• जेष्ठ ३० २०८२, बिहीबार

सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

बैशाख ९ २०८२, मंगलवार

९ वैशाख, सिरहा । सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको भारत सीमावर्ती क्षेत्रबाट दुई जना भारतीय नागरिक कटुवा पेस्तोलसहित पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला ग्रामपंचायत पिपराही वडा नम्बर– २ कल्याणपुर निवासी २५ वर्षीय धर्मेन्द्र सिंह र २२ वर्षीय प्रिन्स सिंह रहेका छन् । जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चेक पोस्टमा खटिएको टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध हतियार बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता विरेन्द्र पासवानले बताए ।

मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली फेला पारेको जनाएको छ । साथै प्रहरीले उनीहरूको साथबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकलसमेत बरामद गरेको छ ।

सिरहा प्रहरीको हिरासतमा रहेका दुवै जनामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।