• बैशाख ६ २०८२, शनिबार

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज

चैत्र २५ २०८१, मंगलवार

काठमाडाैं । सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सुनाउँदै प्रवक्ता गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, बैठकले नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ  ।

त्यस्तै, बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहनकुमार तामाङलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले बताए ।

प्रवक्ता गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले गृहकार्य गरिरहेको भन्दै चाँडै नियुक्त हुने बताए ।

नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न गृहकार्य समेत भइरहेको अवस्थामा गभर्नर नियुक्तिको ढिलाइले कुनै असर नपर्ने उनले बताए ।