• बैशाख ६ २०८२, शनिबार

अमेरिकाले सुरू गरेकाे व्यापार युद्धमा चीन कसरी शक्तिशाली बन्याे ?

बैशाख २ २०८२, मंगलवार

अमेरिका र चीनबीचको ट्यारिफ युद्धले विश्व व्यापारमा तनाव सिर्जना गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा १४५% सम्म ट्यारिफ लगाउने घोषणा गरेपछि चीनले पनि अमेरिकी वस्तुहरूमा १२५% सम्म ट्यारिफ बढाएको छ ।

यसैबीच चीनका राष्ट्रपति सी जिनपिङले ट्यारिफ युद्धमा कुनै विजेता नहुने बताएका छन् । उनले भने, ‘चीनले कहिल्यै अरूको दया वा दबाबमा निर्भर गरेको छैन ।’ उनले आत्मनिर्भरता र कठिन परिश्रममार्फत् देशको विकास भएको उल्लेख गरेका छन् ।

ट्यारिफ युद्धले चीनलाई आत्मनिर्भरता तर्फ मोड्न प्रेरित गरेको छ, जसले उसलाई आफ्नै प्रविधि, उत्पादन र नवप्रवर्तनमा निर्भर रहन सिकाएको छ । चीनको आत्मनिर्भरताको यात्रा सन् १९४९ मा शुरु भएको हो, तर यसको आधुनिक र तेज रूप २०१५ मा Made in China २०२५ योजनासँग शुरू भएको हो ।

सन् १९४९ त्यो वर्ष हो जुन वर्ष चीनले माओ त्सेतुङको नेतृत्वमा जापानी र बेलायती हस्तक्षेप तथा घरेलु सामन्तवाद विरुद्धको लडाइँका विजयी हासिल गरेको थियो । त्यसपछि अमेरिका र चीन बीचको ट्यारिफ युद्ध (२०१८) र कोरोना महामारी (२०२०) ले यो प्रयासलाई रणनीतिक प्राथमिकतामा पुर्‍यायो ।
आत्मनिर्भरता अभियानमा चीनले पाएको सफलता यस्तो छ :
१. आफैले बनाउने नीति मेड इन चाइना २०२५ :
चीनले सन् २०१५ मा यस्तो योजना ल्यायो कि अब धेरै चीज आफै बनाउने जस्तै : मोबाइलको चिप्सदेखि गाडी, औषधि, मेसिन र कम्प्युटरका सामानहरूसम्म ।
उदाहरण :
पहिले चीनले मोबाइल चिप्स अमेरिका वा जापानबाट ल्याउँथ्यो, तर  Huawei, SMIC  जस्ता कम्पनीमार्फत् आफै बनाउँदैछ ।
२. आफ्नै चिप्स, सफ्टवेयर र मोबाइल सिस्टम बनाउँदै :
अहिले चीनले Windows, Android जस्ता विदेशी सफ्टवेयरको सट्टा आफ्नो Harmony बनाएकाे छ ।
Huawei ले पनि आफ्नै सिस्टम बनाएको छ । किन ? किनभने अमेरिका जस्ता देशले प्रतिबन्ध लगाएपछि चीनले भन्यो, ‘अब अरूको भर परेर हुँदैन, आफै बनाउँछौं ।’
३. कृषिमा आत्मनिर्भर बन्ने प्रयास :
चीनले चाहन्छ कि खानेकुरा धेरैभन्दा धेरै आफ्नै देशमा उत्पादन होस् ।
बीउ आफै बनाउँदैछ :
खेतमा मेसिन र प्रविधि लगाउँदैछ, खाद्यान्न जम्मा गरेर राखिरहेको छ किन ? भोलि युद्ध वा समस्या परेमा विदेशबाट खाना नआए पनि आफैले खान मिलोस् ।
४. विदेशी सामानमा भर नपर्ने नीति :
चीनले अब यस्तो योजना बनाएको छ कि आफ्नै देशका सामान आफै किन्ने, आफ्ना कम्पनी बलियो बनाउने र अरू देशको भरमा नपर्ने ।
५. कोरोना पछि चीनले देखायो–संकटमा पनि ऊ एक्लै उभिन सक्छ :
कोरोना महामारीको बेला धेरै देशमा अस्पताल, मास्क, अक्सिजन, औषधि, पीपीपी सेट थिएन । तर चीनले केही हप्तामै आफ्नै उत्पादन सुरू गर्‍यो र अरू देशलाई पनि बेच्न थाल्यो । यसले के देखाउँछ ? संकटमा चीन अरूको पर्खेर बस्दैन, आफै समाधान गर्छ ।
६. विदेशी कम्पनी हटाउँदै आफ्ना कम्पनी ल्याउँदै :
पहिले अमेरिका, जापान, युरोपका धेरै कम्पनीहरू चीनमा व्यापार गर्थे । तर अहिले चीन आफ्ना कम्पनीहरूलाई प्राथमिकता दिन थालेको छ ।
उदाहरण :
एप्पल मोबाइल बनाउने कारखानामा अब चीनले आफ्नै ब्रान्ड (जस्तै  Xiaomi, Huawei लाई बढावा दिइरहेको छ । चिनियाँ सरकारी कार्यालयमा अब विदेशी सफ्टवेयर (जस्तै  Windows, Google प्रयोग नगर्न भनिएको छ ।
७. चीनले आफ्नै  International Payment System बनायो । अमेरिकाले  SWIFT नामको पैसा पठाउने सिस्टम नियन्त्रण गर्छ । त्यसैले चीनले  CIPS नामको आफ्नै सिस्टम बनाएको छ, जसले अन्तर्राष्ट्रिय व्यापारमा डलरको भर हटाउँछ, आफ्नै मुद्रा (युआन) प्रयोग गर्न सहयोग गर्छ । यसले के देखाउँछ ? यसले चीन अर्थतन्त्रमै आत्मनिर्भर बन्न खोज्दैछ भन्ने देखाउँछ ।
८. चीनले आफ्नै  Space Station बनायो ।
अहिले चीनसँग International Space Station -ISS  मा भाग छैन । त्यसैले उसले आफ्नै Tiangong स्पेस स्टेशन बनाएको छ । किन महत्वपूर्ण ? यस्ता कामहरू केवल प्रविधिमा आत्मनिर्भर राष्ट्रले मात्र गर्नसक्छ । त्यसैले यसको महत्व धेरै छ ।
९. चीनको आफ्‌नै ईन्टरनेट :
चीनमा Facebook, Google, YouTube, Whats App, TikTok -International version बन्द छन् ।
त्यसको सट्टा चिनियाँहरूसँग आफ्नै WeChat, Baidu, Youku, Douyin जस्ता एपहरु छन् ।
अर्थात्, इन्टरनेट संसारमा पनि चीन आत्मनिर्भर छ ।
१०. ऊर्जा र हरित प्रविधि :
चीन सन् २०२० मा विश्वको सबैभन्दा ठूलो सौर्य प्यानल उत्पादक र उपयोगकर्ता बन्यो, जसले विश्वको ३१% हिस्सा ओगटेको छ ।
विद्युतीय सवारी :
चीनको BYD कम्पनी संसारकै सबै भन्दा बढी इभी गाडी उत्पादककर्ता बनेको छ । जसले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ साधन बिक्री गरि नयाँ रेकर्ड कायम गरेको छ भने अमेरिकी धनाढ्य इलोन मस्कको कम्पनी टेस्लाले १७ लाख ९० हजार गाडी बिक्री गरेको थियो ।
११. सैन्य प्रविधिमा प्रगति :
सैन्य आत्मनिर्भरता :
चीनले जे–२० नामक चौथो पीढीको फाइटर जेट विकास गरेको छ, जुन उच्चतम प्रविधिको युद्ध विमान हो र २०२१ सम्म चीनको आफ्नै सैन्य प्रविधिमा ठूलो प्रगति भएको छ । चीनको सैन्य उद्योग अब स्वदेशी हतियार, मिसाइल, र युद्धपोत जहाजहरूको ८०% भन्दा बढी उत्पादन गर्दछ ।
१२. एआई क्षेत्रमा सफलता :
चीनले एआई क्षेत्रमा ठूलो सफलता पाएको छ । उदाहरणको रूपमा, चीनको  Baidu, Tencent, Alibaba  जस्ता कम्पनीहरूले एआई प्रविधिमा अगाडि बढेका छन् । भरखरै मात्र अमेरिकी कम्पनी  Chat gpt लाई चिनियाँ कम्पनी  deepseek ले चुनौती दिएको छ ।

ChatGPT, DeepSeek दुवै कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित च्याटबोटहरू हुन् । यी दुवैले प्रयोगकर्तासँग संवाद गर्नका लागि प्राकृतिक भाषा प्रोसेसिङ प्रविधिको प्रयोग गर्दछन् ।  Deepseek ले अमेरिकी शेर बजारमै हलचल ल्याइदिएको छ ।

यी सबै प्रयासहरू मिलेर चीनलाई थप शक्तिशाली र प्रभावशाली बनाउने दिशामा अग्रसर भएका छन् । व्यापार युद्धले चीनलाई आर्थिक र औद्योगिक दृष्टिले सुधार गर्न र आफ्नो शक्तिशाली अवस्था निर्माण गर्न प्रोत्साहित गरेको छ ।