• भाद्र ३० २०८३, मंगलवार

गोल हुनु पूर्व नै गञ्जागोल !

भाद्र २९ २०८३, सोमबार

नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई करिव दुईतिहाईको नजिक पुर्‍याएर सत्तासिन गराएको ६ महिना बितिसकेको छ । पुराना दलहरूको ‘भागशान्ति गठबन्धन’ को जुवाबाट वाक्कदिक्क भएका नेपाली जनताले रास्वपालाई विकल्पका रूपमा रोजेका थिए । सोचेका पनि थिए कि यसले देश र जनताका समस्यालाई समाधान गर्दै अग्रगामी निकास दिनेछ ।

नेपाल आफैमा अमेरिका, भारत र चीनजस्ता महाशक्तिको रस्साकस्सीको भूराजनीतिक भूमरीमा परिरहेको सबै मतदातालाई ज्ञात थियो र छ पनि । त्यसैले अमेरिकाको डिजाइनमा रास्वपा अघि बढे पनि जनताले ‘रवि लामिछाने र बालेन शाहहरू नेपाली हुन् र नेपालको भलो हुने काम गर्छन्‌’ भनेर निशङ्कोच दुईतिहाई नजिकको जनादेश दिएका हुन् ।

रवि लामिछानेको ‘भ्रष्टाचारी तह लगाउने’ उद्घोष, बालेन शाहको बढ्दो ‘क्रेज’ र नयाँ पुस्तामा राजनीति हस्तान्तरणको जेनजी अजेण्डाले नेपाली मतदाता आकर्षित हुनु अन्यथा थिएन पनि । प्रजातन्त्रको हिमायती दाबी गरे पनि पुराना पार्टीभित्र पनपनाइरहेको ‘पार्टी राजतन्त्र’ र ‘जहानियाँ बोलवाला’ परिवर्तनका पक्षधर जनताका लागि अजीर्ण बनिसकेको थियो । यी पार्टीहरूले राजतन्त्रबाट ‘नमर्दासम्म नेता भइरहने’ र राणाशासनबाट पारिवारिक ‘जहानियाँ शासन’ चलाउने बिरासत शिरोधार्य गरिरहेका थिए ।

पुरानो सत्ता ध्वस्त पार्ने र नयाँ सत्ता निर्माण गर्ने भन्दै २००७ सालमा ‘प्रजातन्त्र स्थापनार्थ’ मुक्ति सेना निर्माण गरेर राणाको जहानियाँ सत्तामाथि जाइलागेको नेपाली काङ्ग्रेस, वर्गशत्रु खतम अभियान (२०२८ साल) चलाएको एमाले, नेपालमा जनवाद ल्याउन भन्दै २०५२ सालमा जनयुद्धमा होमिएर आएको माओवादी यति बेलासम्म श्री ५ र श्री का द्वैधविरासत पार्टीभित्र कायम गर्न जोडबलले लागिपरेका थिए ।

यतिबेलै यसखाले सत्तामा परिवर्तन ल्याउने भन्दै २०८२ साल भदौको तेस्रो साता राज्यका मुख्यालयहरूमा जेन्जीको आक्रोश र आगो दन्कियो । देश अन्यौलतामा फस्यो । तर त्यति नै बेला सुशासनको अजेण्डा बोकेको रास्वपाले विकल्प दिन काँध थाप्यो । सिंहदरवार, सर्वोच्च अदालत, संसद भवन आगोको लप्काभित्र हराए पनि सुशासन, लोकप्रियता र परिवर्तनको त्यान्द्रोले अन्तरिम सरकार ‘स्थापना’ गर्न बल पुर्‍यायो ।

यो बेलासम्म ‘पार्टी राजतन्त्र’ र ‘जहानियाँ शासन’को द्वैध विरासत बोकेका संसदीय दलहरू आगोको धुवाँभित्र अलप भइरहेका थिए । नेपाली राजनीतिक रङ्गमञ्चमा सुशासनसहित देशलाई नयाँ दिशा प्रदान गर्ने एजेण्डा ओढेर रास्वपाको पुनरोदय भयो । उक्त पुनरोदयभित्र रविको सुशासन, बालेनको सुधारवादी ‘पपुलिष्ट क्रेज’ र सुधन गुरूङको ‘टिबेट ओरिजिन ब्लड’ का तीन भिन्न आयाम ‘काम्लोमाथि सातु मुछिएझैं’ जबर्जस्त बाँधिन पुगे ।

अन्तरिम सरकार गठन भएको ६ भित्रै निर्वाचन सम्पन्न भयो । रास्वपाले दुईतिहाई नजिकको जनादेश प्राप्त गर्‍यो । रविको स्वार्थ, बालेनको स्वार्थ र सुधन गुरूङको स्वार्थप्रति जनताको खासै चासो रहेन पनि । मात्र चासो रह्यो, देशमा सुशाासन कायम होस् भन्ने ।

तर रास्वपाभित्र पुनः सत्ता बाँडफाँडको प्रक्रिया सुरू भयो । रवि सत्ताधारी पार्टीको अध्यक्ष, बालेन शाह प्रधानमन्त्री र सुधन गुरूङ गृहमन्त्री ! कम्बलमाथि मुछिएको सातु खानसकिने अवस्थामा रहेन । त्यसैले छोटो समयमै कुनचाहिँ समूहको बोलवाला कायम गर्ने भनेर सरकार छिनाझपटीको प्रक्रिया नजानिदो रूपमा सुरू हुनगयो ।

दुईतिहाई नजिकको सरकार भए पनि सरकारभित्र समूह स्वार्थ, अमेरिकासहित महाशक्ति राष्ट्रका चासो र चीन–भारतसँग टक्कर, नवउदारवादी वैश्विक व्यवस्थाको असफलता, नयाँ आणविक देशहरूको उदय र तेस्रो विश्व युद्धको क्षेत्रीय युद्धका कारण नेपालको राजनीति रङ्गमञ्च दुषित नै रह्यो । यी सबै अन्तरविरोधको कालो बादल भूराजनीतिको ‘इपिसेन्टर’ बनिरहेको नेपालमाथि पर्न आउँदा सिङ्गो देश ‘नयाँ प्रयोगशाला’ बनिरहेको छ ।

‘ग्रिन आर्मी’ सशस्त्र र सशक्त बन्दै गइरहेको छ । यसमा राज्यकै संरक्षण र लगानी रहेको प्रष्ट देखिन्छ । यी सबै कामको डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) पुराना पार्टीहरूले गरेका थिए । किनकि उनीहरूलाई आजीवन सत्ताभोगको मृगतृष्णाले क्षणभर पनि छाडेको थिएन ।

यी सबै कुराका अतिरिक्त नेपाली जनताको आशा र अपेक्षा भने भिन्न रहेको छ । जनता देशभित्र विकास र प्रगति चाहन्छन् । सरकारले दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनसँग राम्रो र दीर्घकालिन सम्बन्धको चाहना प्रकट गरिरहेका छन् । यहि परिवेशमा अन्तर्राष्ट्रिय स्वार्थ र घरेलु स्वार्थ एकापसमा बाझिन पुगेका छन् । यसको प्रतिबिम्ब सत्ताधारी पार्टी रास्वपामा प्रकट हुन थालिसकेको छ । उनकै सांसद संसदभित्र ‘वाकयुद्ध’मा उत्रिइसकेका छन् ।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमण, गोप्य पदभार ग्रहण, ग्रिन आर्मीको घोषणा र सार्वजनिकीकरण, देशको सेनाको ‘तैं चूप मै चूप’को स्थिति, ‘कमाण्ड कन्ट्रोल’ देशबाहिर पुगिसकेको अवस्थाले अबका दिन थप अन्यौलपूर्ण रहने देखिएको छ । रास्वपामा समूह र समूह स्वार्थ बाझिन थालिसकेको छ ।

छिमेकी तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्र पनि रास्वपाभित्र देखिएको दरारभित्र ‘एक्स्केभेटर’ प्रयोगमा उत्रिइसकेका छन् । प्रमगृह (बालेन–सुधन)लाई एउटा महाशक्तिले प्रयोग गर्ने र रविलाई अर्को शक्तिले बोक्ने गरिहेका छन् ।

यो स्वार्थको महाभारत र हस्तिनापुरका लागि भाइभाइ कौरव–पाण्डवको लडाइँ सुरू भए पनि कम्तिमा देशमा विकास निर्माण र सुधारका काम भइदिए नेपाली जनताको आशा र अपेक्षा केही हदसम्म पूरा हुनेथियो । तर आशा अपेक्षा पूरा भई ‘गोल’ हुनुको सट्टा उल्टै गञ्जागोल सुरू भइसकेको छ । भूराजनीतिको द्वन्द्वको मारमा देश र जनता परिरहने प्रायः निस्चित छ ।