काठमाडौं । तिनकुने घटनामा आगोले जलेर मृत्यु भएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरिएको छ ।
गत चैत तीनकुनेको प्रदर्शनका क्रममा श्रव्यदृश्य कैद गर्दागर्दै मृत्यु भएका पत्रकार सुरेशलाई यही मङ्सिर २२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राज्यका तर्फबाट सहिद घोषणा गरेको छ ।
पत्रकार सुरेशलाई सहिद घोषणा गर्न उनको परिवारले माग गर्दै आएको थियो । यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलमा सम्भव भएको परिवारजन बताउँछन् ।
सुजन मगिया भन्छन्, ‘सहिद घोषणाले सुरेशले न्याय पाएको अनुभूति भयो । यसका लागि सरकार र मन्त्री खरेलप्रति आभार व्यक्त गर्छु ।” सात महिनासम्म न्याय खोज्दा निराश थियौँ तर नयाँ सरकारबाट आशा जगायो उनले भने। ‘ परिवारले करिब सात महिना विगतका सरकार र सम्बन्धित निकाय धाउँदै न्यायको माग गरे तर सुनुवाइ भएन’, सुजनले भने, ‘अघिल्लो सरकारलाई धेरैपटक गुहार्न गयौँ, तर आश्वासनबाहेक केही पाइएन । अहिलेको सरकारले भने छोटो समयमा हाम्रो पीडा सुनेर न्याय दियो ।’ उनका अनुसार मानवअधिकारवादी संस्थाहरूसँग पनि सहयोग माग्दा निराशामात्र हात परेको थियो ।
मन्त्री खरेलले गृह मन्त्रालयसँग निरन्तर समन्वय गर्दै, प्रधानमन्त्री र अन्य मन्त्रीहरूलाई विषयमा जानकारी गराउँदै सहिद घोषणाको प्रक्रिया अघि बढाएका थिए ।
यसभन्दा अघि पनि मन्त्रालयले सुरेशकी श्रीमती सुजनलाई सुरक्षण मुद्रण केन्द्रमा ‘कम्प्युटर अपरेटर’का रूपमा रोजगारीको व्यवस्था मिलाइसकेको छ । सञ्चारमन्त्रीकै पहलमा सुरेशको परिवारले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन र दोषीमाथि कारबाहीको माग पुनः दोहोर्याएका छन् ।