• फाल्गुन २६ २०८२, मंगलवार

इरानकाे सर्वाेच्च नेता चुन्ने मामला अमेरिकाकाे चासाेकाे विषय हाेइन : चीन

फाल्गुन २५ २०८२, सोमबार

बेइजिङ । इरानमा नयाँ सर्वोच्च नेताको चयनपछि उत्पन्न अन्तर्राष्ट्रिय प्रतिक्रियाका बीच चीनले यो निर्णय पूर्णरूपमा इरानको आन्तरिक विषय भएको स्पष्ट गरेको छ ।

बेइजिङले सोमबार इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताउँदै नयाँ नेताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेप वा लक्षित कारबाहीको विरोध गर्ने जनाएको छ ।

इरानका पूर्वसर्वोच्च नेता अली खामेनी अमेरिकी-इजरायली आक्रमणको पहिलो चरणमा मारिएपछि उनका छोरा मोजताबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको थियो ।

त्यसपछि इजरायली सेनाले खामेनीका ‘कुनै पनि उत्तराधिकारी’ लाई लक्षित गर्न सक्ने चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि मोजताबा खामेनीलाई ‘हल्का तौलको’ नेता भन्दै आलोचना गरेका थिए ।

साथै नयाँ इरानी नेता चयन गर्ने प्रक्रियामा अमेरिकाको पनि भूमिका हुनुपर्ने उनको धारणा रहेको टिप्पणी सार्वजनिक भएको थियो । यस विषयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले इरानले नयाँ नेता चयन गरेको निर्णय ‘यसको संविधान अनुसार गरिएको आन्तरिक प्रक्रिया’ भएको बताए।

नयाँ नेताविरुद्ध सम्भावित कारबाहीबारे सोधिएको प्रश्नमा उनले चीन अन्य देशको आन्तरिक मामिलामा कुनै पनि बहानामा हस्तक्षेप गर्ने कार्यको विरोध गर्ने नीति कायम राखेको स्पष्ट पारे ।

गुओका अनुसार चीनले इरानको सार्वभौमिकता, सुरक्षा तथा क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने धारणा राख्दै आएको छ । उनले सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

पछिल्ला दिनमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण जारी राखेको बताइएको छ । त्यसको जवाफ स्वरूप इरानले इजरायल र खाडी क्षेत्रका केही देशतर्फ क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको शृङ्खला सुरु गरेको छ ।

ती देशमा अमेरिकी सैन्य उपस्थितिसमेत रहेको बताइएको छ । बेइजिङलाई तेहरानको घनिष्ठ साझेदार मानिन्छ । चीनले पूर्वसर्वोच्च नेता अली खामेनीको हत्याको निन्दा गरिसकेको छ । तर त्यससँगै खाडीका छिमेकी देशतर्फ इरानले गरेका आक्रमणप्रति पनि चीनले असन्तुष्टि व्यक्त गरेको छ ।

क्षेत्रीय तनाव कम गराउने प्रयास स्वरूप चीनले कूटनीतिक पहल पनि अघि बढाएको जनाएको छ । मध्यपूर्वका लागि चीनका विशेष दूत झाई जुनले आइतबार साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहानसँग भेटघाट गरेका थिए । भेटमा उनले क्षेत्रीय तनाव कम गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेकाे बताइएको छ ।

झाई जुनले वार्ताका क्रममा तत्काल सैन्य कारबाही रोक्नुपर्ने र परिस्थितिलाई थप जटिल बन्न नदिन आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनले क्षेत्रीय देशका सर्वसाधारण नागरिकलाई थप क्षति नहोस् भन्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

यसअघि आइतबार चिनियाँ विदेशमन्त्री वाङ यीले पनि जारी युद्धप्रति चिन्ता व्यक्त गर्दै यस्तो सङ्घर्ष ‘कहिल्यै हुनु नपर्ने’ उल्लेख गरेका थिए। उनले युद्ध अन्त्य गर्न सबै पक्षले प्रयास गर्नु पर्नेमा जोड दिए ।

विश्लेषकका अनुसार मध्यपूर्वमा बढ्दो तनावले विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा असर पार्ने जोखिम बढाएको छ । चीनका लागि पनि यसले ऊर्जा सुरक्षामा चुनौती थप्न सक्ने देखिन्छ ।

विश्लेषण फर्म क्लेपरको तथ्याङ्क अनुसार गत वर्ष इरानबाट निर्यात भएको कच्चा तेल मध्ये ८० प्रतिशतभन्दा बढी चीनतर्फ गएको थियो । यद्यपि यो चीनले समुद्री मार्गबाट आयात गर्ने कुल तेलको तुलनामा अपेक्षाकृत सानो हिस्सा हो । यो करिब १३ प्रतिशत मात्र रहेको तथ्याङ्कले देखाएको छ ।

तर चीनले आयात गर्ने कच्चा तेलको ठूलो हिस्सा अझै पनि मध्यपूर्व क्षेत्रबाट आउने भएकाले त्यहाँको अस्थिरताले प्रत्यक्ष प्रभाव पार्न सक्छ ।

क्लेपरका अनुसार गत वर्ष चीनको कुल समुद्री कच्चा तेल आयात मध्ये आधाभन्दा बढी हिस्सा व्यापक मध्यपूर्व क्षेत्रबाट आएको थियो । यी आपूर्ति मुख्यतः स्ट्रेट अफ होर्मुजमार्फत हुने समुद्री मार्गमा निर्भर रहेका छन् ।