्परिक विधिलाई जागृत गर्नुपर्छ। कोतका मगर पुजारीहरूलाई बुझाउनुपर्छ । मौला, कोत र दशैँघरलाई Magar Castle & Shrine को रूपमा पुनर्उत्थान गर्नुपर्छ । छ हजार वर्ष पुरानो मगर सभ्यताको जगलाई पुनर्जागृत गर्नपर्छ । स्वतन्त्र, तथ्यपरक र उदार भएर मगर सभ्यताको उत्थान गर्नुपर्छ।

निष्कर्ष

मौला मगरहरूको बितेका पुर्वजको आत्मा प्रतिष्ठा गरिएको काठको स्तम्भ हो । यो दशैँ पर्वको केन्द्रीय तत्त्व हो । ‘दशैँ’ शब्द आफैँमा मगर भाषाको ‘दो’ (गर्नु) र ‘शै’ (जयजय) बाट बनेको मौलिक शब्द हो । यो हिन्दूस्तानको हिन्दू समुदायको ‘दशहरा’ भन्दा पूर्णतः भिन्न छ।

ऐतिहासिक तथ्यले दशैँ करिब पाँच हजार वर्षअघि मगरात क्षेत्रमा जौँको जमराबाट सुरु भएको पर्व हो । जौँको जमरा, कोतघर, मौला पूजा, बलि प्रथा, टीका र शिरतूजस्ता नेपाली दशैँका विशिष्ट तत्त्वहरू भारतीय दशहरामा पाइँदैनन् । यसले दशैँ हिन्दूस्तानबाट आयात गरिएको होइन, बरु नेपालको हिमाली काखमा स्थानीय रूपमा विकसित भएको पर्व हो भन्ने पुष्टि हुन्छ।

तथापि, गोर्खा राज्य विस्तारका क्रममा दशैँलाई राजनीतिक र सांस्कृतिक औजारको रूपमा प्रयोग गरियो । मगर राज्यहरूको पतन, आदिवासी राजाहरूको हत्या र जबर्जस्ती हिन्दूकरणका कारण आदिवासी समुदायमा दशैँप्रति नकारात्मकता विकास भयो । इसाको १६ औँ शताब्दीदेखि दशैँमा हिन्दू पौराणिक कथाहरू घुसाइयो र १९ औँ शताब्दीसम्म आउँदा परम्परागत दशैँलाई विजया दशमीले निलिदियो।

आजको आवश्यकता कोतका मौलाहरूमा दफन भएको इतिहासलाई उघार्नु र मगर सभ्यताको मौलिक मान्यतालाई पुनर्जागृत गर्नु हो । हिन्दूहरूले आफ्नो पौराणिक मान्यताअनुसार दशैँ मनाउन सक्छन् तर मगर समुदायले आफ्नो छ हजार वर्ष पुरानो सभ्यताको मौलिक परम्परालाई संरक्षण र प्रबर्द्धन गर्नुपर्छ । यसका लागि तथ्यपरक अनुसन्धान, स्वतन्त्र चिन्तन र सांस्कृतिक पुनरुत्थान अपरिहार्य छ । दशैँ मगरको हो भन्ने ऐतिहासिक सत्यलाई स्वीकार गर्दै यसको मौलिक स्वरूप खोज र त्यसलाई जीवित राख्नु आजको पुस्ताको दायित्व हुन आउँछ।

 

सन्दर्भ सूची

आलेमगर,डोलु (२०७६ असोज २०), दशैँ: सांस्कृतिक कि धार्मिक पर्व ?, अनलाइन खबर

कन्दङवा, नन्द (२०७४ असोज १३), दशैँ आदिवासी तथा किरातहरूको हो भनेर जिकिर गर्नु मुर्खता हो, इन्डिजिनियस भ्वाइस्

घर्तीमगर, बलबहादुर (२०७१), मगर संस्कार, आदिवासी जनजाति महासङ्घ, रोल्पा

घर्तीमगर, भूपनारायण (२०८१ असोज २२) ‘ के दशैँ मगर लगायत आदिवासी जनजातिहरूको होइन ?‘, ईनेपालिज्

ठाकुर, दविन्दर (२०२५ अक्टोबर २), हिमाचल के कुल्लू में मनाया जाता है सबसे बडा दशहरा उत्सव पर नहीं जलता रावण, बेहद रोचक है मान्यता‘, राजेश कुमार शर्मा (स.), जागरण, https://tinyurl.com/yeymubey

पाणिग्रही, रुद्र नारायण (२०२४), बस्तरका ऐतिहासिक दशहरा पर्व: बस्तर दशहरा, साहपेडिया, https://tinyurl.com/56xw4fzp

बुढामगर,बमकुमारी (२०८२), मौला ल घोन, मगर सङ्घ युके, पृ. ७८-८०

भण्डारी, राजेश (२०७९ असोज १८), सेना र प्रहरीमा कसरी सुरु भयो निशान र मौलो पूजा, रातोपाटी https://www.ratopati.com/story/266687/police-army-dashain-

मिश्र, मधुकर (२०२५ सेप्टेम्बर १९), Dussehra 2025: कुल्लू समेत किन शहरों का दशहरा देखे बगैर अधूरा है आपका विजयादशमी उत्सव ?‘, NDTV India,

वाइबा तामाङ, विगेन्द्र (२०७८ आश्विन २६ ), आदिवासी जनजाति समुदायमा दशैँको चर्चा, ताम्सालिङ खबर

शर्मा, स्वाती (२०२५ सेप्टेम्बर २६), आस्था का खास पर्व है बङ्गालका का दुर्गा पूजा, षष्ठी से लेकर सिंदूर खेला तक देखने को मिलती है अनोखी धूम, जागरण, https://tinyurl.com/3futccsh

Chang, Q. (2017). Evolution of Peak Palace–Fortress in Tibet: The reappearance of the Sangzhutse Palace–Fortress and design of the Fortress Museum. Built Heritage, 2017(1), 36-49.

Durkheim, É. (1995). The elementary forms of religious life (K. E. Fields, Trans.). Free Press. (Original work published 1912)

Girard, R. (1977). Violence and the sacred (P. Gregory, Trans.). Johns Hopkins University Press. (Original work published 1972)

Pande, Badri Datt (1937). History of Kumaun (Trans. by C.M. Agarwal). Shree Almora Book Depot.

Tang, L., Lu, H., Song, J., Wangdue, S., Chen, X., Zhang, Z., Liu, X., Boivin, N., & Spengler, R. N., III. (2021). The transition to a barley-dominant cultivation system in Tibet: First millennium BC archaeobotanical evidence from Bangga. Journal of Archaeological Science, *133*, 105455. https://doi.org/10.1016/j.jas.2021.105455

Tylor, E. B. (1871). Primitive culture: Researches into the development of mythology, philosophy, religion, language, art, and custom (Vols. 1–2). John Murray.

 

साभार:

यो लेख बलबहादुर घर्तीमगर र माया रोकामगरद्वारा लिखित ‘मगर जातिको मानवशास्त्रीय वृत्तान्त’ नामक पुस्तकबाट साभार गरिएको हो ।