• चैत्र २४ २०८१, सोमबार

एसईईको कापी नजाच्ने आन्दोलनरत शिक्षकहरुको घोषणा

चैत्र २३ २०८१, आईतवार

काठमाडौं । गएको बुधबार (चैत २०) देखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका पनि परीक्षण नगर्ने भएका छन् । चैत २५ देखि शैक्षिक हडतालसँगै सामुदायिक विद्यालयका शिक्षकहरुले कापी जाँचसहित कुनै पनि शैक्षिक गतिविधि नगर्ने घोषणा गरेका हुन् ।

नेपाल शिक्षक महासंघले आइतबार (चैत २४) गते विज्ञप्ति जारी गर्दै शैक्षिक हड्ताल घोषणा गरेको छ । राहत शिक्षक संघका अध्यक्ष नवीनसिंह धामीले यो अवधिमा कुनै शैक्षिक गतिविधि नगर्ने बताए ।

“हडताल भनेपछि पढाइ, उत्तरपुस्तिका जाँच केही पनि हुँदैन,” अध्यक्ष धामीले भने, “एसईईको नतिजा समयमै गर्नुपर्छ भने सरकार जवाफदेही हुनुपर्छ ।”

यही चैत १९ गते सकिएको एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तालिका छ ।
पटक–पटक छलफलका निम्ति बोलाउँदै सरकारले शिक्षकलाई अलमल्याउने काम मात्र गरेको भन्दै वार्तामा बसेर समय खेर नफाल्ने संघको अडान छ ।

“सरकारको नियत ठिक छ भने बर्खे अधिवेशन बोलाएर वा बजेट अधिवेशनकै समयमा शिक्षा ऐन टुंग्याउने गरी अघि बढोस्,” उनले भने, “हामीलाई सहमतिका बुँदा थप्न वार्तामा बस्नु छैन ।”

संसद् अधिवेशन नचलेको हालको अवस्थामा अध्यादेश वा विशेष अधिवेशनमार्फत् शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरु पाँच दिन यता काठमाडौंमा सडक आन्दोलनमा छन् ।