• फाल्गुन २७ २०८२, बुधबार

जे गर्याे इरानले एक्लै गर्याे, हामीले कुनै गुप्तचरी सूचना दिएका छैनाैं : पुटिन

फाल्गुन २७ २०८२, बुधबार

काठमाडौं । रुसले युद्धका क्रममा इरानसँग गुप्तचर जानकारी साझा गरिरहेको भन्ने आरोपलाई अस्वीकार गरेको छ ।
अमेरिकी विशेष दूत स्टिभ विट्कोफले रुसले गुप्तचर जानकारी साझा गरेको आरोप रुसले अस्वीकार गरेको बताएका हुन् । ट्रम्पले सोमबार रुसी नेता भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।

विट्कोफले भनेका छन्, “तपाईंलाई थाहा छ, हामी उनीहरूको कुरा विश्वास गर्न सक्छौँ । आशा गरौँ कि उनीहरूले जानकारी साझा गरिरहेका छैनन् ।”

एक अन्तर्वार्तामा विट्कोफलाई सोधिएको थियो, “ के रुसले अमेरिकी सैन्य सम्पत्तिको अवस्थितिबारे इरानलाई गुप्तचर जानकारी दिइरहेको छ जस्तो लाग्छ ? त्यसो हो भने ट्रम्प प्रशासनले भारतीय रिफाइनरीहरूलाई रुसी तेल किन्नबाट रोक्ने प्रतिबन्धहरू किन हटायो ?”
“म गुप्तचर अधिकारी होइन, त्यसैले म तपाईंलाई भन्न सक्दिनँ,” विट्कोफले जवाफ दिँदै भनेका छन्, “म तपाईंलाई कतिसम्म भन्न सक्छु भने हिजो राष्ट्रपतिसँगको कुराकानीमा रुसीहरूले आफूले जानकारी साझा नगरेको बताएका छन् ।”

विट्कोफले आफू र ट्रम्पका ज्वाइँ जेरेड कुस्नरले सोमबार बिहान पुटिनका परराष्ट्र नीति सल्लाहकार युरी उसाकोभसँग छुट्टै फोन वार्ता गरेकोसमेत बताए ।

उसाकोभले उक्त कुराकानीमा रुसले इरानसँग गुप्तचर जानकारी साझा नगरेको कुरालाई पुनः दोहोर्‍याएको विट्कोफले बताए ।

यद्यपि, शनिबार ‘एमएस नाउ’मा प्रकाशित एक रिपोर्टमा यो विषयका जानकार दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रुसले इरानलाई पश्चिम एसियामा रहेका अमेरिकी जहाज, विमान र सैन्य अखडामा आक्रमण गर्न मद्दत पुग्ने जानकारी दिइरहेको उल्लेख गरिएको थियो ।

“रुसले इरानलाई गुप्तचर सहायता उपलब्ध गराइरहेको छ,” एक अधिकारीले एमएस नाउलाई भनेका थिए ।

ट्रम्पले पत्रकारसँग कुराकानी गर्दै पुटिनसँगको कुराकानीबारे रुसी नेता युद्धमा अमेरिकाको प्रगतिबाट धेरै प्रभावित भएको बताएका थिए ।