• फाल्गुन २६ २०८२, मंगलवार

इरानी ड्रोनहरूद्वारा कुवेतका इन्धन ट्यांकहरूमाथि निशाना

फाल्गुन २५ २०८२, सोमबार

काठमाडौं । इरानले आइतबार पनि खाडी देशहरूका विभिन्न पूर्वाधारहरूमा ड्रोन आक्रमण गरेको छ । इरानी ड्रोनहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन ट्यांकहरूलाई निशाना बनाएका छन् ।

बहराइनमा एउटा ‘डिसेलिनेसन प्लान्ट’लाई क्षति पुर्‍याएका छन् । कुवेतको गृह मन्त्रालयले दुई सीमा रक्षकहरूको मृत्यु भएको जानकारी दिएको छ ।

समाचार एजेन्सी एएफपीको तथ्यांकअनुसार, अमेरिका र इजरायलको तर्फबाट इरानविरुद्ध ठूलो मात्रामा हवाई अभियान सुरु भएपछि छिमेकी खाडी देशहरूले इरानको जवाफी कारबाहीको ठूलो हिस्सा भोग्नु परेको छ । युद्ध सुरु भएदेखि खाडी देशहरूमा १६ जनाको मृत्यु भइसकेको छ, जसमध्ये आठजना सर्वसाधारण थिए ।
इरानका राष्ट्रपति मसूद पेजेस्कियानले छिमेकी देशहरूको भूभाग इरानमाथि आक्रमण गर्न प्रयोग गरिए इरान ती देशहरूविरुद्ध जवाफ दिन बाध्य हुने चेतावनी दिएका छन् ।

मार्च ७ मा पेजेस्कियानले अमेरिकी सैन्य अखडाहरूको आतिथ्य गरिरहेका यी छिमेकी देशहरूसँग उनीहरूको इलाकामा भएका आक्रमणका लागि माफी मागेका थिए ।

आधारभूत नागरिक पूर्वाधारमा आक्रमण
बहराइनको गृह मन्त्रालयले आइतबार इरानको ड्रोन आक्रमणले पानीको डिसेलिनेसन प्लान्टलाई क्षति पुर्‍याएको बताएको छ । उनीहरूले तेहरानमाथि नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाए ।

बहराइनको राष्ट्रिय सञ्चार कार्यालयले छुट्टै जानकारी दिँदै डिसेलिनेसन प्लान्टमा भएको इरानी आक्रमणले पानीको आपूर्ति वा नेटवर्कको क्षमतामा कुनै असर नपरेको बताएको छ ।

इरानको रिभोलुसनरी गार्डस कप्र्सले शनिबार बहराइनस्थित अमेरिकाको ‘जुफैर’ बेसमा आक्रमण गरेको बताएको छ । यही बेसको प्रयोग शनिबार उसको ‘कश्म’ टापुमा बनेको डिसेलिनेसन प्लान्टमा हमला गर्नका लागि गरिएको इरानको दाबी छ । इरानका विदेशमन्त्री अरागचीले एक्समा यसबाट ३० वटा गाउँको पानी आपूर्ति प्रभावित भएको लेखेका छन् ।

यद्यपि, अहिलेसम्म यस जानकारीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । खाडी देशहरूमा तेल र ग्यासबाट चल्ने यस्ता लगभग ४०० वटा प्लान्ट छन् । विश्वको करिब ४० प्रतिशत डिसेलिनेटेड पानी यहीँ उत्पादन गरिन्छ । बहराइनले आफ्नो पिउने पानीको ठूलो हिस्सा यस्तै संयन्त्रहरूबाट बनाउने अनुमान गरिएको छ ।

तेहरानको तेल डिपो बन्यो निशाना
शनिबार राति तेहरानमा एउटा तेल भण्डारण केन्द्रमा इजरायली आक्रमण भएपछि भीषण आगो लागेको थियो । फारस समाचार समितिले शनिबारको आक्रमणले तेहरान र अल्बुर्जमा चारवटा तेल भण्डारण केन्द्र र एउटा उत्पादन स्थानान्तरण केन्द्रलाई निशाना बनाएको बताएको छ । यसमा चारजना ट्यांकर चालकको मृत्यु भएको छ ।

इजरायली सेनाले आइतबार इस्लामिक क्रान्तिभन्दा पहिले अमेरिकाबाट खरिद गरिएका इरानी लडाकु विमानहरूलाई निशाना बनाएको बताएको छ ।
तेहरानको दक्षिणमा रहेको इस्फाहान विमानस्थलमा रहेका एफ–१४ विमानहरूको समूहरूलाई इरानले आफ्नो हवाई क्षेत्रको रक्षाका लागि प्रयोग गर्दै आएको थियो । यी लडाकु विमानहरू नष्ट भए वा भएनन् भन्नेबारे इजरायली सेनाले केही बताएको छैन ।
२८ फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको यस युद्धमा अहिलेसम्म इरानमा कम्तीमा १२ सय ३० जना र लेबनानमा ३०० भन्दा बढी मानिस मारिएका छन् ।
इजरायलमा १२ जना मारिएका छन् । अमेरिकी सेनाका ६ जवानको मृत्यु भइसकेको छ ।

लगातार जारी इरानी ड्रोन आक्रमण
साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार र कुवेतले उनीहरूका क्षेत्रहरूमा भएका नयाँ आक्रमणहरूको जानकारी दिएका छन् । यसको एक दिनअघि दुबई र बहराइनको मनामामा ठूला धमाकाहरू सुनिएका थिए ।
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन ट्यांकहरूलाई ड्रोन आक्रमणमा निशाना बनाइएको सेनाले जनाएको छ । कुवेतको आधिकारिक समाचार समितिले विमानस्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र कोही पनि गम्भीर रूपमा घाइते नभएको बताएको छ । कुवेतको राष्ट्रिय तेल कम्पनीले आफ्नो कच्चा तेलको उत्पादनमा सतर्कतास्वरूप कटौतीको घोषणा गरेको छ ।
साउदी अरबको रक्षा मन्त्रालयले आइतबार उसले ३३ वटा ड्रोनहरूलाई खसालेको र यी आक्रमणहरूबाट कुनै क्षति वा कोही हताहत भएको जनाकारी नभएको बताएको छ ।
मन्त्रालयका प्रवक्ताले करिब २६ वटा ड्रोनले राजधानी र वरपरका क्षेत्रहरूलाई निशाना बनाएको बताए । तीमध्ये एउटा ड्रोनले रियादको कुटनीतिक क्षेत्रलाई निशाना बनाइरहेको थियो, जसलाई कुनै क्षतिबिना विफल पारिएको बताएको छ । मन्त्रालयका अनुसार, एउटा ड्रोनले देशको दक्षिण–पूर्वमा रहेको शायबाह तेल क्षेत्रलाई निशाना बनाएको छ ।

इरानी राष्ट्रपतिले खाडी देशहरूसँग अघिल्ला आक्रमणहरूका लागि माफी मागेका थिए । तर, शत्रुलाई सहयोग गरेको भन्दै केही घण्टापछि इरानी न्यायपालिकाका प्रमुखले खाडी देशका ती स्थानहरूमा आक्रमण जारी रहने बताएका थिए ।

दुबई र अबुधाबीमा असर
यूएईले उसको हवाई रक्षा प्रणालीले इरानबाट आउने क्षेप्यास्त्र र ड्रोनहरूको जवाफ दिइरहेको बताएको छ ।

कतारले अघिल्लो दिन इरानबाट प्रहार गरिएका १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र र दुईवटा क्रुज क्षेप्यास्त्रहरूमध्ये धेरैजसोलाई कुनै क्षति बिना रोकेको जनाएको छ ।

यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानले टेलिभिजन सम्बोधनमा इमिरेट्स युद्धको चरणमा रहेको र उनीहरू यसबाट बलियो भएर निस्कने बताएका छन् । डीडब्ल्यू