काठमाडौं । युद्धका बीच इरानले अमेरिकाका दुईवटा अमेरिकी फाइटर जेट र एक हेलिकोप्टरलाई निशाना बनाएको छ ।
इरानी मिडियाले एफ–३५ फाइटर जेट, एफ–१५ लडाकु विमान र एक अमेरिकी ‘चप्पर’लाई खसालेको दाबी गरेको छ ।
यति मात्र होइन, एक लडाकु विमानका दुई क्रु सदस्य इरानको भूमिमै खसेका छन् । तर, रातिसम्ममा अमेरिकाले आफ्ना एक पाइलटलाई उद्धार गरी इरान भन्दा बाहिर निकाल्न सफल भएको छ ।
अर्का पाइलट भने अझै इरानमै कतै फसेको खबर छ, जसको खोजी भइरहेको छ । यो पूरै घटनाक्रमका बीच इरानी मिसाइलको आक्रमण र लडाकु विमानको विनासका बाबजुद पनि अमेरिकी फाइटर पाइलट कसरी जिउँदै बच्न सफल भन्ने विषयमा विश्वभर ठूला प्रश्नहरू उठिरहेका छन् ।
अमेरिकामा पाइलटहरूलाई लडाकु विमान ध्वस्त भएर खतरनाक ठाउँमा खसेपछि बच्नका लागि विशेष तालिम दिइन्छ । यसलाई ‘शेरे’ तालिम पनि भनिन्छ ।
यसको पूरा अर्थ हो— ‘सर्भाइभल, इभेजन, रेसिस्टेन्स एन्ड एस्केप’ तालिम अर्थात् पहिले जिउँदै बच्ने, त्यसपछि शत्रुको नजरबाट बच्ने, आवश्यक परे लड्ने र अन्त्यमा भागेर निस्कने ।
अमेरिकी मिडिया ग्रुप सीएनएनसँग कुराकानी गर्दै रिटायर्ड कर्नेल सेड्रिक लेटनले पाइलटको यो तालिमले उनीहरूलाई कठिन परिस्थितिबाट बच्न मद्दत गर्ने बताए ।
लडाकु विमानका पाइलटहरूलाई शत्रुको कुनै पनि आक्रमणलाई चाल पाएर आफ्नो एयरक्राफ्टभन्दा बढी आफ्नो ज्यानलाई प्राथमिकता दिने तालिम दिइन्छ । यस्तो अवस्थामा विमानमा आक्रमण हुनुभन्दा ठीक अघि पाइलटले लडाकु विमानबाट तुरुन्त अलग हुने ‘इजेक्शन’ सिटको प्रयोग गरेर आफूलाई खतरा बाहिर निकाल्न सक्छन् ।
यो क्रममा पाइलटसँग ‘इजेक्शन’ सिटको तल रहेको उनको सर्भाइभल किट र सर्भाइभल भेस्ट पनि हुन्छ, जुन सत्रुको भूमिमा अवतरण भएपछि लुक्न र जिउँदै रहन उपयोगी हुन्छ ।