काठमाडौँ l ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ७ टोक्सेलस्थित शहीद आधारभूत विद्यालय मतदान केन्द्रमा स्थानीय मतदाता मतदान गर्न गएका छैनन् ।
प्रदेशस्तरीय अस्पताल निर्माण गर्न प्रदेश सरकारले बजेट नदिएको भन्दै स्थानीय मतदाताले मतदान नगर्ने बताएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले संचार माध्यमलाई बताए।
मतदान अधिकृत परवासी राईले मतदान कार्यक्रमका लागि छ जना कर्मचारीहरू बिहानैदेखि तयारी अवस्थामा रहे पनि बिहीवार दिउँसो १ बजेसम्म कोही पनि मतदान गर्न नआएको बताइन्।
उक्त मतदान केन्द्रमा ७०१ जना मतदाता रहेको उनले जानकारी बताइन्।
मतदान केन्द्रको सुरक्षामा खटिएका नेपाल प्रहरीका निरीक्षक बुद्धकुमार श्रेष्ठले केही मतदाताहरू मतदानस्थलबाहिर देखिए पनि मतदान गर्न भने नआएको बताए।
गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार २०७४ सालमै कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट त्यहाँ प्रादेशिक अस्पताल बनाउने भनेर स्थानीयवासीको १६५ रोपनी जग्गा सरकारलाई हस्तान्तरण गरिएको थियो।
अस्पताल बनाउन ९९ करोड रुपैयाँ लाग्ने आकलनसहित विस्तृत परियोजना प्रतिवेदन पनि तयार भएको तर प्रदेश सरकाले बजेट नदिएका कारण असन्तुष्ट स्थानीयवासीले कसैलाई पनि मत नदिने सल्लाह गरेको उनको दाबी छ।
ओखलढुङ्गाका प्रुमख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीले अस्पताल बनाउने योजना अघि नबढेको स्थानीय मतदाताको गुनासो रहेको र कोही पनि मतदान गर्न नआएको भन्ने जानकारी आफूले पाएको बताए।