काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई पत्र नकाट्न आग्रह गरेका छन् ।
कार्यक्रम स्थल फोहोर हुने र महानगरका संरचना तोडफोड हुने गरेकोमा महानगरले आयोजक लगायत कार्यक्रमसँग सम्बन्धित पक्षलाई पत्र काट्ने गरेको छ ।
राप्रपाले मंगलबार बल्खुमा खबरदारी सभा गरेको थियो । उक्त सभामा सम्बोधन गरेपछि अध्यक्ष लिङ्देनले कार्यक्रम स्थलको फोहोर स्वयमसेवकहरूले नै उठाउने बताए ।
‘यो (बल्खु) काठमाडौं महानगरभित्र पर्छ होइन ? हाम्रो बालेनजीलाई आजको कार्यक्रमको बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ अध्यक्ष लिङ्देनले भने, ‘हाम्रो साथीहरूलाई आफै सफा गरेर जान आग्रह गर्छु, केही पनि फोहोर रहने छैन है । पत्रकार र नागरिक समाजहरूले अनुगमन गरिदिनु होला है, फोहोर गरेबापत भनेर भोलि चिठी नआओस् ।’
राप्रपाले मंगलबार अपराह्न महानगरपालिकाको गाडी बोलाएर फोहोर उठाएर पठाउने तयारी गरेको छ ।
यसअघि गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा त्रिभुवन विमानस्थल गेटदेखि विभिन्न ठाउँमा महानगरका संरचनामा क्षति र फोहोर भएकोमा महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही महानगर पुगेर उक्त जरिवाना बुझाएका थिए ।